BIZMANDU
www.bizmandu.com

अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक, २०२२ मा घुम्‍नेको संख्या करिब १६ हजार

२०७९ माघ २

अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक, २०२२ मा घुम्‍नेको संख्या करिब १६ हजार
अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक, २०२२ मा घुम्‍नेको संख्या करिब १६ हजार


लमजुङ। विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढेका छन्। सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्।

Tata
GBIME
Nepal Life

ती मध्ये १० हजार ३ सय ६४ पुरुष र ५ हजार ५ सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ।

पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका २ हजार १२ जना आएको बताइएको छ। केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६ सय २७ जना पर्यटक आएका थिए।

सन् २०२१ मा १ हजार ५ सय ६२ पुरुष र ७ सय ११ जना महिला गरी २ हजार २ सय ७३ जना पर्यटक आएका थिए। कोरोना संक्रमणका कारण प्रभावित हुँदै आएको यस पदमार्गमा अघिल्लो वर्षहरुमा भन्दा गत वर्षमा पर्यटक बढेको उनको भनाइ छ।

उनले भने, ‘लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ। सरकारले आवश्यक प्रचारप्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र आयो नत्र त्योभन्दा दोब्बर-तेब्बर नै हुने थियो।’

त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ जना पर्यटक आएका थिए। त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार ४ सय ८४ जना पर्यटक, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक पदमार्गमा आएका थिए।

सन् २०१७ बाट पर्यटक आगममा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो। यस पदमार्गमा आउने पर्यटकमध्ये छिमेकी मुलुक चीन, भारत, जापान, अष्ट्रेलिया, बेलायतलगायतबाट आउने पर्यटक बढी रहेको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले बताए। केही समयसम्म दैनिक एक सय ५० जनाभन्दा बढी आउने गरेपनि चिसो बढेसँगै यति बेला भने एक दुई दिन बिराएर दुई चार जना मात्र आउने गरेको केन्द्रले जनाएको छ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर-७ मा रहेको मनाङे चौतारा हो। यो पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। साथै, मनाङका विभिन्न हिमाल आरोहण गर्न र हेर्नका लागि आउने गरेको पाइन्छ। यस पदमार्गमा पर्यटक आगमन हुँदा व्यवसाय पनि राम्रो चल्छ।