BIZMANDU
www.bizmandu.com

८ महिनामा यती एयरलाइन्सको दुई ठूला दुर्घटना, सरकार अध्ययन समिति बनाएर पन्छियो

२०७९ माघ १

८ महिनामा यती एयरलाइन्सको दुई ठूला दुर्घटना, सरकार अध्ययन समिति बनाएर पन्छियो
८ महिनामा यती एयरलाइन्सको दुई ठूला दुर्घटना, सरकार अध्ययन समिति बनाएर पन्छियो

काठमाडौं। यती एयरलाइन्सको जहाज ८ महिनाको अवधिमा दुई ठूला दुर्घटना भएको छ। एउटै कम्पनीको जहाज यति छोटो समयमा दुर्घटना हुनु सामान्य विषय होइन।

Tata
GBIME
Nepal Life

यो घट्नालाई गम्भीर रुपमा लिएर अध्ययन अघि बढाउन आवश्यक रहेको विज्ञहरु बताउँछन्। तर सरकारले भने अध्ययन पाँच सदस्यीय छानविन समिति बनाएर सामान्य कर्मकाण्ड मात्रै पूरा गरेको छ। यो कर्मकाण्ड मात्रै किन हो भने विगतमा पनि यसरी नै अध्ययन समिति बनाउने गरिन्थ्यो। यो सरकारले त्यसैलाई अनुशरण मात्रै गर्‍यो।

८ महिना अघि यतीको भगिनी कम्पनी ताराको जहाज मुस्ताङ जाने क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकदलसहित २२ जनाको निधन भएको थियो। त्यो जहाज दुर्घटनापछि पनि अध्ययन समिति बनेको थियो। अध्ययन समितिले प्रतिवेदन दिइसकेको छ। तर अहिलेसम्म पनि सार्वजनिक भएको छैन।

सबै भन्दा सुरक्षित मानिने हवाई सेवा नेपालमा असुरक्षित भइरहेको छ। तर सरकारले भने छानविन समिति बनाएर पन्छिने गरेको छ। हवाई उडानमा गर्नुपर्ने सुरक्षामा सरकार संवेदनशील छैन भन्ने यही उदाहरण हेरे पुग्छ। छानविन समिति बनाएर घट्नालाई साम्य बनाएर पन्छिने सरकारको दायित्व होइन।

नेपालमा संचालनमा रहेका जहाज कति पूराना छन् ? ती जहाजको मर्मत सम्भार कसरी हुन्छ ? नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन क्षमता कस्तो छ ? यसको विस्तृत छानविन गर्न आवश्यक छ। विज्ञहरुकोका अनुसार प्राधिकरण भन्दा आन्तरिक हवाई उड्डयन कम्पनीहरु शक्तिशाली छन्।

त्यही शक्तिशाली भएको आधारमा जहाज उडान हुने गरेको छ। केही महिना अघि बुद्ध एयरको जहाज पाङ्ग्रा नखुलेर विराटनगरबाट काठमाडौंमा अवतरण गरिएको थियो। तर यो घटनामा जहाजका पाइलट एजी शेर्पालाई गल्ती देखाएर कम्पनीलाई भने चोख्याउने काम गरियो। शेर्पा बुद्ध एयरका अनुभवी पाइलट हुन्।

अझ उनी आइपी आइपी ‘इन्स्ट्रक्टर पाइलट’ हुन्। काठमाडौंबाट विराटनगर उडेको जहाजको पाङ्ग्रा नखुलेपछि शेर्पाले दुई घण्टा आकाशमै होल्ड गरेर आकस्मिक अवतरण गराएर ७२ यात्रु बचाएका थिए। तर बुद्ध र प्राधिकरणबीचको मिलेमतोमा पाइलटलाई दोषी देखाएर चोख्याउने काम भयो। विमान कम्पनी र प्राधिकरणबीचको यही मिलेमतोका कारण सुरक्षा प्रत्याभूतिका विषयमा प्रश्न उठ्ने गरेको छ।

विमान कम्पनीले गर्ने कतिपय गम्भीर प्रकृतिका घट्नालाई विभिन्न हिसाबले गोप्य राखिन्छ। कम्पनीको गडबढलाई लुकाइन्छ। त्यही कारण ठूला दुर्घटनाको कारण बन्ने गरेका छन्। तर सरकारले भने यो वेथितिलाई मलजल गरिरहेको छ। होइन भने यो घट्नाबाट पाठ सिकेर यतीका सबै जहाज सबै ग्राउण्डेड गरेर चेकजाँच गर्नुपर्छ। र, आन्तरिक हवाई कम्पनीको सुरक्षाका बारेमा तत्कालै अडिट गर्न आवश्यक छ।

त्यो पनि यहाँको प्राधिकरणबाट होइन अन्तर्राष्ट्रिय कम्पनी हायर गरेर सेफ्टी अडिट गराउनुपर्छ। होइन भने हामी असुरक्षित आकाशमा उड्न बाध्य हुन्छौं। अन्तर्राष्ट्रिय जगतमा नेपालको आकाश असुरक्षित रहेको सन्देश गइरहनेछ।

त्यसैमा पनि युरोपेली युनियन(युनियन)ले हामीलाई कालोसूचीमा राखिरहेको छ। त्यो सूचीबाट हट्न तत्कालै प्राधिकरण टुक्रयाएर नियामक र सेवाप्रदायक अलग गराउनुपर्छ। नियामकलाई बलियो बनाएर सबल नेतृत्वका लागि सरकारले तत्कालै पहल अगाडि बढाउनुपर्छ।