BIZMANDU
www.bizmandu.com

सुनको कारोबारमा आएन अझै सुधार, रोकिएको आयात माघको दोस्रो सातादेखि मात्रै  

२०७९ पुष ३०

सुनको कारोबारमा आएन अझै सुधार, रोकिएको आयात माघको दोस्रो सातादेखि मात्रै   
सुनको कारोबारमा आएन अझै सुधार, रोकिएको आयात माघको दोस्रो सातादेखि मात्रै  

काठमाडौं। मूल्य लगातार उकालो लागेसँगै बजारमा सुनको माग घटेको छ। पुस लागेयता सुन तोलाको एक लाख रुपैयाँबाट तल आएको छैन,बरु भाउ बढिरहेको छ।

Tata
GBIME
Nepal Life

माग नहुँदा रोकिएको सुन आयात तत्काल सुरु नहुने संकेत बजारले गरेको छ। खपत बढ्दा व्यवसायीहरु बैंकर्स संघलाई आयात बढाउन आग्रह गरिरहेका हुन्थे। यसपटक कच्चा सुन उठाउन खोज्ने व्यवसायीको संख्या निकै न्यून छ।

गत महिनादेखि बजारमा अफसिजनसँगै उच्च मूल्यका कारण सुनको कारोबार र खपतमा कमी आएको थियो। यसले गर्दा सुनचाँदी व्यवसायीहरुले पुस महिनाभरीको लागि आयात रोक्न नेपाल बैंकर्स संघलाई आग्रह गरेका थिए।

यतिबेला पनि बजारमा सुनको माग र खपतमा सुधार नआएकाले आयात तत्काल नखुल्ने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हाल बैंकसँग पुरानो सुन बाँकी रहेकाले केही समयपछि आयात गर्ने तयारी रहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।

‘पुसमा सुनको मूल्य महँगो र बजारमा माग नभएपछि आयात रोकिएको थियो। पुस महिनाभर आयात बन्द गरी माघ महिनामा परिमाण बढाएर आयात गर्ने कुरा थियो। यसो गर्दा बजारमा सुनको माग र आपूर्ति सहज हुने अनुमान थियो। तर, यो महिना सकिन लाग्दा पनि मूल्य घटेको छैन। कारोबारमा पनि सुधार आएन,’ उनले भने।

उनका अनुसार अहिले सुनको मूल्य एक लाख ३ हजारभन्दा पनि माथि रहेकाले ग्राहकले खरिद गर्नुको साटो पुराना गहना बेच्न ल्याउन थालेका छन्। जसले गर्दा बजारमा व्यवसायीहरुसँग भएको केही स्टक र फिर्ता आएको सुनले सिजनमा माग धानेको छ।

नयाँ सुनको अर्डर खासै नभएकाले आयात केही समयपछि गर्ने कुरा भइरहेको उनको भनाइ छ। सुनको मूल्य चालु आर्थिक वर्षको सबैभन्दा बढी छ। गतवर्ष पनि सुन महँगो हुँदै प्रतितोला एक लाख ५ हजार ५ सयरुपैयाँसम्म पुगेको थियो। अहिले तोलाको १ लाख ३ हजार ९ सय पुगेको छ।

पुस लागेयता मात्रै सुन तोलामा ४ हजार रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सेयरको मूल्यमा उतारचढाव आइरहँदा लगानीकर्ता फेरि सुनतर्फ आकर्षित छन्। त्यसैले सुनको मूल्य बलियो भएको छ।

यो वर्ष सुनको मूल्य अझै बढ्ने संकेत देखिएको व्यवसायीले बताएका छन्। त्यसैले महँगोमा खरिद गरेर स्टक राख्‍न व्यवसायी अघि सरेका छैनन्। बैंकहरुमा अझै ५० केजीभन्दा बढी सुन मौज्दात छ। राष्ट्र बैंकले तोकेको कोटाअनुसार बैंकर्स संघको समन्वयमा वाणिज्य बैंकहरुले सुन आयात गर्छन्। कारोबारमा आएको मन्दीका कारण सुनचाँदी व्यवसायी महासंघले अहिले संघलाई आयात ‘नियमित गरौं’ भन्न सकेको छैन।

माघ महिनामा विवाहका साइत पर्ने भएकाले धेरैजसो व्यवसायीले रेडिमेड गहना बिक्रीको तयारी गरेका छन्। कच्चा सुनको खपत ह्‍वात्तै बढ्ने संकेत छैन। यसकारण कच्चा सुनको आयात माघको दोस्रो सातापछिबाट हुनसक्ने महासंघले जनाएको छ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार बढेको छ। शनिबार प्रतिऔंस १९२०.३८ डलर पुगेको छ। शुक्रबार १८९७.५४ डलर थियो भने बिहीबार प्रतिऔंस १८८३.३८ डलरमा कारोबार भएको थियो। क्रमिक बढ्ने क्रम नथामिँदा बजारमा कारोबार प्रभावित भइरहेको व्यवसायीले बताएका छन्।