BIZMANDU
www.bizmandu.com

लुम्बिनी केबलकार फागुनदेखि संचालनमा आउने, टावरको सिभिल काम सकियो

२०७९ पुष २९

लुम्बिनी केबलकार फागुनदेखि संचालनमा आउने, टावरको सिभिल काम सकियो
लुम्बिनी केबलकार फागुनदेखि संचालनमा आउने, टावरको सिभिल काम सकियो

काठमाडौं। बुटवलदेखि पाल्पाको वसन्तपुरसम्मका लागि निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंमा शुक्रबार आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले टावरहरुको सिभिलतर्फको निर्माणका काम लगभग सकिएको जनाउँदै केबलकार आगामी फागुनदेखि संचालनमा आउने बताए।

‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ,’ उनले भने, ‘टप स्टेसनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको छ।’

केबलकारका सबै गोण्डोला लगायतका उपकरणहरु विदेशबाट आयात गर्ने काम भइसकेको उनले बताए। ९ वटा टावरमध्ये ७ वटाको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटाको जडान कार्य पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

‘टप स्टेसनमा केबलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेसनमा केबलकार उपकरणहरुको जडान कार्य अगाडि बढिरहेको छ,’ उनले भने।

ढकालले सम्पूर्ण इलेक्ट्रोमेकानिकल काम निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए। केबलकार निर्माणको काम २०७८ पुसदेखि सुरु भएको थियो।