BIZMANDU
www.bizmandu.com

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो, जायज माग सम्बोधन गरिने

२०७९ पुष २९

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो, जायज माग सम्बोधन गरिने
local peoples protest againts the sub station


काठमाडौं। मुआब्जा/क्षतिपूर्तिको रकम लिइसकेर पनि सबस्टेशनको जग्गा नछाड्नेसँग नेपाल विद्युत प्राधिकरणले वार्ता गर्ने भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई प्राधिकरणले वार्तामा बोलाएको हो।

Tata
GBIME
Nepal Life

नगर प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनकारी पक्षलाई शुक्रबार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। वार्ता प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा हुने भएको छ।

बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नुपर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा प्राधिकरणविरुद्ध प्रदर्शन हुँदै आएका छन्। वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिहरुको संलग्नतामा सबस्टेसन निर्माणमा अवरोध हुँदै आएको प्राधिकरणको आरोप छ।

गाउँलेलाई प्रदर्शनमा उत्रिन समान नेपाल नामक गैरसरकारी संस्थाले साथ दिएको पनि आरोप छ। प्राधिकरणमाथि दबाब बढाउन आन्दोलनमा जनजाती महिलालाई अगाडि सारिएको छ।

प्राधिकरणका अनुसार सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझिसकेका छन्। प्रारम्भिक वातावरणीय परीक्षण(आईई) तथा पूरक आईआईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिएको छ। उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम छ।

सोही अनुसार प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता भएर काम भइरहेको छ। सहायक संरचना निर्माणाधीन अवस्थामा रहेकाले अहिले आएर सबस्टेसन अन्यत्र सार्न नसकिने प्राधिकरणले बताएको छ।

तामाकोसी तथा सुनकोसी नदी र सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो।

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ। नयाँ खिम्ती-बाह्रबिसे-लप्सीफेदी ४०० केभी प्रसारणलाइन निर्माणको अन्तिम चरणमा छ। लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन्। चाँगुनारायण १३२ के.भी. सवस्टेसन सम्पन्न हुने चरणमा छ।

सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको १ सय ७० रोपनी जग्गा अधिग्रहण आवश्यक छ। २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझिसकेका छन्। मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको प्राधिकरणले जनाएको छ।

पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा विरोध भएको थिएन। तर, दोस्रो ठेकेदार काम गर्न गएपछि अवरोध भइरहेको छ। त्यसले गर्दा निर्माण प्रगति छैन। लप्सीफेदी सबस्टेसनको काम हालसम्म हुन नसकेको कारणले ठेक्का सम्झौताको म्याद २०८० पुस १५ गते सम्म कायम गरिएको छ।

स्थानीयले सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायत राखेको जायज मागलाई आयोजना निर्माणका क्रममा प्राधिकरणले सम्बोधन गर्दै जाने बताएको छ ।