BIZMANDU
www.bizmandu.com

अशोक शेरचन: मिहिनेतसँगै अनुभवले खारिएर बनाए साढे तीन खर्बको बैंक

२०७९ पुष २९

अशोक शेरचन: मिहिनेतसँगै अनुभवले खारिएर बनाए साढे तीन खर्बको बैंक
अशोक शेरचन: मिहिनेतसँगै अनुभवले खारिएर बनाए साढे तीन खर्बको बैंक

काठमाडौं। पाँच करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु फाइनान्स तीन वटा वाणिज्य बैंकहरुलाई गाभेर २३ अर्ब चुक्ता पुँजी भएको देशको ठूलोमध्येको बैंक बनेको छ। 

Tata
GBIME
Nepal Life

सन् २००६ बाट सञ्चालनमा आएको फाइनान्स सन् २०१० देखि निरन्तर मर्जरमा छ। वैभव फाइनान्स  र समबृद्धि विकास बैंकलाई गाभेपछि प्रभु विकास बैंकमा स्तरोन्नति भएको थियो। अर्को वर्ष ‘क’ वर्गको किष्ट बैंकलाई गाभ्यो । तल्लो तहको संस्थाले आफूभन्दा माथिल्लो वर्गको संस्थालाई गाभेको यो नेपालको वित्तीय क्षेत्रको मर्जर इतिहासमै पहिलो थियो।

किस्टसँगै उसले गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्सलाई गाभेर ‘क’ वर्गको प्रभु बैंकमा उक्लियो। सात वर्षअघि राष्ट्र बैंकको कारवाहीमा परेको ‘क’ वर्गको ग्राण्ड बैंक नेपाललाई गाभ्यो भने खारेजीमा गएको देशकै पहिलो विकास बैंक ‘नेपाल विकास बैंक’ लाई पनि गाभेको थियो। 

मंगलबार प्रभुले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेको छ। 

१३ वर्षमा गुणात्मक फड्को मारेको बैंकको व्यवस्थापकीय नेतृत्व निरन्तर रुपमा अशोक शेरचनले गरिरहेका छन्। ३२/३३ वर्षको फुच्चे, त्यसमाथि वाणिज्य बैंकको लामो अनुभव नभएको अशोकले एकपछि अर्को बैंक मर्जर गरेर ठूलो बन्दै गर्दा नियामकदेखि उनकै सहकर्मीहरु पनि संस्थालाई ‘भड्खालो’ मा हाल्छ कि भनेर संशय पालेका थिए।

संस्था ठूलो हुने क्रमसँगै अशोकको अनुभव पनि फराकिलो बन्दै गयो, परिपक्वता पनि देखियो। उनलाई सहकर्मीले त पत्याउन थाले नै नियामक राष्ट्र बैंकले पनि प्रश्न गर्न छाड्यो।

‘कुनै पनि क्षेत्रमा लागिसकेपछि स्वाभाविक रूपमा ठूलो हुनुपर्छ, अरुभन्दा पृथक हुनुपर्छ भन्ने सोच आइहाल्छ,’ उनले एकीकृत कारोबारपछि बिजमाण्डूसँग भने, ‘त्यो सोचमा समाजप्रतिको उत्तरदायित्व, सेवा भाव भयो भने सफल हुन अझ सजिलो हुन्छ।’

प्रभु समूहको प्रमुख लगानी रहेको कम्पनीले एकपछि अर्को मर्जर गरेर ठूलो हुनुको कारण महत्त्वाकांक्षा कम समयको माग बढी लाग्छ उनलाई। नियामक र सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जरको नीति लिइरहेको थियो। यस्तोमा अन्य बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गइरहेका थिए।

प्रभु मात्रै छुट्टै टापु भएर बस्ने अवस्था थिएन। ‘सरकारी नीति, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरोकारवालाहरुको मर्जरमा जानुपर्ने चाहना लगायतले हामी अगाडि बढ्नै पर्ने अवस्था थियो,’ अशोकले भने, ‘मलाई पनि र तात्कालिन अध्यक्षलाई पनि लाग्यो केही न केही त गर्नै पर्छ।’ त्यो ‘केही न केही’ गर्ने हुटहुटीले प्रभु बैंकको सम्पत्ति तीन खर्ब ४० अर्ब रुपैयाँको पुगेको छ।’

प्रभु बैंकले एकाधलाई छाड्ने हो भने जहिले पनि बिग्रिएको, समस्यामा रहेको संस्थाहरुलाई आफूमा विलय गर्दै लग्यो। किस्ट बैंक पनि समस्यामा थियो। ग्राण्ड बैंकलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरिरहेको थियो। 

‘बिग्रिएको संस्थाहरुलाई लिएर बनाउँदा त्यसले हामीलाई एक खालको अनुभव मात्रै दिएन बजारले हेर्ने नजरमा पनि फराकिलो विश्वास दियो,’ उनले भने, ‘यिनीहरुले बिग्रिएको संस्थालाई पनि राम्रो बनाउन सक्छन् है भन्ने सन्देशले हामीलाई थप ऊर्जा दियो।’ उनलाई त्यो विश्वासले एक खालको दबाब पनि दिएको छ। सफल भइरहेको बेला असफल भइएला कि भन्ने दबाबले पनि अझ राम्रोसँग काम गर्ने, मेहेनत गर्ने ऊर्जा मिल्ने उनको बुझाइ छ।

तात्कालिन नेपाल क्रेडिट एण्ड कमर्स (हाल कुमारी बैंकमा विलय) बैंकमा वरिष्ठ अधिकृतको जागिर छाडेर शेरचन लण्डन पढ्न हिँडेका थिए। पढाइकै बीच उनलाई प्रभु फाइनान्सको प्रमुख कार्यकारी बन्न अफर आएको थियो। त्यो अफरलाई स्वीकारेर नेपाल फर्किएपछि अशोकले पछाडि फर्किएर हेर्नु परेको छैन। साथै उनले नेतृत्व लिएपछि संस्थाले पनि छलाङ मारेको छ।

अहिले प्रभु बैंकसँग कुल निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ छ। बैंकसँग २ खर्ब ५३ अर्ब रुपैयाँ ऋण लगानी छ। ३० लाख त ग्राहक नै पुगेका छन्। यो भनेको कुल जनसंख्याको १० प्रतिशत हो।

प्रभु बैंकका तत्कालिन अध्यक्ष देवीप्रकाश भट्टचन र अशोक

‘सुरुवातमा सबैलाई लागेको कुरा के  थियो भने फाइनान्स कम्पनीले बैंक लिइरहेको छ। बैंक पनि कमजोर खालको लिइरहेको छ। व्यवस्थापन गर्ने मान्छे पनि एकदमै भर्खरको छ, कसरी चलाउला र?,’ उनले सम्झिए, ‘यसमा एक जना प्रमुख कार्यकारी अधिकृतलाई मात्र हेरेर हुँदैन। तत्काल निर्णय दिन सक्ने सञ्चालक समिति, ठोस मार्गनिर्देशन दिने नियामक नहुने हो भने अगाडि बढ्न पक्कै सहज हुँदैन। सबैको मिश्रणले आज बैंक यहाँ आइपुगेको हो।’

अशोकले एकपछि अर्को बैंकलाई मर्जर गरेर लैजाँदा त्यसबेला बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकरहरु ‘ड्राइभिङ सिट’ मा थिए। अशोकहरु अगाडि आउन थालेपछि बल्ल बैंकहरुको ‘स्टेरिङ’ मा नयाँ पुस्ता देखिन थालेको हो। त्यस हिसाबले बैंकिङको नेतृत्व नयाँ पुस्ताले लिनु पर्छ भनेर आँट भर्ने काम अशोकहरुले गरेका हुन्। 

अशोकले प्रभु बैंकलाई न सुस्त पाराले चलाए न त एकदमै आक्रामक। संस्थाहरु जोडिँदै जाँदा बैंक ठूलो हुँदै गएको थियो। उनले वाणिज्य बैंकमा भर्खर उक्लिएको फाइनान्स कम्पनीमा कर्पोरेटहरुलाई ग्राहक बनाउन थाले।

‘यसले हाइइन्ड सोसाइटीमा प्रभु बैंकको नाम स्थापित हुन पुग्यो,’ उनले भने, ‘साना तथा मझौलामा हाम्रो बलियो उपस्थिति थियो।’ अशोकले कर्मचारीको वृत्तिविकासमा ध्यान दिए। कर्पोरेट कल्चर सिकाए। सबै वर्ग र क्षेत्रमा ग्राह्य हुने बैंकका रूपमा प्रभुलाई स्थापित गरे।

मर्जर गरेर ल्याउँदा बिग्रिएका ऋणहरु धमाधम उठाएर बैंकलाई सबल पनि बनाउँदै लगे। फाइनान्स हुँदै प्रभुको ब्राण्ड स्थापित थियो। त्यस हिसाबले समाजको सबै तहमा संस्थालाई पुर्‍याउन उनलाई अलि सहज भयो।

‘सम्पूर्ण हिसाबले राम्रो बनेपछि ठूला र राम्रा मान्छेको हाराहारीमा प्रभु बैंक उभिन सक्ने अवस्थामा पुग्यो,’ उनले भने, ‘समय लाग्यो तर हामीले धैर्यतापूर्वक यी सबै काम गर्‍यौं।’

अशोकको व्यक्तिगत बानी कस्तो छ भने- उनी धेरै सुन्छन् कम बोल्छन्। यो बानीले आफूले थाहा नपाएका कुराहरु अरुबाट थाहा हुने भयो। समस्या पनि थाहा हुने भयो र समाधान पनि थाहा हुने भयो। 

‘म गुड लिसनर भएका कारणले पनि समस्या पहिचान गरेर समाधान गर्न सजिलो भयो,’ उनले भने। 

एकपछि अर्को कमजोर संस्था लिएका कारण प्रभुले लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सकेको छैन, जुन फाइनान्स हुँदा दिएको थियो। अब भने लगानीकर्ताको भावना अनुसार उचित प्रतिफल दिने गरी संस्थालाई अगाडि बढाउनु पर्ने दबाब उनीमाथि छ।

अशोक अझै चार वर्षभन्दा बढी अवधि बैंकमा हुने छन् व्यवस्थापकीय नेतृत्व लिएर। त्यतिबेलासम्म बैंकलाई कहाँ पुर्‍याउने भनेर उनले योजना तयार पारिसकेका छन्।

‘अबको चार वर्षमा देशकै बलियो बैंक, सबल बैंक र ग्राहकको रोजाइको पहिलो बैंक बनाउनु पर्ने छ, त्यो हामी बनाउँछौं,’ उनले भने।

त्यसका लागि उनले नयाँ प्रडक्टहरुको विकास गर्ने छन्। बैंकलाई पूर्ण रुपमा ‘डिजिटाइज’ गर्ने योजना छ। साना ऋणीको संख्या बढाउने योजनामा छन्। आन्तरिक स्रोतको उपयोग गर्ने खालको उद्योग धन्दामा लक्षित भएर लगानी गर्ने योजना अशोकले योजना बुनेका छन्।

‘अबको चार वर्षमा नाम लिइने सीमित संस्थाहरुमध्ये प्रभु पनि एक हुने छ,’ उनले भने।