काठमाडौं। टिकटकमा अनलाइन जुवा खेलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिकाका २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरका २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत, कैलालीको गौरीगंगाका २० वर्षीय डिल्लीराज अवस्थी छन्।
उनीहरूलाई काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूले विभिन्न डिजिटल वालेटमार्फत रकम जम्मा गरेर टिकटक लाइभमा रकमको बाजी राख्ने गरेको खुल्न आएको छ।
पक्राउ परेकाहरूमध्ये योगीले पब्जी र पब्जी टु नामको टिकटक आइडी खोलेर दुई वटा मोबाइल वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एक महिना १० दिनको अवधिमा २८ लाख ७३ हजार ३ सय ५४ बराबरको रकमको कारोबार गरेको प्रहरीको दाबी छ।
गिरीले टिकटक आइडी खोली तीन वटा मोबाइल वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई जम्मा १० दिनको अवधिमा १० लाख ५२ हजार ९ सय ६२ बराबरको रकम कारोबार गरेको खुलेको छ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम कारबाहीको लागि प्रक्रियाअघि बढाएको छ।