BIZMANDU
www.bizmandu.com

हुवावे नभए नेपाल टेलिकमले फाइभजी ल्याउने सम्भावना क्षीण

२०७९ पुष २८

हुवावे नभए नेपाल टेलिकमले फाइभजी ल्याउने सम्भावना क्षीण
हुवावे नभए नेपाल टेलिकमले फाइभजी ल्याउने सम्भावना क्षीण

काठमाडौं। अमेरिका र चीनको भूराजनीतिक स्वार्थका कारण नेपाल टेलिकमको फाइभजी परीक्षण रोकिएपछि यसको भविष्यनै अन्योलमा परेको छ। टेलिकममा काम गरिरहेको हुवावेलाई तारो बनाएर फाइभजी परीक्षण रोक्न सफल भए नेपालमा फाइभजी नै नआउने सम्भावना बढेको छ।

Tata
GBIME
Nepal Life

अमेरिकी दूतावासको दबाब थेग्न नसकेर टेलिकमले पुस १७ गतेबाट थाल्ने भनिएको फाइभजी परीक्षण एकाएक रोकियो। जसका कारण फाइभजीको भविष्य के हुने हो भन्ने अन्योलग्रस्त अवस्था सृजना भएको छ।

चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्रविधि र उपकरण प्रयोग गर्नेगरी टेलिकमले फोरजीसँगै फाइभजी ‘बन्डलिङ’ गरेको छ। अर्थात् फोरजी कार्यान्वयनमा आउने टुंगो लागेकै समयमा फाइभजी पनि हुवावेकै सहयोगमा संचालनमा ल्याउने। यही रणनीति अनुसार फोरजी विस्तारका साथै भविष्यमा फाइभजी ल्याउने बाटो देखेरै टेलिकमले हुवावेसँग ठेक्का सम्झौता गरेको थियो।

टेलिकमले त्यतिबेला फोरजी विस्तारका लागि कोर नेटवर्क र आरएनएन (र्‍यान) गरी ठेक्का प्रक्रियालाई दुई भागमा बाँडेको थियो। यही समयमा टेलिकमले फोरजी पूर्वाधारलाई नै फाइभजीमा सिफ्ट गर्न मिल्ने प्राविधिक व्यवस्था मिलायो। जसलाई चिनियाँ कम्पनी हुवावेले पनि दह्रोसँग सघायो।

दुई दशकभन्दा बढी समयदेखि हुवावे नेपालको दूरसंचार क्षेत्रमा क्रियाशील छ। यही क्रममा अमेरिकाले हुवावेसहित अन्य चिनियाँ कम्पनीहरु माथि विभिन्न प्रकारका प्रतिबन्ध लगायो। अहिले यही भूराजनीतिक स्वार्थको शिकारमा टेलिकम परेको छ। डेटा सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अमेरिकी दूतावासको सक्रिय प्रयासमा अमेरिकाले हुवावे हाबी भएको टेलिकमको फाइभजी परीक्षण रोक्न सफल भएको छ। टेलिकमले अहिलेसम्म पनि कहिले फाइभजी परीक्षण सुरु गर्ने भन्ने टुंगो लगाउन सकेको छैन।

यता नेपाली दूरसंचार क्षेत्रको नियामक नेपाल दूरसंचार प्राधिकरण भने आगामी फागुन २० गते आफ्नो वार्षिकोत्सवको अवसरमा केही नयाँ गरौं भन्ने हेतुले फाइभजी परीक्षण वा फाइभजीलाई नै लिएर अन्य कुनै घोषणा गर्ने सोचमा छ। उता टेलिकम पनि आफ्नो वार्षिकोत्सव माघ २२ गते फाइभजी सम्बन्धी केही नयाँ निर्णय गर्ने तयारीमा छ। पुस १७ गते हुनुपर्ने फाइभजी परीक्षण अचानक रोकिएपनि आफूहरु जसरी पनि माघ २२ मा टेलिकमको वार्षिकोत्सवको अवसरमा परीक्षण गर्ने दाबी टेलिकमका अधिकारीहरुको छ।

फाइभजीमा हुवावे नहुँदा के हुन्छ?
हुनत टेलिकमले देशभर विस्तार गरिसकेको फोरजीको भौतिक पूर्वाधारहरु मात्रै फाइभजीका लागि पुन:प्रयोग गर्न मिल्छ। फोरजीको कोर उपकरणहरु फाइभजीमा पुन: प्रयोग गर्न मिल्दैन। फाइभजीका लागि एन्टिना नै छुट्टै चाहिन्छ। जसका कारण हुवावे आएपनि वा अर्को कुनै कम्पनी आएपनि फाइभजीको पूर्वाधार विस्तारमा लगानी खासै फरक नपर्ने टेलिकमका एक पूर्व प्रबन्ध निर्देशकले बताए।

‘प्राविधिक कुरा भन्दा बिल्टइन एन्टिनासहितको एएयू भन्ने हुन्छ। आरआरयू र एन्टिना मिलेर एएयू भन्ने एउटा उपकरण राख्ने हो। ट्रान्समिसन लिंक, टावरलगायतका उपकरण जुनसुकै कम्पनीको आएपनि टेलिकमलाई फरक पर्दैन। एक अर्को कम्पनीको उपकरणमा इन्टरअपरेबिलिटी हुन्छ,’ ती पूर्व प्रबन्ध निर्देशकले बिजमाण्डूसँग भने, ‘सबै उपकरणहरु आइपी नेटवर्कमा भइसकेपछि नयाँ आउँदा प्रयोग गर्नै नमिल्नै भन्ने हुँदैन। यसले खर्चमा पनि खासै ठूलो अन्तर पर्दैन। एरिक्नस आएपछि हुन्छ, नोकिया आएपनि हुन्छ वा हुवावे नै। अहिले भएको हुवावेलाई कुनै एड्भान्टेज थपिँदैन।’

अरु कम्पनीभन्दा हुवावेलाई के फाइदा?
हुवावेले अहिले पनि नेपाल टेलिकमको नेटवर्क व्यवस्थापन गरिरहेको छ। यसका साथै टेलिकमको प्रतिस्पर्धी निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेल आजियाटाको पनि टुजी, थ्रीजी र फोरजी नेटवर्क व्यवस्थापन गरिरहेको छ।

‘हुवावेसँग नेपालको दूरसंचार क्षेत्रमा काम गरेको लामो अनुभव छ। हुवावेसँग नेपाल र यहाँका कम्पनी सुहाउँदो जनशक्ति, अपरेसन मेन्टेनेन्स सेन्टर (ओएमसी), क्षेत्रीय कार्यालयहरु अहिले नै पूर्ण संचालनमा छन्। आजको दिनमा हुवावेले नेपालको टुजी, थ्रीजी र फोरजीमा अहिले नै काम गरिरहेको छ भने भोलि फाइभजीलाई भनेर छुट्टै सपोर्टमा लगानी गरिरहनु पर्दैन। नयाँ आउनेलाई यो चुनौती अधिक हुन्छ,’ ती पूर्व प्रबन्ध निर्देशकले भने।

नयाँ आउनेलाई नेपालको दूरसंचार क्षेत्र सुहाउँदो गरी आफ्नो टिमदेखि अन्य सबै जनशक्ति र लजिस्टिक व्यवस्थापन गर्न ठूलो लगानी र धेरै समय चाहिने उनको तर्क छ। करिब २५ वर्षदेखि हुवावे नेपालमा काम गरिरहेकाले ऊसँग भएका कर्मचारी, ज्ञान, व्यवस्थापन टुल, कार्यालयदेखि अन्य सबै आवश्यक पक्ष फाइभजी परीक्षण र व्यवसायिक प्रयोगका लागि टेलिकमलाई उपयोगी हुन्छ।

टेलिकमले हुवावेलाई हटाउने अवस्था आए फाइभजीको भविष्य अनिश्चित बन्ने छ। पूर्वाधारभन्दा पनि सर्भिसमा नयाँ कम्पनीले ठूलो लगानी गर्नुपर्ने टेलिकमसँग जानकारी बताउँछन्।