BIZMANDU
www.bizmandu.com

मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुर्‍याउन आज सत्ता साझेदार दलको बैठक बस्दै, क्याबिनेट बैठक ११ बजे

२०७९ पुष २८

मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुर्‍याउन आज सत्ता साझेदार दलको बैठक बस्दै, क्याबिनेट बैठक ११ बजे
मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुर्‍याउन आज सत्ता साझेदार दलको बैठक बस्दै, क्याबिनेट बैठक ११ बजे

काठमाडौं। मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुंगोमा पुर्‍याउन सत्ता साझेदार दलको बैठक बस्दैछ।

Tata
GBIME
Nepal Life

बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ। बुधवार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन्। उनलाई तत्काल उपस्थित २७० मध्ये २६८ सांसदले विश्वासको मत दिएका थिए। सत्ता साझेदार दलमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

यसैबीच आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ। सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ। रासस