BIZMANDU
www.bizmandu.com

कांग्रेसले विश्वासको मत दिने निर्णयपछि एमाले ‘ब्याक’ हुने देउवाको अनुमान फेल!

२०७९ पुष २६

कांग्रेसले विश्वासको मत दिने निर्णयपछि एमाले ‘ब्याक’ हुने देउवाको अनुमान फेल!
कांग्रेसले विश्वासको मत दिने निर्णयपछि एमाले ‘ब्याक’ हुने देउवाको अनुमान फेल!

काठमाडौं। नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने कि नदिने? यति निर्णय गर्न अनेकन तिकडम गरेर एकसाता बितायो कांग्रेसले।

Tata
GBIME
Nepal Life

पुस १० गते आफ्नै नेतृत्वको गठबन्धनलाई धोका दिएर एमालेको कित्तामा उभिँदै सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री बनेको एक हप्तापछि प्रचण्डले पुस १८ गते विश्वासको मत लिने मिति तोके – पुस २६ गतेका लागि।

१६९ जना सांसदको समर्थन लिएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा शपथ खाएका प्रचण्डसमक्ष एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान थियो। प्रचण्ड दुई हप्तामै विश्वासको मत लिन हौसिएपछि कांग्रेसजनको कान चनाखो भयो – कतै कांग्रेसले सरकार त ढाल्दैन?

राजनीति रोचक मोडमा पुग्दै थियो। कांग्रेसले विश्वासको मत दिन्छ कि दिँदैन? यही विषयले सबैको ध्यान तान्यो। कांग्रेसले पुस २३ गतेका लागि संसदीय दलको बैठक डाक्यो।

यही बिचमा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेको विषय पनि बाहिर आयो। तर, संविधानको प्रावधान अनुसार असम्भव यो ‘अफर’ को हल्ला हुँदै नभएको विषय भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रष्ट पारे।

‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन। कुनै दलको नेतालाई प्रधानमन्त्री पदमा प्रस्ताव राखेको छैन,’ संसदीय दलको बैठकको पूर्वसन्ध्यामा देउवासँग भेटेपछि २२ गते साँझ महामन्त्री शर्माले भनेका थिए, ‘नेपाली कांग्रेस अहिले यस्तो कुरामा विल्कुलै संलग्न छैन। नेपाली कांग्रेस अहिले कसैलाई अगाडि लगाएर हामी भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार र भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहिँ पनि त्यस्तो भइरहेको छैन। कतै चिया खाएको ठाउँमा कसैले भनेको भए अर्कै कुरा। यो सरकार अभीकी अभी भत्काउने भन्ने कुरामा कांग्रेस लागेको छैन।’

राप्रपा नेताहरुले पनि कांग्रेसको ‘अफर’ आएको विषयमा गाईगुँई कुरा चलाउन थाले। सरकारमा सहभागिताको विषयलाई लिएर राप्रपा अध्यक्ष लिङ्देन असन्तुष्ट छन् भन्ने चर्चा छँदै थियो, जनता समाजवादी पार्टी एमालेसँग सशंकित थियो। मानव अधिकार आयोगले गौर हत्याकाण्डको फाइल पल्टाएकोले जसपा अध्यक्ष उपेन्द्र यादव सरकारसँग सशंकित थिए। यही मेसोमा यादवले धुम्बराही पुगेर देउवालाई भेटे।

पुस २३ गते सिंहदरबारमा संसदीय दलको बैठक बस्यो। तर उक्त बैठकले यस विषयमा निर्णय लिन सकेन। विश्वासको मत लिने दिनमै बिहान संसदीय दलको बैठक राखेर निर्णय लिने कांग्रेसको तयारी देखियो। यही बिचमा कांग्रेसले एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत नै नदिने र राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलाईसमेत आफ्नो पक्षमा ल्याउने तयारी थालेको चर्चा चल्यो। एकीकृत समाजवादीको आनाकानी भने जारी थियो। यसले विश्वासको मतमा गडबढी हुने आशंका बढ्दो थियो। यस्तो अवस्थाबिच सबै पार्टीको नजर भने कांग्रेसतिरै रह्यो।

सोमवार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वासको मत माग्न देउवाकहाँ पुगे। देउवाले विश्वासको मत दिने आश्वासन त्यतिबेलै दिएको चर्चा पनि चल्यो। तर देउवा निकट नेताहरुले संसदीय दलको निर्णयबिना मत दिने नदिने निर्णय गर्न नसकिने दाबी गर्‍यो। सो दिन साँझ साढे ७ बजे भएको भेटमा देउवाले साथीहरुसँग छलफल गरि आफू अघि बढ्ने जवाफ दिएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले दाबी गरे।

‘सहयोग गर्नुपरो भनेर प्रधानमन्त्री आउनुभएको हो। एकछिन छलफल भयो। सभापतिज्युले साथीहरुसँग छलफल गरेर निर्णय गर्छु भन्नुभएको छ,’ कांग्रेस प्रवक्ता महतले भनेका थिए।

कांग्रेसले मंगलवार बिहानै पदाधिकारी बैठक डाक्यो। देउवा निवास धुम्बराहीमा बसेको बैठक टुंगिन निकै समय लाग्यो। जसका कारण कांग्रेसको संसदीय दलको बैठकमात्र हैन संसद बैठक नै सर्‍यो। आज बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजे सर्‍यो। यही बिचमा कांग्रेसले कार्यसम्पादन समितिको बैठक पनि डाक्यो।

प्रचण्डलाई विश्वासको मत दिने लगभग तयारी गरेको कांग्रेसले यति निर्णय गर्न चरम रहस्यमयमै बैठकपछि बैठक राख्यो। निर्णय भने संसद बैठक सुरु हुनुअघिमात्र सुनायो – त्यो पनि प्रचण्ड सरकारलाई समर्थन गर्ने दृढतासहित।

दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेताहरु बलबहादुर केसी, अर्जुननरसिंह केसीले विश्वासको मत दिने विषयमा असहमति जनायो। तर अडान लिन भने सकेनन्। पछि असहमति राख्ने कांग्रेस सांसदको ‘लिस्ट’मा प्रदीप पौडेल पनि थपिए।

विश्वासको मत दिँदा एमालेले समर्थन छाड्ने अनुमान

कांग्रेसले विश्वासको मत दिनुअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारबाट ‘ब्याक’ हुने अनुमान कांग्रेसले गरेको थियो। एमाले सरकारबाट ‘ब्याक’ हुने भएपछि राष्ट्रपति वा सभामुख कांग्रेसले पाउने लगभग सुनिश्चित भएको बताइएको थियो।

यो अनुमानलाई माओवादी नेताले पनि पुष्टि गरेका थिए। ‘कांग्रेसले माओवादीलाई साथ दिएपछि प्रचण्ड बलियो हुनुभएको छ। राष्ट्रिय सहमतिको सरकार बन्ने भयो,’ माओवादीका एक नेताले संसद बैठकअघि भनेका थिए, ‘एमालेले विश्वासको मत नदिनसक्ने सम्भावना पनि बढेको छ। के हुन्छ हेरौं।’

कांग्रेसले पनि प्रचण्डलाई समर्थन गर्दै एमालेबाट शंकाको लाभ लिन चाहिरहेको थियो। प्रतिनिधिसभा विघटन गरेर पटकपटक आफूले प्रतिगामी कदम नचालेको दाबी गर्दै आएका एमाले अध्यक्ष केपी ओलीलाई ‘साइज’मा ल्याउन कांग्रेसले यस्तो कदम चालेको बताइएको थियो।

कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्डले एमाले, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र ३ जना स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए।

सरकारबाट एमाले बाहिरिएपछि कांग्रेसले राष्ट्रपति वा सभामुख तत्काल पाउने बताइएको थियो। देउवाले पनि प्रतिनिधि सभामा प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताए। देउवालगत्तै रोस्टममा पुगेर प्रचण्डलाई एमालेले पनि साथ दिने एमाले अध्यक्ष ओलीले बताए।

‘हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभएको हो प्रचण्ड। उहाँको पक्षमा सिंगो एमाले उभिन्छ,’ ओलीले भने। 

प्रचण्डलाई जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई सांसदबाहेक अन्य सबै दलका सांसदले विश्वासको मत दिएका छन्।

आजको बैठकमा २७० जना उपस्थित रहेका थिए। प्रस्तावको पक्षमा कांग्रेसका ३ सांसद अनुपस्थित रहे। अन्य सबै कांग्रेस सांसदले प्रचण्डलाई मत दिएसँगै उनले २६८ जनाको प्रचण्ड बहुमत पाए। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्ड यससँगै सबैभन्दा बढी संसदको समर्थन पाउने प्रधानमन्त्री भए।

धुम्बराही पुगेर कांग्रेससँग विश्वासको मत माग्दा प्रचण्डले के कस्ता वचन दिएका थिए? त्यो गर्भकै विषय छ। तर पुस १० मा जसरी ओलीबाट विश्वासमा धोका पाए देउवाले, आज विश्वासको मत लिने दिन ओली ‘ब्याक’ हुने अनुमानमा पनि ‘फेल’ खाएका छन् देउवा। विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय लिएको कांग्रेस अब कसरी अघि बढ्छ? त्यो देउवाकै ‘मुभ’मा भरपर्नेछ।