काठमाडौं। माघ १ गतेबाटै वाणिज्य बैंकहरुले ब्याज दर घटाउने भएका छन्। सँगै विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याज दर तल ल्याउने भएका हुन्।
सुरुमा निक्षेपको ब्याज दर घट्ने छ। त्यसपछि आधार दर कम भएर ऋणको ब्याज पनि कम हुने छ। आधार दर अद्यावधिक गर्न माघ मसान्त कुर्नुपर्ने भएकाले प्रिमियम केही कम (आधार दरसँग समायोजन गरेर) गरेर नयाँ ऋणीको ब्याज दर निर्धारण हुने छ।
‘ऋणको ब्याज दर महँगो भएका कारण कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कम हुँदा पनि ऋण लगानी भइरहेको छैन,’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बिजमाण्डूसँग भने, ‘ऋणको माग नभएका कारण नगएको हो।’
महँगो ब्याजले ऋणी निरुत्साहित भएको उनको बुझाइ छ।
अर्कोतिर नयाँ सरकार आएपछि एक खालको उत्साहको माहौल छ। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सीमाभन्दा बढी उपयोग गर्नेहरुलाई तिर्ने समय साढे दुई वर्षसम्म दिएको छ। अर्कोतर्फ राष्ट्र बैंकलाई ब्याज दर घटाउने दबाब पनि छ।
‘चौतर्फी सेन्टिमेन्ट ब्याज घटाउने भन्ने देखिएको छ,’ खालिङले भने, ‘त्यसो हुँदा ब्याज घटाएर जानु पर्छ भन्नेजस्तो माहौल बनेको छ।’
यद्यपि बैंकर्स संघले भने शुक्रबार ब्याज घटाउने बारे निर्णय गर्ने छ। अधिकांश सदस्य बैंकहरु घटाउने पक्षमा छन्। केही भने पुसमा हुने तरलताको क्षति (सरकारको आयकर, पुनर्कर्जा, स्थानीय निकायको पैसालगायत) लाई हेरेर माघ मसान्तमा निर्णय लिनु उचित हुने पक्षमा छन्।
अहिले वाणिज्य बैंकहरुको साधारण मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत छ। बचतको न्यूनतम ब्याज दर अन्तर साधारण मुद्दतीभन्दा बढीमा ५ प्रतिशत बिन्दु हुनुपर्ने नियामकीय प्रावधान छ। यसो हुँदा साधारण बचतको ब्याज दर ७.१३३ प्रतिशत छ। बचत खाता बीचको अन्तर बढीमा दुई प्रतिशत बिन्दु हुनु पर्ने प्रावधानका आधार अधिकतम ब्याज ९.१३३ प्रतिशत छ।
राष्ट्र बैंकले मासिक रूपमा बढीमा १० प्रतिशत बिन्दुले ब्याज थपघट गर्न पाइने व्यवस्था गरेको छ। यो सूत्र अनुसार मुद्दती तथा बचत निक्षेपको ब्याज दर १.२१ प्रतिशतले घट्ने छ। यसो हुँदा मुद्दतीको ब्याज १०.९२ प्रतिशत हुने छ। बचतको ब्याज दर पनि घट्ने छ।
मुद्दतीको ब्याज दर तल आए पनि लागत घट्न समय लाग्छ। किनभने नयाँ खाता वा नवीकरण हुने खातामा नयाँ ब्याज दर लागू हुन्छ। तर ३५ प्रतिशतभन्दा बढी हिस्सा रहेको बचतको ब्याज माघ १ गतेबाटै लागू हुने भएकाले बैंकहरुको आधार दर कम हुन्छ।
नेपाल राष्ट्र बैंकको बुझाइमा पनि ब्याज दर घट्छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै मूल्यवृद्धि दर कम हुँदै गएको छ। यसो हुँदा आयातमा कम पैसा जान्छ।
‘आन्तरिक तरलतामा सुधार भएपछि स्वत: ब्याज दर कम हुन्छ,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बिजमाण्डूसँग भने, ‘आन्तरिक बजारमा अहिले नै पनि तरलता सुधार हुन थालेको छ। पोहोरको तुलनामा बैंकहरुसँग लगानी गर्ने पुँजी निक्कै सुधार भएको देखिन्छ। यसले पनि ब्याज दर घटाउन मद्दत गर्ला।’
उनका अनुसार, एकल अंकको ब्याज दर भनेर जसरी व्यवसायीले भनिरहेका छन् त्यसले भनि विगतमा जस्तै विकृति ल्याउन सक्छ। ‘ब्याज निक्कै सस्तो हुँदा आयात बढ्यो, घरजग्गामा लगानी बढ्यो। यसले तरलता हराएर गयो,’ उनले भने, ‘निक्षेपकर्तालाई निराश बनाउने र पुरानै अवस्थामा फेरि पुर्याउने गरी ब्याज एकल अंकमा ल्याउँदा के हुन्छ भनेर चाहिँ सोच्न पर्छ।’
व्यवसायीहरु पनि ब्याज दर घट्छ भन्नेमा विश्वस्त छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आयातमा आएको कमी, बाह्य क्षेत्रमा देखिएको सुधार, रेमिटेन्समा भएको बढोत्तरीसँगै सुधार भएको तरलताका कारण ब्याज दर घट्ने विश्लेषण गर्छन्।
यद्यपि उनीहरुले राष्ट्र बैंकले मौद्रिक समीक्षाबाट ब्याज दर थप तल ल्याउने गरी काम गर्नुपर्ने धारणा राख्छन्।