BIZMANDU
www.bizmandu.com

चिराइतोको माग र भाउ बढ्यो उत्पादन भने घट्यो, खेती सीमित क्षेत्रमा     

२०७९ पुष २५

चिराइतोको माग र भाउ बढ्यो उत्पादन भने घट्यो, खेती सीमित क्षेत्रमा     
चिराइतोको माग र भाउ बढ्यो उत्पादन भने घट्यो, खेती सीमित क्षेत्रमा     

फुङलिङ। ताप्लेजुङको सिरिजंगा गाउँपालिका-७ याम्फुदिनका मानबहादुर राईले मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाएका थिए। सुरुका वर्ष मनग्य आम्दानी पनि लिए। तर विस्तारै भाउ घट्यो, उनले खेती गर्न छाडे।

Tata
GBIME
Nepal Life

राईले सात वर्षअघि एकै याममा ७५ मन(४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्थे। उनले गरेको खेतीबाट प्रभावित भएर सोही गाउँका दावा शेर्पाले पनि चिराइतो लगाएका थिए। जंगलमा मात्र पाइने चिराइतोको व्यवसायिक खेती गर्न शेर्पाले आँगनमै बेर्ना उमार्न थालेका थिए। बारीका कान्ला र डिलहरु कहिँकतै ठाउँ खाली नराखी चिराइतो बेर्ना लगाए। उनले पनि चिराइतोबाट राम्रो आम्दानी लिएका थिए। 

त्यतिबेला सोही गाउँमा कमल राई वैदेशिक रोजगारीमा जाने सुरमा थिए। तर, चिराइतोको बजार मूल्यले उनी लोभिए। विदेशिने सोच परिवर्तन गरेर चिराइतो खेती गर्न थाले। एक-दुईजना गर्दागर्दै गाउँका धेरैले चिराइतो खेती गर्न थाले। जंगलमा मात्र पाइने चिराइतो व्यावसायिक रुपमै हुन थाल्यो र मुख्य आम्दानीको स्रोत बन्न पग्यो। त्यो बेला कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि आर्थिक तथा प्रविधिक सहयोग गरेको कार्यक्रम सहायक चितेन चेम्जोङ बताउँछन्।      
    
जीविकोपार्जन गर्न तथा समुदायमा आम्दानीको स्रोत बढाउन परिषद्ले सहयोग गरेको चम्जोङको भनाइ छ। तर, अहिले भने याम्फुदीनमा चिराइतो खेती गर्ने किसान भेट्न मुस्किल छ। विस्तारै चिराइतोको बजार मूल्य खस्कदै गएसँगै त्यसको खेती छोडेर वैकल्पिक व्यवसाय गर्न थालेको सिरिजंगा-७ सूर्यमान राईले बताए।    
    
उनले भने ‘विगतका वर्षमा २२ मनसम्म चिराइतो जम्मा गरियो तर अहिले भने खेती गर्न छाडियो। फक्ताङलुङ-६ का राजकुमार राईले बजार मूल्य खस्कदै गएसँगै चिराइतो छाडेर अलैंची खेती गर्न थालेका छन्। सिदिङवा-७ सुरुम्खिमका कृष्णकुमार तामाङले चार वर्षअघि चिराइतो बेच्न सकेनन्। पहिले प्रतिमन ३५ हजार रुपैयाँमा बिक्री गरेको चिराइतो कोरोना महामारीका कारण नाका बन्द हुनु र भाउसमेत आठदेखि १० हजार रुपैयाँमा झरेपछि बेच्न नसकेको तामाङ बताउँछन्। उनले करिब ५० रोपनीमा चिराइतो लगाएका थिए।      
    
व्यवसायी सविन बानियाँका अनुसार अहिले प्रतिमन चिराइतो झापामा २५ हजारदेखि ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो गतवर्षको भन्दा करिब तीन गुणाले बढी हो। ‘केही वर्षअघि ३२ हजार प्रतिमन पनि तिब्बत लगेर बेच्यौं। त्यसपछि लगातार घटेको भाउमा अहिले फेरि सुधार भएको छ,’ उनले भने, ‘चीनको नाका बन्दले भारततर्फ कारोबार भइरहेको छ।’ अलैँची उत्पादन नहुने क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो।    
    
अन्तर्राष्ट्रियस्तरका ठूला व्यापारीले चिराइतोको मूल्य निर्धारण गर्छन्, किसानले पाउने भनेको थोरै मात्र हो। सस्तोमा खरिद गरेर भण्डारण गर्ने र अनि भाउ बढाउँछन्, फेरि किसानबाट खरिद गर्ने बेलामा भाउ घटाउने गरेको बानियाँ बताउँछन्। राज्यले नै यसलाई प्रशोधन गरेर बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ।    
    
 फक्ताङलुङ-५ का चिराइतो व्यापारी सुसन लिम्बुका अनुसार किसानले खेती गर्न छाडेकाले चिराइतो संकलनमा कमी आएको छ। उनले भने ‘चिराइतोको माग छ तर उत्पादन छैन। दुई-चार वर्ष बजार भाउ नपाउँदा किसानले खेती गर्न छोडे।’ विगतका वर्षको तुलनामा यसवर्ष एक तिहाई मात्र चिराइतो संकलन हुनसकेको उनको भनाइ छ ।    
    
कञ्चनजंघा संरक्षण क्षेत्रमा विगतका तुलनामा चिराइतो उत्पादन कमी हुँदै गएको परिषद्का कार्यालयका कार्यालय सचिव मनकुमार लिम्बुले बताए। पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारत निकासी भइरहेको छ।     
    
चार वर्षअघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो। तर, कोभिड–१९ का कारण चार वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायत सामानको निकासी पनि ठप्प छ। बिक्रीका लागि ओलाङ्चुङगोलासम्म पुर्याएका चिराइतो व्यापारीले फर्काएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन बालुङले बताए। अघिल्ला वर्षमा मूल्य उच्च हुँदा हेलिकप्टरबाटसमेत तिब्बत लगिएको थियो।

सात वर्षअघि एक लाख रुपैयाँ प्रतिक्वीन्टल रहेको मूल्य दुई वर्षमा ३० हजारमा झर्‍यो। त्यसयता क्रमशः बजार मूल्य ओरालो लाग्दै गयो। कुनै समयमा एक लाखमा बिक्री गरेर चिराइतो आठ हजार रुपैयाँसम्ममा बिक्री गर्नुपरेको फक्ताङलुङ-६ लावचेका किसान बुद्धिराज राईले बताए।    
    
पाखाबारी र अन्य खेती गर्न नसकिने जंगल फाँडेर किसानले चिराइतो खेती गर्दै आएको छन्। प्रमुख नगदे बालीका रूपमा अलैंची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भनेजस्तो मूल्य नपाउदा किसानमा उत्साह छैन। अलैंचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ ।    
    
आर्थिक वर्ष २०७८/८९ मा ५ हजार ८ सय केजी चिराइतो संकलन भएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताए। छुट पूर्जीका लागि प्रतिकेजी रु १५ राजस्व जम्मा गर्नुपर्छ। ५ हजार ८ सय केजी चिराइतो संकलन हुँदा ८७ हजार राजस्व जम्मा भएको कार्यालयले जनाएको छ। वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा आव २०७७/७८ मा १६ हजार ३ सय ३४ केजी चिराइतो संकलन भएको थियो। यसबाट २ लाख ४४ हजार राजस्व संकलन भएको थियो। जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको शाहले बताए।    
    
नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ। यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ। बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्याण्ड, मलेसिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्याण्ड, श्रीलंका, बंगलादेश, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ। 

यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ। परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिको रुपमा चिराइतोको प्रयोग हुने गर्दछ। मुख्यगरी यसको प्रयोग बलवर्द्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ। 

लामो समयदेखि नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायतका जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुनेगर्दछ। केही वर्षदेखि विभिन्न जिल्लामा चिराइतोको व्यावसायिकरूपमै खेती गर्न थालिएको छ। विश्वमा धेरै प्रकारका चिराइतो पाइने भए पनि नेपालमा १० प्रजातिका चिराइतो पाइन्छ। 

वनस्पति विभागका अनुसार विशेषगरी बारी वा झाडीको भित्तोमा प्राकृतिक रूपमै आफैं उम्रने र बढ्ने चिराइतोको वैज्ञानिक नाम ‘स्वेर्सिया चिराइतो’ हो भने यो ‘जेनसियानेसी’ परिवारमा पर्छ। यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने बुट्यान हो। औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ। कीटाणुनाशक यो जडीबुटी जनावरले खाँदैनन् र रोगकीरासमेत लाग्दैन। रासस