BIZMANDU
www.bizmandu.com

दाङमा रातारात रुख काटिएपछि सडक मर्मतको योजनामा पुनर्विचार गर्दै एमसीसी, वासिङट्नमा छलफल

२०७९ पुष २४

दाङमा रातारात रुख काटिएपछि सडक मर्मतको योजनामा पुनर्विचार गर्दै एमसीसी, वासिङट्नमा छलफल
दाङमा रातारात रुख काटिएपछि सडक मर्मतको योजनामा पुनर्विचार गर्दै एमसीसी, वासिङट्नमा छलफल


काठमाडौं। आफ्नो परियोजना आसपासको रुख रातारात अनधिकृत रुपमा काटिएपछि एमसीसीले सडक मर्मतको योजनामा पुनर्विचार गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

एमसीसी कम्प्याक्ट अन्तर्गत ३१५ किमी प्रसारणलाइनसँगै सडक निर्माण र ७७ किमी सडक मर्मतको योजना छ। सडक मर्मत परियोजना अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्म ७७ किमी सडक मर्मत गर्ने योजना राखेको थियो।

लुम्बिनी प्रदेशको निर्देशनमा रुख काटिएको विषयलाई गम्भीर रुपमा लिँदै सडक परियोजनामा एमसीसीले पुर्नविचार गर्ने संकेत गरेको छ। ‘एमसीसीलाई बदनाम गराउन रातारात रुख काटिएपछि एमसीसीको हेडक्वार्टरले गम्भीर रुपमा लिएको छ,’ एमसीएका एक उच्च अधिकारीले बिजमाण्डूलाई भने, ‘ठूलो षड्यन्त्रको प्लट तयार पारेर रुख काटिएको हो। यसरी विवादित बनेर परियोजना अघि बढाउनु उपयुक्त हुने की नहुने भनेर छलफल समेत भएको छ।’

रुख काटिएको विषय एमसीए नेपाललाई जानकारी हुनु भन्दा अघि एमसीसी हेडक्वार्टर वासिङट्न डीसीमा पुगेको थियो। त्यहाँबाट सुचना आएपछि एमसीए नेपालका अधिकारीहरु रुख काटेको स्थानमा पुगेका थिए।

त्यहाँ पुगेर हेर्दा लमही-भालुवाङ सडक खण्डमा करिब तीन साता पहिले दुई दिनमै १४०० रुख काटिएको थियो। सो सडकको करिब ५ किमी खण्डमा रुख काटिएको छ।

एमसीसी कम्प्याक्ट अन्तर्गत मर्मत हुने सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइ) अध्ययन नै पुरा भएको छैन। एमसीए-नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टका अनुसार अहिले आइइ प्रतिवेदन तयारीको काम चलिरहेको छ। उनका अनुसार आइइ तयार भएपछि परियोजनाका लागि कति रुख काट्नुपर्छ भनेर एकिन गर्न सकिन्छ।

यो परियोजनाको आसपासमा पर्ने रुख कसले काट्यो भन्ने एकिन हुन सकेको छैन। तर सबै प्रदेश, स्थानीय तह, वन लगायत सबैको मिलेमतोमा रुख काटिएको आरोप लगाइएको छ। ‘प्लानिङ गरेर रुख काटिएको छ। रुख काट्नका लागि मेसिनको प्रयोग गरिएको छ,’ उनले भने,’ दुई दिनमा १४०० रुख काट्ने र मेसिनको प्रयोग गर्ने कुरा मिलेमतो विना सम्भव छैन।’

यो बिषयमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन मन्त्रालय लगायतलाई रिपोर्टिङ भइसकेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सडक विभागलाई छानविन समिति बनाएर कारबाहीका लागि निर्देशन दिएका थिए।

सो आधारमा सडक विभाग मातहतको सडक डिभिजन दाङले छानविन गरेर कारबाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय दाङलाई अनुरोध गरेको छ। कार्यालयले सरकारी सम्पत्ती हिनामिना गरेको भन्दै दोषीलाई कारबाही माग गरेको छ।

एमसीसी परियोजनाले १६ मिटर चौडाइमा सडक मर्मत गर्ने हो। तर १६ मिटरभन्दा बाहिर पर्ने सडकको समेत रुख काटिएको छ। राजमार्गको सिमांकन ५० मिटरको हुन्छ। सडक विस्तार हुन लागेको भन्दै मिलेमतोमा रुख काटेको हुन सक्ने समेत आशंका छ। लमही नगरपालिका र राप्ती गाउँपालिकामा रुख काटिएको छ।

राप्ती गाउँपालिकामा धेरै रुख काटिएका छन्। पूर्व- पश्चिम राजमार्गको यो खण्डमा कुनै स्तरोन्नतिको योजना नरहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। उनका अनुसार काम नभएपछि रुख काट्नुपर्ने कुरै भएन। रुख काट्ने विधि र प्रक्रिया हुन्छ। तर अनधिकृत रुपमा काटिएपछि विभागले छानविन गरेर कारबाहीका लागि अनुरोध गरेको उनले बताए।