BIZMANDU
www.bizmandu.com

एमसीसी परियोजनालाई बदनाम गराउन कसले काट्यो दाङमा गुपचुप सयौं रुख ? अमेरिकी दूतावास गम्भीर

२०७९ पुष २१

एमसीसी परियोजनालाई बदनाम गराउन कसले काट्यो दाङमा गुपचुप सयौं रुख ? अमेरिकी दूतावास गम्भीर
एमसीसी परियोजनालाई बदनाम गराउन कसले काट्यो दाङमा गुपचुप सयौं रुख ? अमेरिकी दूतावास गम्भीर

काठमाडौं। तीन साताअघि दाङको लमही नगरपालिका र राप्ती गाउँपालिका वरपरका सयौं रुख काटिए। लमही-भालुवाङ सडक वरपरका रुख काटिएको खबर काठमाडौंस्थित अमेरिकी दूतावास पुग्यो।

Tata
GBIME
Nepal Life

अमेरिकी दूतावासले यो विषयलाई गम्भिरतापूर्वक लिँदै रुख काटिएको बारेमा अनुसन्धान अघि बढायो। यसरी अमेरिकी दूतावास नै सक्रिय हुनुको प्रमुख कारण थियो, ‘एमसीसीलाई बदनाम गराउन नियोजित रुपमा चालिएको कदम भन्ने थियो।’ एमसीसी परियोजना अन्तर्गत लमहीदेखि भालुवाङ सडक स्तरोन्नति हुँदैछ।

यो सडक स्तरोन्नतिको परियोजना अघि बढाउन ठेक्का लगायतका प्रक्रिया अघि बढ्दै थियो। तर अचानक कुनै अध्ययन विना स्थानीय प्रशासन, स्थानीय तहको समेत सहभागितामा रुख काटियो। जथाभावी रुपमा रुख काटेर एमसीसी परियोजनाले प्राकृतिक स्रोतमाथि दोहन गरेको भन्दै बदनाम गराउने उदेश्य राखिएको दूतावासको बुझाई थियो।

एमसीसी परियोजनालाई नेपालमा आउन दिन रोक्ने शक्तिराष्ट्रले बदनाम गराउन यो चाल चलेको बुझाई दूतावासको छ। ‘स्थानीय तहले आफ्नो हिसाबले यो रुख काट्नै सक्दैन। यसमा ठूलै चलखेल रहेको देखिन्छ,’ स्रोतले भन्यो, ‘एमसीसी परियोजनालाई विफल पार्न ठूलै शक्ति खेलेको देखिन्छ।’

यो बुझेपछि दूतावासले एमसीए नेपाललाई तत्कालै फिल्ड भिजिट गरेर प्रतिवेदन बुझाउन समेत भनेको स्रोतले बतायो। एमसीए नेपालका कर्मचारीले फिल्ड भिजिट गर्दा रुख काटेको भेटिएको थियो। त्यसरी जथाभावी रुपमा रुख काटिएको भेटिएपछि सडक विभाग र वन विभागलाई कुन प्रयोजनका लागि रुख काटिएको हो, भन्दै एमसीए नेपालले पत्राचार गरेको छ।

एमसीए- नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले एमसीसी परियोजनाको सिमांकनमा पर्ने स्थानीयले काटिदिएको स्वीकार गरे। ‘रुख काटिएको भन्ने जानकारी हामीलाई आएको छ। कुन, आयोजना र कसले काट्यो भन्ने जानकारी छैन। सडक विभागलाई सोधेका छौं,’ उनले बिजमाण्डूसँग भने,’सडक विभाग र वन विभागलाई हाम्रो एलाइन्टमेन्टमा पर्ने रुख किन काटियो भनेर सोधेका छौं। वास्तविक तथ्य आएपछि हाम्रो धारणा बनाउँछौं।’

उनका अनुसार एमसीए- नेपालले रुख काट्ने भन्ने कुनै आधिकारिक निर्णय गरेको छैन। ‘जति रुख काटिएको भनिएको छ। त्यति हामीलाई काट्नु पर्दैन। हामीले सडक मर्मत गर्ने हो। १६ मिटरमा मात्रै हामीले निर्माण गर्छौं। सडक विभागले ५० मिटर राजमार्ग तोकेको छ’, उनले भने।

एमसीसी परियोजना अन्तर्गत पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ जिल्लाभित्र करिब ७७ किमी सडक मर्मत गर्ने योजना छ। धानखोला देखि लमहीसम्म मर्मतको काम हुनेछ। सोही खण्डमा पर्ने रुख काटिएका छन्। बिष्टका अनुसार अहिले त्यसका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम भइरहेको छ।

‘हाम्रो रिपोर्ट फाइनल भएको छैन। फाइनल रिपोर्ट तयार भएपछि कति रुख काट्नुपर्छ भन्ने एकिन गर्न सकिन्छ,’ उनले भने,’ त्यहि भएर हामीले नेपाल सरकारको सम्बन्धित निकायहरुलाई यसबारे जानकारीका लागि अनुरोध गरि पठाएका छौं।’

भएको के हो ?
करिब तीन साता पहिला रुख काटिएको हो। स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय दाङ, लमही नगरपालिका, राप्ती गाउँपालिका, वन कार्यालय लगायतको मिलेमत्तोमा रुख काटिएको हो।

करिब ५ किलोमिटर जतिमा ५० भन्दा बढी ठूला र अनगिन्ति साना रुख काटिएको सडक डिभिजन दाङका एक इन्जिनियरले बताए। ‘लिखित कहीँ पनि केही उल्लेख छैन। कसले काट्यो भन्ने नै थाहा छैन,’ठुलो सङख्यामा रुखहरु काटिएको छ।’

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार विधि र प्रक्रिया विपरीत रुख काटिएको छ। ‘रुख सरकारी सम्पत्ति हो। जथाभावी मास्न पाइँदैन। दाङ डिभिजनमार्फत रुख संरक्षणका लागि सम्बन्धित निकायलाई पत्र लेखेका छौं। सबै निकायको मिलेमत्तोमा रुख काटिएको जस्तो बुझिएको छ,’ उनले भने। थापाका अनुसार सो सडक खण्डमा विभागले कुनै निर्माणको योजना नभएकाले रुख काट्ने कुरै भएन। रुख काटिएको विषय प्रधानमन्त्रीसम्म पुगिसकेको छ। सडक विभागका एक कर्मचारीका अनुसार रुख काटेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने तयारी छ।

सडक डिभिजन दाङका प्रमुख राम पुकार जैसवालले भालुवाङदेखि लमहीसम्मको करिब २७ किमी खण्डमा रुख काटिएको बताए। ‘मैले पनि हेरेर आए। लमही नगरपालिकामा भन्दा राप्ती गाउँपालिकामा धेरै रुख काटिएको छ। कति काटिएको भन्ने एकिन भएको छैन। हामीले सडक विभागलाई के गर्ने भनेर लेखेर पठाएका छौं,’ उनले भने, ‘हामीले रुख काट्न कुनै आधिकारिक आदेश दिएका छैनौ।’

केही रुख जनताले काटिदिएछन्- लमही नगरपालिकाका मेयर चौधरी
लमही नगरपालिकाका मेयर जोगराज चौधरीले केही रुख जनताले काटेको बताए। ‘मलाई पनि जानकारी थिएन। एमसीसीबाट फोन आयो। हाम्रो यहाँ त काटिएको छैन भनेर जवाफ दिए। एमसीसीका मान्छेले हामी वातावरणको संरक्षक हौ भनेका छन्,’ उनले भने,’यहाँ बुझ्दा दुई चार जनाले काटनु भएको रहेछ।’

उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पनि किन रुख काटिएको हो भन्दै सोधिएको थियो। ‘यहाँका जनताहरु हामीले लगाएको बाँस, छेउछाउको रुख त काट्न पाइन्छ होला नी भन्दै थिए। मैले वनले बार लगाएको भित्र पाइदैन भनेको थिए,’ उनले भने।

लिखित जवाफ मागेको छु- प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रुख काटेको बिषयमा सम्बन्धित वन कार्यालय र सडक डिभिजनसँग लिखित जवाफ मागेको बताए। ‘सडकको सीमाभित्र पर्ने रुख काटिएको छ। कहिले कसले काट्यो भन्ने नै छैन,’उनले भने,’ मैले ती निकायहरुसँग जवाफ मागेको छु। त्यसपछि मात्रै किन काटियो हो, जवाफ दिन सक्छु।’