BIZMANDU
www.bizmandu.com

‘पोखरा विमानस्थलको ऋण तिर्न कसैको हात थाप्न पर्दैन’ क्यान महानिर्देशक प्रदीप अधिकारीको विचार

२०७९ पुष २१

‘पोखरा विमानस्थलको ऋण तिर्न कसैको हात थाप्न पर्दैन’ क्यान महानिर्देशक प्रदीप अधिकारीको विचार
‘पोखरा विमानस्थलको ऋण तिर्न कसैको हात थाप्न पर्दैन’ क्यान महानिर्देशक प्रदीप अधिकारीको विचार

काठमाडौं। हामी हरेक विमानस्थलबाट नाफा कसरी गर्ने भनेर व्यवसायिक घरानाले जसरी सोच्दैनौं। विमानस्थल निर्माण गर्ने भनेको राज्यको अनिवार्य दायित्वको विषय हो। त्यही दायित्व अनुसार विभिन्न विमानस्थल निर्माण भएका छन्।

Tata
GBIME
Nepal Life

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि धेरै टिकाटिप्पणीहरु भएका छन्। विमानस्थल निर्माणका लागि लिइएको ऋण तिर्ने विषयदेखि भौगोलिक अवस्थाका बारेमा विभिन्न भनाईहरु वाहिर आएका छन्।

विमानस्थल निर्माणका लागि लिइएको ऋण तिर्नै सकिँदैन भन्ने पनि छ। हामीलाई तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्ने बहस पनि भइरहेको छ। यी सबै बहसभित्र जान आवश्यक ठान्दिन। तर केही विषय हामीसँग पनि ठोक्किएकाले स्पस्ट भने पार्न आवश्यक ठान्छु।

पहिलो पोखरालाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक छ की छैन भन्ने वहसमा प्रवेश गर्न चाहन्छु। यो वर्ष मात्रै नेपालमा डेढ करोड यात्रुले हवाई सेवा लिएका छन्। आन्तरिक रुपमै पनि वार्षिक १० प्रतिशतले हवाई यात्रु बढिरहेका छन्। त्यो आधारमा वार्षिक १५ लाख यात्रु बढ्छन्। यही अवस्था मात्रै रहेमा २० वर्षपछि यात्रुको चाप ४ करोड माथि जान्छ।

 कोभिड नआएको भए त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल स्याचुरेसनमा गइसकेको हुन्थ्यो। ट्राफिक कन्जेसनका कारण समयमा उडानअवतरण नहुने परिस्थिति आउँथ्यो। त्यो बेलामा हामी ‘एयरलक’ भएर बस्नुपर्ने अवस्था आउने थियो। त्यो बेलामा नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारमाथि गम्भीर प्रश्नहरु उठ्थे।

त्यति मात्रै होइन त्यो बेलामा प्रत्येक नागरिकले हामीलाई सराप्थे। हामीले यही एयर ट्राफिक फोरकाष्ट हेरेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाएका हौं। अहिले हामी अमेरिकामा ठूला र फराकिलो सडक देख्छौं। त्यहाँ गाडी धेरै कम तर सडक धेरै फराकिलो देख्छौं। त्यो सडक अहिलेलाई हेरेर मात्रै बनाइएको होइन। उनीहरुले ४० वर्षपछिको अवस्था हेरेर बनाएको सडक हो। त्यहाँ कुनै नागरिक र बुद्धिजिवीले सडक फराकिलो बनाएर पैसा खेर फाल्यो भनेर सरकारलाई सरापेका छैनन्।

सडक फराकिलो हुँदा समयमै काम गर्न पाएर र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा बहस हुन्छ। हामीले पोखरा विमानस्थल बनाउँदा २१ अर्ब खर्च गर्‍यौं। त्यो पूर्वाधार बन्दा कुल गार्हस्थ उत्पादनमा योगदान दिएको छ। त्यो विमानस्थल संचालनमा आएसँगै अर्थतन्त्रमा त्यसको योगदान अझ धेरै हुन्छ। यी विषयमा वहस हुँदैन। तर कुनै पूर्वाधार बन्नेवित्तिकै नकारात्मक धारणा बनाउन भने हामी तयार भइहाल्छौं। हाम्रो समाज नै नकारात्मकमा रमाउन चाहन्छ भन्ने यही घटनालाई हेरे पुग्छ।

दोस्रो यो विमानस्थल बनाउन लिएको २१ अर्ब ऋण तिर्न सक्दैन भन्ने जुन हल्ला फिँजाइएको छ। त्यो असत्य छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वार्षिक २० अर्ब रुपैयाँ आम्दानी गर्छ। आम्दानीवापत एक अर्ब रुपैयाँ सरकारलाई आयकर मात्रै तिर्छौं। त्यति मात्रै होइन सरकारलाई हामीले दुई अर्ब रुपैयाँ लाभांश नै दिन्छौं। हाम्रो सबै विमानस्थलको संचालन खर्च ६ अर्ब रुपैयाँ छ। हामीसँग १० अर्ब रुपैयाँ बाँकी रहन्छ।

त्यसमा पनि पोखराको आन्तरिक विमानस्थलले वार्षिक ५० करोड रुपैयाँ कमाउँछ। हामीले अहिले चीनको एक्जिम बैंकलाई १० करोड रुपैयाँ मात्रै तिर्नुपर्छ। सात वर्षपछि हामीले झण्डै किस्ता र ऋण एक अर्ब रुपैयाँ वार्षिक तिर्नुपर्छ। सात वर्षपछि अहिले भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नै एक अर्ब रुपैयाँ कमाउँछ।

 त्यसका लागि अन्तर्राष्ट्रिय उडान नै आवश्यक पर्दैन्। अहिले न्यारोबडी मात्रै चल्छ, भौगोलिक अवस्थाका कारण यो विमानस्थल सेतो हात्ती भयो भन्ने अनावश्यक टिकाटिप्पणी गरेर विवादमा ल्याउने काम गरिएको छ। हाम्रो ब्यालेन्ससीटमा कुन विमानस्थलको कति आम्दानी छ भनेर हेरे पुग्छ। हामीले अहिले विमानस्थल बनाउन लिएको ऋणका तर्न अन्तबाट वा अरुसँग हात थाप्न पर्दैन्।

अहिले पनि हामीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको ब्याज तिरिरहेका छौं। हामीले विमानस्थल बनाउँदा लिएको ऋण तिर्न सक्षम छौं। यो ऋण तिर्न कुनै समस्या छैन। प्राधिकरणमाथि विश्वस्त भए हुन्छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण हामी तिर्न सक्छौं।

जनताले दिएको पैसाले जनता लाभान्वित हुनुपर्छ भन्ने मान्यताका साथ प्राधिकरणले निश्चित योजना बनाएर काम गरिरहेको छ।

हामीले वार्षिक रुपमा आम्दानी गरेको पैसा बैंकमा राखेर ब्याज खाएर बस्ने होइन। त्यसैले हामी अब निजगढ विमानस्थल पनि बनाउनेतर्फ अगाडि बढ्नुपर्छ। यति मात्रै होइन भरतपुर, विराटनगर र नेपालगंजका विमानस्थललाई अत्याधुनिक बनाउने काम तीब्र रुपमा अगाडि बढ्छ। विमानस्थलको सुधार र स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको सेवा दिने हो।

राम्रो विमानस्थलमा सेवा पाउनु नागरिकको अधिका पनि हो। हामीले आन्तरिक यात्रुलाई विश्वस्तरीय सेवा दिन्छु भन्दा यहाँ कोकोहोलो गर्ने काम भएको छ। प्राधिकरणका पूर्व महानिर्देशकले समेत यो विमानस्थलका बारेमा असहमति राखेको पढे। उहाँहरुले नै विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुभएको हो।

मलाई नै उहाँहरुले आयोजना प्रमुख तोकेर त्यहाँ बनाउन पठाउनु भएको हो। अहिले आएर विवादित कुरा गर्न उहाँहरुले सुहाउँछ ? पदमा बस्दा एउटा कुरा गर्ने र निस्किएपछि बल्ल मेरो आँखा खुल्यो भन्न कुन नैतिकताले दिन्छ ?

सरकारी कर्मचारीबाट विमानस्थल चल्दैन

हामीले अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार बनायौ। तर यो पूर्वाधार अनुसारको सेवा भने हाम्रो अहिलेको संरचनाबाट सम्भव छैन। सरकारी कर्मचारी र निजी क्षेत्रको कर्मचारीमा आकाशजमीनको फरक छ। सरकारी कर्मचारी भनेको १०-५ बजेको अवधारणमा चल्छन्। त्यो भन्दा बढी समय काम गर्नुपर्‍यो भने अतिरिक्त भत्ताको कुरा आउँछ।

हामी पूर्वाधार निर्माणमा क्षमता प्रमाणित गरेका छौं। तर सेवामा भने धेरै नै कमजोर छौं। अहिले पनि नयाँदिल्ली विमानस्थल जीएमआरले व्यवस्थापन गरेपछि त्यहाँको सेवामा कति धेरै परिवर्तन भएको छ।

त्यो सरकारी संरचनाबाट संचालन भएको भए सेवा गुणस्तर हुनै सक्दैन्थ्यो। त्यही भएर यो विमानस्थल संचालनको जिम्मा भने निजी क्षेत्रलाई दिनैपर्छ। हामीले यसमा भने तत्कालै निर्णय गर्नैपर्छ। होइन भने पूर्वाधार विश्वस्तरको हुने तर सेवा भने निम्नस्तरको हुने अवस्था आउँछ। हामीले तत्कालै सार्वजनिक निजी साझेदारी अवधारणमामा तत्कालै ग्लोबल विडिङ गरेर यी दुई विमानस्थल संचालनको जिम्मा लगाउनै पर्छ।

(अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हुन्)