BIZMANDU
www.bizmandu.com

नेपालबाट कफी निर्यात बढाउन के गर्नुपर्छ ? सरकार र दाताको सहयोगमा दिन थालियो तालिम

२०७९ पुष १८

नेपालबाट कफी निर्यात बढाउन के गर्नुपर्छ ? सरकार र दाताको सहयोगमा दिन थालियो तालिम
नेपालबाट कफी निर्यात बढाउन के गर्नुपर्छ ? सरकार र दाताको सहयोगमा दिन थालियो तालिम

पोखरा। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उदेश्यसहित क्षमता विकास तालिम भएको छ।

Tata
GBIME
Nepal Life

सरकार र विदेशी दातृ निकायको सहयोगमा पोखरामा भएको तालिममा गण्डकी र लुम्बिनी प्रदेशका साना तथा मझौला ३० कफी व्यवसायी सहभागी छन्। सन् २०२६ सम्म अतिकम विकसित मुलुकमा स्तरोन्नति हुने प्रयासमा रहेकाले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै यो तालिम गरिएको हो।

नेपाली कफी व्यवसायीहरूको निर्यात क्षमता बढाउन इयु नेपाल टीआइपीले युरोपेली संघ र संयुक्त राज्य अमेरिकालाई लक्षित गरी निर्यात सहजीकरणका दुईवटा छुट्टा छुट्टै गाइडहरू पनि तयार पारेको छ।

आइटीसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन्। यी गाइडहरूले नेपाली निर्यातकर्ताहरूले ती दुबै गन्तव्यमा कफी निर्यातका लागि अपनाउनुपर्ने प्रकृयता र पालना गर्नुपर्ने मापदण्डहरु छन्।

तालिम कार्यक्रममा उद्योग सचिव तोयम रायले व्यवसायीहरूले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखित रूपमा जनाकारी दिन आग्रह गरे। उनले अन्तर्राष्ट्रिय बजारको माग र गुणस्तर अनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनु पर्नेमा जोड दिए। मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको बताउँदै उत्पादन र निर्यात प्रवर्द्धनमा दातृ निकाय, व्यवसायी र सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताए।

टीइपीसीका कार्यकारी निर्देशक शरद विक्रम राणाले सरकारी निकाय, दातृ निकाय र व्यवसायीहरूबीच अन्तरकृया मार्फतकफी क्षेत्रका समस्या समाधानको लागि उपाय खोजिनुपर्नेमा जोड दिए। उनले नेपाली कफी १७०० प्रति किलोमा निर्यात हुने गरेपनि आयात ३९१ प्रति किलो हुने गरेको जानकारी दिए। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा वार्षिक ३५५ टन उत्पादन हुने गरेको छ ।

युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मीम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगेपछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतिहरूको सामना गरी निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए।

इयु टीआइपी/ आइटिसीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताहरूको उत्पादन क्षमता बढाउन खोजिएको बताए।

कफी उत्पादक महासंघका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भएपनि हाल २६०० हेक्टरमात्र खेती भइरहेको जानकारी दिए दिए।