BIZMANDU
www.bizmandu.com

मेटाले क्याम्ब्रिज एनालिटिकासँग जोडिएको चर्चित मुद्दा हार्‍यो, ‘गोपनीयताको हकमा फैसला’

२०७९ पुष ८

काठमाडौं। फेसबुकको माउ कम्पनी मेटाले आफूविरुद्ध दायर भएको मुद्दाको छिनोफानो गर्न ७२ करोड ५० लाख अमेरिकी डलर तिर्न सहमत भएको छ।

Tata
GBIME

सन् २०१८ मा क्याम्ब्रिज एनालिटिका लगायत तेस्रो पक्षहरूलाई प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी पहुँच गर्न अनुमति दिएको आरोप लगाउँदै मेटाविरुद्ध क्लास-एक्सन मुद्दा दायर भएको थियो।

सन् २०१८ मा फेसबुकले बेलायती राजनीतिक परामर्शदाता फर्म ‘क्याम्ब्रिज एनालिटिका’लाई ८ करोड ७० लाख प्रयोगकर्ताहरूको डेटा पहुँच गर्न अनुमति दिएको थियो। यही विषयमा नै मुद्दा दायर भएको थियो। त्यही समयदेखि चलिरहेको मुद्दा बिहीबार साँझ अदालतमा दायर गरिएको उक्त प्रस्तावित सम्झौताले टुंगोमा पुग्ने छ।

वकिलहरूले यस प्रस्तावित सम्झौतामा उल्लेखित मेटाले क्लास-एक्सन मुद्दा सुल्झाउनको लागि तिरेको सबैभन्दा बढी रकम भएको बताए।

‘यो ऐतिहासिक सम्झौताले यस जटिल र गोपनीयता मुद्दामा अर्थपूर्ण राहत प्रदान गर्नेछ,’ मुद्दाका प्रमुख वकिलहरू डेरेक लोजर र लेस्ले वीभरले संयुक्त वक्तव्यमा भने।

यद्यपि, मेटाले अझै पनि सम्झौताको अंशको रूपमा गल्ती स्वीकार गरेन, जुन सनफ्रान्सिस्कोमा संघीय न्यायाधीशको स्वीकृतिको विषय हो। मेटाले एक विज्ञप्तिमा यस सम्झौता ‘हाम्रो समुदाय र सेयरधनीहरूको हितमा रहेको’ बताएको छ।

‘गत तीन वर्षहरूमा हामीले गोपनीयताको लागि हाम्रो दृष्टिकोणलाई परिमार्जन गर्‍यौं र एक व्यापक गोपनीयता कार्यक्रम लागू गर्‍यौं,’ मेटाले भन्यो।

हाल बन्द रहेको क्याम्ब्रिज एनालिटिकाले  सन् २०१६ मा डोनाल्ड ट्रम्पको सफल राष्ट्रपति अभियानको लागि काम गरेको थियो। र मतदाता प्रोफाइल र लक्षित गर्ने उद्देश्यका लागि लाखौं फेसबुक खाताहरूबाट व्यक्तिगत जानकारीमा पहुँच प्राप्त गरेको थियो। क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताहरूको सहमति बिना नै यो जानकारीहरु लिएको थियो।

क्याम्ब्रिज एनालिटिका स्क्यान्डलले मेटाको गोपनीयता अभ्यासहरू, मुद्दाहरू र उच्च-प्रोफाइल अमेरिकी कांग्रेसको सुनुवाइमा सरकारी अनुसन्धानलाई बढावा दिएको थियो। त्यहाँ मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई सांसदहरूले र्‍याखर्‍याख पारेका थिए।

सन् २०१९ मा, फेसबुकले आफ्नो गोपनीयता अभ्यासहरूमा फेडरल ट्रेड कमिसनको छानबिनलाई समाधान गर्न पाँच अर्ब अमेरिकी डलर तिरेको थियो। त्यस्तै, युएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई १० करोड डलर तिरेको छ। (रोयटर्सबाट साभार)