काठमाडौं। चितवनमा शुक्रबार र शनिवार अटोमोबाइल्स ब्यवसायीहरुको संगठनको बृहत् भेला हुने भएको छ। भेलामा पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएसनका अध्यक्षलगायत अन्य पदाधिकारीहरु तथा नाडाका केन्द्रिय कार्य समितिबीच छलफल हुने छ।
आर्थिक क्षेत्रमा बसेर काम गरेकाहरु पनि सम्मेलनमा पुग्ने छन्। भेलामा अटोमोवाइल क्षेत्रको वर्तमान स्थिति सम्बन्धमा छलफल हुने छ।
कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एशोसिएशनहरुबीच नेपालको समग्र अटोमोवाइल क्षेत्रले वर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च ब्याज दरलगायतका विषयमा छलफल गर्ने छन्।
यसैगरी चालु पुँजी कर्जा लागु गरेको जोखिमभार र एलसी मार्जिनका विषयको सम्बन्धमा अटोमोवाइल व्यवसायीहरुले कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्ने पनि नाडाले जनाएको छ।
नाडाले मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मंसिर २२ गते काठमाडौंलगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो।
सो बृहत् छलफलमा सरकारले विगत ८ महिनादेखि पेट्रोलियम पदार्थबाट प्यासेन्जर सवारीसाधानको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नाडाको भनाइ छ।
यस्तै अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकाले आगामी दिनको कार्ययोजना र निष्कर्ष निकाल्ने व्यापक छलफल हुने नाडाको दाबी छ।
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा प्रस्तुति समेत दिने छन्।