BIZMANDU
www.bizmandu.com

प्रतिबन्ध हट्नुअघि मंसिरमा ७४ हजार थान मात्रै स्मार्टफोन भित्रियो, पुसदेखि सुधार हुने आशा

२०७९ पुष ७

प्रतिबन्ध हट्नुअघि मंसिरमा ७४ हजार थान मात्रै स्मार्टफोन भित्रियो, पुसदेखि सुधार हुने आशा
प्रतिबन्ध हट्नुअघि मंसिरमा ७४ हजार थान मात्रै स्मार्टफोन भित्रियो, पुसदेखि सुधार हुने आशा


काठमाडौं। सरकारले प्रतिबन्ध हटाउनुअघिको महिना मंसिरमा १ अर्ब ९ करोड ८२ लाख ३ हजार रुपैयाँबराबरको ७४ हजार ४२३ थान स्मार्टफोन आयात भएको छ। सरकारले यसबाट मंसिरमा २० करोड ५२ लाख ७० हजार रुपैयाँ भन्सार संकलन गरेको छ।

Tata
GBIME

भन्सार विभागको तथ्यांक अनुसार कात्तिकको तुलनामा मंसिरमा ३६ हजार ४५१ थान कम स्मार्टफोन आयात भएको छ। मूल्यले हिसाबले कात्तिकको तुलनामा मंसिरमा आयात ४७ करोड ८६ लाख १७ हजार रुपैयाँले कम हो। भन्सार संकलनका हिसाबले पनि कात्तिकको तुलनामा मंसिरमा ८ करोड ९० लाख ११ हजार रुपैयाँले कम रहेको भन्सार विभागको तथ्यांकमा देखिन्छ। 

आयात प्रतिबन्ध मंसिर मसान्तसम्म कायम रहने भएकाले धेरै व्यवसायीहरुले एलसी खोल्न नपाउँदा स्मार्टफोन आयातमा थप कमी आएको उनीहरुको भनाइ छ। पुस लागेसँगै एलसी खोल्ने तयारीमा रहेका व्यवसायीहरु भने राष्ट्र बैंकले बैंकहरुलाई एलसी खोल्नेबारे आवश्यक पत्राचार नगरिदिँदा अझै अन्योलमा छन्। 

सरकारले स्मार्टफोनमा लगाएको आयात प्रतिबन्ध मंसिर मसान्तपछि निष्क्रिय भएपनि राष्ट्र बैंकले एलसी खोल्न आवश्यक सहजीकरण नगर्दा फोन आयातमा समस्या परिरहेको व्यवसायीहरुले बताएका छन्। 

सरकारले विदेशी मुद्रा सञ्चितिमा गम्भीर असर परेको भन्दै गत वैशाखदेखि महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय ३ सय अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने स्मार्टफोन आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लगाइएको थियो।

साउनदेखि मंसिरसम्म भने ११ अर्ब २० करोड रुपैयाँ बराबरको ८ लाखभन्दा बढी थान स्मार्टफोन आयात भएको विभागको तथ्यांकले देखाउँछ। जसबाट सरकारले चालू आवको ५ महिनामा २ अर्ब रुपैयाँ बढी भन्सार संकलन गरेको छ।