BIZMANDU
www.bizmandu.com

नेपालमा दैनिक उडान गर्ने सलाम एयरलाइन्सको तयारी, एजेन्सीहरुलाई विविध विधामा सम्मान गर्‍यो

२०७९ पुष ६

काठमाडौं। सलाम एयरलाइन्सले नेपालस्थित विभिन्न ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ। यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा संचालित संस्था स्नेही काख नेपाललाई सहयोग समेत गरेको जनाएको छ। 

Tata
GBIME
NLIC

 कम्पनीले सन् २०२२ भित्र आफ्नो एयरलाइन्सको टिकट बिक्री गर्ने उत्कृष्ट १० नेपाली ट्राभल एजेन्टहरुलाई सम्मान गरेको हो ।

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यहरुमा सिजनल सेवा दिँदै गएको छ। नेपालमा पनि छिट्टै दैनिक उडान संचालन गर्ने कम्पनीले जनाएको छ ।

सलाम एयरलाइन्सले काठमाडौंमा एक कार्यक्रमबीच विविध विधामा उत्कृष्ट नतिजा ल्याउने ट्राभल एजेन्सीहरुलाई सम्मान गरेको हो।  

टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालिलाई कम्पनीले सम्मान गरेको हो।

त्यस्तै मस्ट इम्प्रुभ्ड रेभेन्यु कन्ट्रिब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालिले सम्मान पाएको छ।

हाइऐस्ट एन्सिलरी रेभेन्यु कन्ट्रिब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्सले पाएको छ।  त्यसैगरी राइजिङ स्टार बिधा अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिले अवार्ड जितेको छ।

सोही अवसरमा सलाम एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा संचालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था स्नेही काख नेपाललाई खाद्य सामाग्री तथा लत्ता कपडा पनि बितरण गरेको थियो।  

सलाम एयरलाइन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्सले उक्त कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले बिजेता ट्राभल्सहरुलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा राखेको बताए। आइएमई इन्टरनेशनल ट्राभल्स आइएमई ग्रुपद्वारा संचालित एक भगिनी संस्था हो।