BIZMANDU
www.bizmandu.com

सिजी ब्रुअरीको कारोबार साढे ४ अर्ब नाघ्यो, बिक्रीमा नेपाल आइस र मुस्ताङ बियरको दबदबा

२०७९ पुष ५

सिजी ब्रुअरीको कारोबार साढे ४ अर्ब नाघ्यो, बिक्रीमा नेपाल आइस र मुस्ताङ बियरको दबदबा
सिजी ब्रुअरीको कारोबार साढे ४ अर्ब नाघ्यो, बिक्रीमा नेपाल आइस र मुस्ताङ बियरको दबदबा

काठमाडौं। चौधरी समूहको सिजी ब्रुअरी नेपाल प्रालिले साढे ४ अर्ब बढीको कारोबार गरेको छ। नेपाल आइस, मुस्ताङसहित १० भन्दा बढी ब्राण्डका बियर उत्पादन गर्ने कम्पनीले २०२१/२२ मा ४ अर्ब ५४ करोड ५० लाख रुपैयाँ कारोबार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले २०२२ मा कुल ३८ लाख केस बियर बेचेको छ। देशभर ३०० डिलर र ५३ हजार रिटेलरमार्फत कम्पनीले बियर बिक्री गर्छ। कम्पनीले २०२१ र २०२२ दुई वर्ष लगातार कुल आम्दानीको ८० प्रतिशत हिस्सा नेपाल आइस र मुस्तार प्रिमियम स्ट्रङ बियरबाट आर्जन गरेको छ।

२०२२ मा कम्पनीले १५ लाख केस नेपाल आइस प्रिमियम र यसको स्ट्रङ भेरियन्ट बेचेको छ। मुस्ताङ प्रिमियम स्ट्रङ बियर भने कम्पनीले २०२२ मा १२ लाख ८० हजार केस बिक्री गरेको छ। २०२१ मा यो ११ लाख केस थियो।

कम्पनीले २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। २०२० मा २ अर्ब ४४ करोड ६० लाख रुपैयाँ, २०१९ मा ३ अर्ब ३७ करोड ६० लाख र २०१८ मा २ अर्ब ९९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीले १ अर्ब २६ करोड ३५ लाख रुपैयाँ बैकिङ कर्जाका लागि रेटिङ पाएको छ। १ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी एल ए माइनस र १ अर्ब २५ करोड ३५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए टु प्लस रेटिङ पाएको छ।   

सिजी ब्रुअरीमा सिजी फुड्स नेपाल प्रालिको सर्वाधिक ३८ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीको अध्यक्ष निर्वाण कुमार चौधरी हुन्।