BIZMANDU
www.bizmandu.com

कांग्रेस संसदीय दल नेताका लागि रस्साकस्सी: आज उम्मेदवारी दर्ताको कार्यतालिका, भोलि मतदान

२०७९ पुष ५

काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रक्रिया सुरु भइसकेको छ।

Tata
GBIME
NLIC

आज संसदीय दलको नेता छान्न दरखास्त दिनका लागि समय छुटाइएको छ। भोलि (पुस ६) गते संसदीय दलको नेता छान्न मतदान हुने संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।

आज संसदीय दलको नेता बन्न इच्छुक उम्मेदवारले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा गएर दरखास्त दिनसक्नेछन्।

कांग्रेसको संसदीय दलको नेतमा प्रतिस्पर्धा गर्न चाहनेले ५१ हजार रुपैयाँ दाखिल गरेर उम्मेदवारीका लागि दरखास्त दिनुपर्नेछ। हाल कांग्रेसमा संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको नाम चर्चामा छ।

यस्तो छ कार्यतालिका

कांग्रेसले संसदीय दलको नेता चयनको लागि हिजो कार्यतालिका सार्वजनिक गरेको थियो। जसमा आज बिहान दरखास्तका लागि समय छुट्याइएको थियो। तर, हिजो साँझ कार्यतालिकामा समय हेरफेर गरिएको छ।

संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिका अनुसार आज उम्मेदवार बन्न चाहनेहरुले दिउँसो २ बजेदेखि ३ बजेसम्म ५१ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन्। 

आज दिउँसो ३:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन र ३:३० बजेदेखि ४ बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी विरोध गर्नका लागि समय छुट्याइएको छ।

यस्तै, अपरान्ह ४:३० बजे दाबी विरोध उपर जाँचबुझ गरि उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेदवारले अपरान्ह ४:३० देखि ५:३० बजेसम्म आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन पाउनेछन्।

समितिले आज अपरान्ह ५:४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका जारी गरेको छ।

संसदीय दलको नेताका लागि भोलि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन तग गरिएको छ। मतदान सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा नै हुनेछ।