BIZMANDU
www.bizmandu.com

सीमामा नेपाली नक्कली नोटको बिगबिगीः भारतमा छापेर नेपालमा कारोबार, भारुको ग्राफ भने ओरालो


काठमाडौं। तीन दिनअघि भारतको बिहार सितामढी ग्राम पञ्चायत बस्ने २१ वर्षीय रमन कुमार पक्राउ परे। महोत्तरी जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ गरेको हो।

Tata
GBIME

जलेश्वर नगरपालिका-३ बस्ने एक व्यक्तिको घुम्ती पसलमा उनी नेपाली नक्कली नोट लिएर पुगेका थिए। उनले नेपाली नोटसँग भारतीय नोट साट्न खोजे। तर, उनले दिएको नेपाली नोटमा पसलेलाई शंका लाग्यो। त्यसपछि स्थानीयले रमनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए। प्रहरीले अनुसन्धान गर्दा उनले साट्न खोजेको नोट नक्कली भएको खुल्यो।

भारतीय व्यक्तिले नक्कली नेपाली नोट बोकेकाले भारतमा नै छापेर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

यसअघि पनि केही भारतमा बसेर त्यही नोट छापेर नेपालमा नक्कली नोट ल्याउने गरेका घटना बाहिरिएका छन्। त्यसैले पनि भारतबाट नेपालमा नक्कली नोट भित्रिने गरेको छ। त्यसो त नेपालमा नै पनि नक्कली नोट छापिने गरेका छन्।

भारतसँग सीमा जोडिएका जिल्लादेखि देशको संघीय राजधानी काठमाडौंसम्म नक्कली नोटका कारोबारी सक्रिय छन्। पछिल्लो समय तराईका भारतीय सीमावर्ती जिल्लामा नक्कली नोट भेटिन थालेका छन्।

गत असोजको २१ गते बाराको भारतीय सीमा क्षेत्रबाट प्रहरीले तीन जनालाई पक्राउ गर्न सफल भयो। ९ लाख नक्कली नोट सहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो। भारतको मोतीहारी पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया समातिए।

उनैको बयानको आधारमा प्रहरीले कलैया बस्ने सैनुल्लाह अन्सारी र सिम्रौनगढ बस्ने बिना मुखिया बिनलाई समात्न सफल भयो। बिन यसअघि पनि नक्कली नोट कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेर अदालतमा मुद्दा दर्ता भएको खुल्यो। उनी ३ लाख १ हजार नक्कली नोट कारोबारमा संलग्न थिए।

यो समूहले लामो समयदेखि नेपालमा नक्कली नोटको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। उनीहरूको मुख्य योजनाकार भारतीय नागरिक भएको खुल्यो। त्यसपछि भारतीय प्रहरीलाई दिएको सूचनाको आधारमा उनी भारतमा नै पक्राउ गरेको बाराका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटी बताउँछन्।

'भारतको सितामढीमा नोट छापेर नेपाल ल्याउने गरेको देखियो। मुख्य योजनाकार भारतीय नागरिक भएकाले उतै समातेर भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ,' एसपी बोगटीले भने।

नेपालमा समातिएका तीन जनलाई भने जिल्ला अदालत बाराले पुर्पक्षको लागि थुनामा पठाएको छ। प्रहरीको अनुसन्धानमा भारतीय नागरिकको योजनामा पाँच वर्षदेखि नेपालमा नक्कली नोटको कारोबार भएको खुलेको छ। भारतीय नागरिकले पाँच वर्षको अवधिमा १५ करोड रुपैयाँभन्दा बढी सम्पत्ति जोडेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ।

भारतीय नागरिकले नेपालमा बजारसम्म नोट पुर्‍याउनका लागि नेपाली युवालाई प्रयोग गर्दै आएका छन्। यस बापत उनीहरूलाई केही कमिसन दिने गरेको देखिएको छ।

गत कात्तिक अन्तिम साता रौतहटमा प्रहरीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको थियो। रौतहटको मौलापुर-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली एक हजार रुपैयाँ दरको ८७ थान नक्कली नोटसहित उनीहरु पक्राउ परेका थिए। अनुसन्धान गर्दै जाँदा सो समूहसँग पेस्तोल समेत बरामद भएको थियो।

गएको असोज दोस्रो साता सिरहामा नक्कली नोटसहित एक युवक समातिए। कल्याणपुर-११ स्थित बजारबाट १ हजार दरको ५ वटा नक्कली नोटसहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जीवछ कामतीलाई प्रहरीले पक्राउ गरेको थियो।

नक्कली नोटमा पक्राउ परेकाहरूलाई धरौटीमा मात्र रिहा गर्दा अभियुक्त पुनः सोही कारोबारमा लाग्ने गरेको प्रहरीको आरोप छ। नक्कली नोटमा पक्राउ परेका अधिकांशको आपराधिक पृष्ठभूमि पाइन्छ। जसमा अघिल्ला घटनामा पनि नक्कली नोटसँग जोडिएका छन्।

'सजाय पाएर छुटेपछि पनि सोही प्रकृतिको अपराधमा नै आबद्ध भएको देखियो। ९ लाख प्रकरणमा जोडिएका अभियुक्तको अघिल्लो अपराध पृष्ठभूमि पनि त्यही नै हो,' एसपी बोगटीले भने।

जाली नोट कारोबारी बढ्दो

पछिल्लो केही महिनायता भारतीय सीमा जोडिएका तराईका जिल्लाहरूमा जाली नोटका कारोबारी सक्रिय भएको देखिएको छ। प्रहरीले पक्राउ गरेका व्यक्तिको संख्या हेर्दा पनि प्रत्येक वर्ष बढ्दै गएको छ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई महिलासहित ४७ जना नक्कली नोट कारोबारमा समातिएका थिए। आर्थिक वर्ष २०७७/७८ मा यो संख्या ४४ पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा ७९ पुग्यो। यो बाहेक १५ जना विदेशी नागरिक पनि समातिए।

गएको आर्थिक वर्षमा देशभरबाट ४ करोड २३ लाख ३४ हजार रुपैयाँ अवैध नोट बरामद भयो। जसमा ३ करोड ७८ लाख  १ हजार ६ सय ३३ रुपैयाँ नक्कली नोट बरामद गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी टेकप्रसाद राईले जानकारी दिए। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ४ करोड ५९ लाख रुपैयाँ नक्कली नोट भेटियो। जसमा २५ वटा मुद्दा दर्ता भए।

आर्थिक वर्ष २०७६/७७ मा ४१ वटा मुद्दा संख्या पुगेको थियो। तराईका जिल्लामा नक्कली नोटको कारोबार बढ्नुमा भारतीय नागरिकको संलग्नता भएको देखाउँछ। तर कोरोनापछि एक्कासि नक्कली नोटको कारोबार मैलाउनुले देशमा देखिएको आर्थिक अवस्थादेखि ठगी र अपराधका अन्य कोणलाई पनि इंगित गरेको सुरक्षा अधिकारीहरु बताउँछन्।

भारत आक्रामक बन्दा भारतीय नोटको कारोबार ठप्प !

भारतीय नक्कली नोटका कारोबारी नेपालमा मारिएका छन्। जसको पछिल्लो उदाहरण काठमाडौंको कागेश्वरी मनहरा-८ गोठाटारमा मारिएका सर्लाही गोडैता-२ घर भएका ५८ वर्षीय लाल महम्मद दर्जी हुन्। त्यसो त  भारतीय नक्कली नोटमा जोडिँदै आएका युनिस अन्सारीको पनि हत्याको प्रयास भएको थियो।

उनी पछिल्लो समय २०७६ जेठमा ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका थिए। यसरी भारतीय नक्कली नोटमा संलग्नहरूलाई नेपालमा नै छिरेर हत्या भएका धेरै घटना छन्। जसको कारणले पनि होला पछिल्लो समय नेपालमा भारतीय नक्कली नोटको कारोबार ठप्पझैँ छ।

नेपालमा भारतीय नक्कली नोटको कारोबार गर्नेको नेटवर्क ब्रेक भएकाले पनि कारोबारमा कमी आएको हुनसक्ने पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

'कारोबार गर्नेहरु केही जेलमा छन्, केही मारिए पनि यसले गर्दा धेरै नेटवर्क ब्रेक भएको छ,' पूर्व डीआइजी ठकुरीले भने।

आर्थिक वर्ष २०७६/७७ मा १८ लाख भारतीय रुपैयाँ बरामद भएको थियो। तर आर्थिक वर्ष २०७७/७८ मा यो परिमाण घट्यो। १ लाख १५ हजार ५ सय भारतीय रुपैयाँ मात्र बरामद भएको।

आर्थिक वर्ष २०७८/७९ मा ३ लाख ७८ हजार ९ सय भारतीय नक्कली नोट बरामद भएको नेपाल प्रहरीले जानकारी दिएको छ। यसरी तीन वर्षको भारतीय नोट बरामदी संख्या हेर्दा नक्कली नोट कारोबार घटेको छ।

'भारतीय नक्कली नोट कारोबारीलाई भारतले नै मान्छे लगाएर भए पनि हत्या गरेको छ। जसको डरले अहिले भारतीय नक्कली नोट कारोबार छैन। तर हाम्रो देशमा कुनै स्पष्ट नीति देखिएन,' एक उच्च प्रहरी अधिकृतले भने।