BIZMANDU
www.bizmandu.com

चर्को ब्याजदरविरुद्ध अटो व्यवसायीको धनगढीमा पनि विरोध प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापन

२०७९ पुष ४

काठमाडौं। चर्को ब्याजदरविरुद्ध अटो व्यवसायीहरुले धनगढीमा पनि विरोध प्रदर्शन गरेका छन्।

Tata
GBIME
NLIC

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सुरु गरेको चर्को ब्याजदरविरुद्धको आन्दोलनमा नाडाको सुदूरपचिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले पनि धनगढीमा मुख्यमन्त्रीको कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।

नाडाले मंसिर २२ गते राष्ट्र बैंकले लागु गरेको नयाँ नियम र बैंकहरुले बढाएका ब्याजदरविरुद्ध प्रदर्शन गरिरहेका छन्। नाडाले यसलाई देशव्यापी आन्दोलनको रुपमा अगाडि सारेको छ। यसै अन्तर्गत त्यस एसोसिएसनले पनि विभिन्न माग लेखिएको प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो।

सरकारले विगत ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि बैंक तथा वित्तीय संस्थाले चर्को पारेको ब्याजदरको कारण अटोमोबाइल व्यवसायमा संकट आएको उनीहरुको भनाइ छ।

एसोसिएसनका अध्यक्ष पुष्कर ओझाले नेपालको अटोमोबाइल व्यवसायलगायत देशको समग्र उद्योग व्यावसाय नै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीले ब्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको बताए। उनीहरुले हालको ब्याज तथा प्रिमियम दरलाई तत्काल नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्ने जस्ता माग राख्दै धर्ना गरिरहेका छन्।

एसोसिएसनले आइतबार नेपाल राष्ट्र बैंकका निर्देशक मार्फत नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र समेत बुझाएको छ।