BIZMANDU
www.bizmandu.com

बलम्बु- कलंकी फ्लाइओभर निर्माणमा अर्थमन्त्रालयको वेवास्ता, ५ महिनादेखि फाइल अड्कियो

२०७९ पुष ३

बलम्बु- कलंकी फ्लाइओभर निर्माणमा अर्थमन्त्रालयको वेवास्ता, ५ महिनादेखि फाइल अड्कियो
बलम्बु- कलंकी फ्लाइओभर निर्माणमा अर्थमन्त्रालयको वेवास्ता, ५ महिनादेखि फाइल अड्कियो


काठमाडौं। बलम्बु- कलंकी फ्लाइओभर निर्माणमा अर्थमन्त्रालयले वेवास्ता गरेको छ। केही महिना अगाडि बलम्बुदेखि कलंकीसम्म फ्लाइओभर निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न जापानलाई प्रस्ताव गरिने निर्णय भएको थियो। 

Tata
GBIME

नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा आएपछि सवारी जामको समस्या बलम्बु-कलंकी हुने भएकाले फ्लाइओभर निर्माण गर्न नागढुंगा सुरुङमार्ग आयोजना र भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको थियो।

त्यसपछि यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई सम्भाव्यता अध्ययनका लागि जापानलाई नै दिनु उपयुक्त हुने ‘ब्रिफिङ’ गरेको थियो। फ्लाइओभरको अध्ययन सुरुङमार्ग निर्माण गरिरहेको जापानी कम्पनीलाई प्रस्तावका लागि अर्थमन्त्रालयलाई जिम्मेवारी दिएको थियो।

सो फाइल ५ महिना अगाडिनै अर्थमन्त्रालयमा पेश भएपनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन। जापानी कम्पनीलाई सम्भाव्यता अध्ययनका लागि प्रस्ताव गरेको फाइल अर्थमन्त्रालय पठाइएको विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलको भनाइ छ।

'अहिलेसम्म केही प्रक्रिया अगाडि बढाइएको छैन,' उनले बिजमाण्डूसँग भने, 'अर्थमन्त्रालयबाट सबै प्रक्रिया सुरु गरेपछि यसमा जापानी कम्पनीले निर्माण गर्छ वा गर्दै भन्ने कुरा निश्चित भएपछि मात्र आयोजनाको काम सुरु गर्न सकिन्छ। स्रोत-सुनिश्चिता अर्थमन्त्रालयले गर्ने हो। हामीले कार्यन्वयन मात्र गर्ने हो।'

उनका अनुसार यो आयोजना निर्माण अघि नबढे समस्या हुनेछ। 'सुरुङमार्ग निर्माण सकिन हुन अब धेरै समय बाँकी छैन,' उनले भने, 'सुरुङमार्ग संचालनमा आएपछि त्यस क्षेत्रको ट्राफिक जाम बढ्छ। त्यसपछि अर्को समस्या खडा हुनेछ। त्यसैले यो फ्लाईओभरको काम छिटो गर्न आवश्यक भएको छ।'

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले प्रमुख नरेशमान शाक्यको नेतृत्वमा फ्लाइओभरको सानो सर्भे गरेको थियो। सर्भे अनुसार बलम्बुदेखि कलंकीबिचको दुरी करिब ५ किलोमिटर छ। जसमा ४ किलोमिटर फ्लाइओभर बनाए पुग्छ। आयोजनाका अनुसार बिचबिचमा एक किलोमिटर सडक विस्तार गर्न उपयुक्त हुनेछ। आयोजनाले अहिले भइरहेको सडकमाथि नै फ्लाइओभर निर्माण गर्न सकिने अध्ययनमा थियो।

आयोजनाका पूर्व प्रमुख शाक्यले फ्लाइओभर निर्माणको अवधारणा अघि सारेका थिए। शाक्यको पालामा यसको प्रारम्भिक सम्भाव्यता अध्ययन अगाडि बढाउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार सो योजनालाई भौतिक र अर्थमन्त्रालयमा पठाइएको थियो।

 फ्लाइओभर निर्माण करिब १३ अर्ब रुपैयाँ लाग्ने र तीन वर्षमा तयार हुने अनुमान छ। अहिले आयोजनाले बलम्बुको जग्गा अधिग्रहण गर्दा ५२ लाख रुपैयाँ प्रति आना तिर्नुपरेको छ। ३० लाख रुपैयाँ मिटरमै फ्लाइओभर निर्माण गर्न सकिने शाक्यले गरेको सर्भेले देखाएको थियो।