BIZMANDU
www.bizmandu.com

वीरगंजमा भन्सार छली अवैध सामान भित्रिने क्रम बढ्दो, प्रहरीले छापा मार्दा २१ लाखको चामल बरामद

२०७९ पुष ३

वीरगंज। वीरगंजमा भन्सार छली गरी अबैध रुपमा तस्करी गरी भित्र्याइएको ठूलो परिमाणको सामान बरामद भएको छ ।

Tata
GBIME
NLIC

पर्साको वीरगंजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पूर्व सूचनाको आधारमा करिब २१ लाखभन्दा बढीको चामल र अन्य सामान बरामद गरेको हो । शुक्रबार प्रहरीले वीरगंज ११ रानीघाटमा छापा हानी ती सामान बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी गराए ।

पर्सा प्रहरीका प्रवक्ता समेत रहेका गिरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक द्वय धीरजप्रताप सिंह र राजु अर्यालले केही दिन अघि वीरगंज आएर राजस्व चुहावट भैरहेकोमा गम्भीर भइ काम गर्न निर्देशन दिएका थिए ।

वीरगंज उद्योग वाणिज्य संघको एक कार्यक्रममा दुबै महानिरीक्षकहरुले यस्तो निर्देशन दिएलगतै पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता बढाएको हो।

भारतको रक्सौलमा खद्यान्नका चामल, तेल, चिनी, रजनीगन्धालगायत सामान सस्तो पर्ने भएकोले भारतबाट तस्करीको बाटोबाट भित्र्याइ वीरगंजको रानीघाट, मिनाबजार, आदर्शनगर, छपकैया, बाइपासलगायत ठाउँमा ठूलो परिमाणमा लुकाइएको प्रहरीमा सूचना पुगेको थियो ।

सोही अनुरुप नेपाल प्रहरी मातहतको वडा प्रहरी कार्यालय विर्ताका प्रहरीको संयुक्त टोली पुग्दा पसलेहरु पसल बन्द गरी भागेका थिए ।

दुई सयजना सुरक्षाकर्मीको टोलीले रानीघाटको चारवटा खाद्यान्न पसलको गोदाममा छापा हानी २५ किलोको विभिन्न भारतीय ब्रान्डको १ हजार १ सय २२ बोरा (२८१ क्विन्टल) चामल, १० क्विन्टल मैदा, हैन्डवास, स्प्रे, सर्जिकल सामान २–२ कार्टुन, हार्पिक ९ कार्टून गरी कुल  २१ लाख १४ हजार ६ सय रुपैयाँ बराबरको समान बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएको सामान वीरगंज भन्सार पठाइएको प्रहरीले जानकारी दिएको छ।