काठमाडौं। जगदुल्ला जलविद्युत कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला 'ए' जलविद्युत आयोजनाको वातावरणीय अध्ययन (इआइए) प्रतिवेदनको जिम्मा इआएमसी/श्रेष्ठ/ ग्रीड जेभीलाई दिएको छ।
बिहीबार १८ महिनामा प्रतिवेदन तयार पार्ने गरि इआएमसी/श्रेष्ठ/ ग्रीड जेभीसँग सम्झौता भएको आयोजना प्रमुख संजय सापकोटाले बताए। उनका अनुसार करिब ९६ लाख रुपैयाँमा सम्झौता भएको हो।
कम्पनीले सेप्टेम्बर ३० मा आयोजनाको इआइए अध्ययनका लागि ग्लोबल बोलपत्र आह्वान गरेको थियो। जसमा आवेदन दिएकामध्ये ८ वटा कम्पनी प्राविधिक प्रस्तावमा पास भएर सर्टलिष्टमा परेका थिए। क्लास-डीइसी जेभी, इआरएमसी-श्रेष्ठ-ग्रीड जेभी, आइटीइसीइओ-आरआइएमसी-सितारा जेभी, पिनेट-इएससी-श्रेया\जेभी,राजदेवी-जीईओसीई जेभी, सीपीएल-टीएमएस जेभी र उदय-प्यारागन-सिग्नेचर जेभी सर्टलिष्टमा परेका थिए। त्यसमध्ये सबैभन्दा कम कबोल गर्ने कम्पनी छनोट भएको हो।
यो आयोजना १०६ मेगावाटको अर्धजलाशययुक्त जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानी प्रयोग गर्ने क्यासकेड आयोजना हो। यो आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। आयोजनाका लागि करिब ७ किमी मुख्य सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। प्रतिवेदन अनुसार त्रिवेणीमा विद्युत गृह रहनेछ।
यो पनि अर्ध जलाशययुक्त नै हुनेछ। भने हेडवर्क्स निर्माण गरिरहन पर्दैन। माथिल्लो आयोजनाकै धेरै संरचनाहरु प्रयोग गर्ने हुँदा लागत समेत कम हुनेछ बताइएको छ। अध्ययन प्रतिवेदन अनुसार ६ घण्टामा पिकिङ दिन सक्नेछ। डोल्पाको जगदुल्ला नदीमा आयोजना प्रस्ताव गरिएको छ।
प्रसारणलाइनको पनि ठेक्का लाग्यो
१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माणका लागि सम्भाव्यता अध्ययनको ठेक्का सम्झौता भएको छ।इआरएसमी/उदय जेभीले ठेक्का पाएको हो। बिहीबार नै कम्पनीसँग सम्झौता भएको छ। १८ महिनामा अध्ययन सकेर प्रतिवेदन तयार पार्नुपर्नेछ। करिब ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोड्नका लागि करिब ४५ किमी प्रसारणलाइन निर्माण गर्नुपर्छ। आयोजनादेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनसम्म प्रसारणलाइन निर्माण गर्नुपर्छ। प्रसारणलाइनको सम्भाव्यता अध्ययनका लागि ३० सेप्टेम्बरमा बोलपत्र आव्हान भएको थियो। बोलपत्रमा आवेदन दिएकामध्ये प्राविधिक प्रस्तावमा ८ वटा कम्पनी छनोट भएको थियो।
एडीएमसी/डिजायर/सितारा जेभी, एइसीपीएल/ग्लोबल/ग्रीन प्लानेट जेभी, इआरएमसी/उदय जेभी, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड, जेड कन्सल्ट इन्जिनियरिङ लिमिटेड, मल्टी/अमित जेभी, आरआइएमसी/आइटीसिइओ/पिनेट जेभी, टिएमएस/सिपल जेभी सट लिष्टमा परेका थिए। सबैभन्दा कम कबोल गर्ने कम्पनी छनोटमा परेको हो।
यो आयोजना निर्माण पूर्व तयारीका कामहरु भइरहेको छ। एक्सेस रोड निर्माण,साइटमा कार्यालय राख्ने, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) लगायतका तयारीको कामहरु भइरहेको छ। आयोजनाको पीपीए नभएका कारण फाइनान्सिलय क्लोजर हुन सकेको छैन। आयोजना प्रमुख सापकोटाले विद्युत प्राधिकरणमा पीपीएका लागि आवेदन दिएर विभिन्न चरणमा छलफल भइसकेको बताए। उनका अनुसार छिट्टै सम्झौता हुनेछ भने ६ महिनामा पहुँचमार्ग निर्माण हुनेछ।
आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी हुनेछ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लिड गर्ने भएको छ। नबिल बैंकले सहवित्तीयकरणको नेतृत्व गर्नेछ भने हाइड्रो इलेक्ट्रीसिटी डेभलपमेन्ट एण्ड इन्भेष्टेम्नट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल) र कर्मचारी संचयकोष साझेदार रहने गरि प्रारम्भिक छलफल भएको छ।
निर्माण सुरु गरेको चार बर्षमा आयोजना निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ। आयोजनाको इआईए प्रतिवेदन अन्तिम चरणमा निर्माण भइरहेको छ। प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन गरिरहेको छ। दुई महिनामा तयार पार्ने लक्ष्य छ।
आयोजना डोल्पाको जगदुल्ला र मुडकेचुला गाउँपालिका हुदै बग्ने जगदुल्ला नदीमा निर्माण हुनेछ। हेडवर्क्स जगदुल्ला गाउँपालिका १ हुरिकोटमा प्रस्ताव गरिएको छ।
यो आयोजनाबाट बार्षिक करिब ६१५.३२ गिगावाट आवर विद्युत शक्ति उत्पादन हुनेछ। जगदुल्ला नदीको ७८६.६ मिटर हेड र १६.२ घनमिटर प्रतिसेकेण्डको पानीको वहाबलाई ६.२ किमी टनेलमार्फत डाइभर्ट गरी १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। आयोजनाले ६ घण्टा पिकिङ ऊर्जा दिन सक्छ।