BIZMANDU
www.bizmandu.com

प्रदूषण परीक्षणमा फेल हुने सवारीसाधनलाई पुस १ गतेदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने

२०७९ मंसिर २२

प्रदूषण परीक्षणमा फेल हुने सवारीसाधनलाई पुस १ गतेदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने
प्रदूषण परीक्षणमा फेल हुने सवारीसाधनलाई पुस १ गतेदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने

काठमाडौं। प्रदूषण जाँचपास नहुने सवारी साधनलाई पुस १ गतेदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। 

Tata
GBIME
Nepal Life

वातावरण विभागले बिहीबार एक सूचना निकाल्दै सवारीसाधनबाट निस्केको धुवाँले वायु प्रदूषण बढाएको भन्दै पुस १ गतेदेखि प्रदूषण जाँचपास नगरी चलाइएका गाडीलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ। सवारी प्रदुषण चेकजाँच गर्दा पास नभएका सवारी साधान सडकमा संचालनको गरिएको पाइएमा उक्त जरिवाना लाग्ने विभागको भनाइ छ।

विभागले हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढ्ने भन्दै यस्तो कदम चालिएको उल्लेख गरेको छ। गाडी मर्मत गरि तोकिएको मापदण्ड अनुसार जाँचपास गराएर मात्र सवारीसाधन संचालनमा ल्याउन दिने विभागले तयारी छ। वायु प्रदूषणको मुख्य कारकमध्ये सवारीसाधनबाट निस्केको धुवाँ रहेको विभागले जनाएको छ। साथै खुला रूपमा फोहोर जलाउँदा पनि धुवाँ निस्केको र त्यसले प्रदूषण बढाएको विभागको भनाइ छ।

विभागका अनुसार काठमाडौं उपत्यकाभित्र संचालन भइरहेका सवारीसाधनमध्ये धेरैमा धुवाँ निष्काशनको अवस्था अत्यन्त दयनीय छ। अर्थात् अधिकांश सवारीसाधन प्रदूषण जाँचपासमा फेल भएका छन्।

वातावरण विभागले त्यस्ता सवारीसाधनहरुलाई छड्के जाँच गरी कारवाही गर्ने चेतावनी दिएको छ। प्रदूषण जाँचपासका रुपमा जारी हुने हरियो स्टीकर वा अन्य स्टीकरको अवधि रहेको अवस्थामा पनि परीक्षण गर्दा फेल भए कारवाही हुने विभागको सूचनामा उल्लेख छ। निजी सवारीसाधनले एक वर्षमा र सार्वजनिक सवारीसाधनले ६ महिनामा प्रदूषण परीक्षण गराएर हरियो स्टीकर लिनुपर्ने कानूनी व्यवस्था छ।