BIZMANDU
www.bizmandu.com

सानिमा बैंकबाट बाहिरिँदै निरज गोविन्द श्रेष्ठ, बुधबार एकैदिन बेचे ५१ लाख कित्ता सेयर

२०७९ मंसिर २१

सानिमा बैंकबाट बाहिरिँदै निरज गोविन्द श्रेष्ठ, बुधबार एकैदिन बेचे ५१ लाख कित्ता सेयर
सानिमा बैंकबाट बाहिरिँदै निरज गोविन्द श्रेष्ठ, बुधबार एकैदिन बेचे ५१ लाख कित्ता सेयर

काठमाडौं। सानिमा बैंकका मुख्य संस्थापक निरज गोविन्द श्रेष्ठले सानिमा बैंकको ८ प्रतिशत सेयर बिक्री गरेका छन्। उनले आफ्नो स्वामित्वमा रहेको कुल ५१ लाख कित्ता सेयर बुधबार बिक्री गरेका हुन्। 

Tata
GBIME
Nepal Life

बैंकको कुल संस्थापक सेयरमध्ये उनले बिक्री गरेको सेयरको हिस्सा ८ प्रतिशत हुन्छ। सानिमाको सेयर संरचना अनुसार कुल सेयर स्वामित्वको ५१ प्रतिशत हिस्सा संस्थापकहरुको छ। कुल ६ करोड ३५ लाख ४६ हजार ५८८ कित्ता संस्थापकहरुको हो। 

अहिले सानिमाको चुक्ता पुँजी १२ अर्ब ४६ करोड एक लाख १४ हजार ९४४ रुपैयाँ छ। श्रेष्ठले १३१.४३ रुपैयाँका दरले कुल ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गरेका हुन्। यो कुल सेयर संरचना (साधारण र संस्थापक दुवै गरेर) को ४.०९ प्रतिशत हो। सो सेयर बेचे बापत उनले कुल ३ करोड ३५ लाख १४ हजार ६५० रुपैयाँ दीर्घकालीन पुँजीगत लाभकर तिर्नुपर्छ।

स्रोतका अनुसार सूर्या लाइफ इन्स्योरेन्सले श्रेष्ठबाट बैंकको पूर्ण स्वामित्व खरिद गरेको छ। सानिमा बैंकमा उनी तेस्रो सर्वाधिक संस्थापक सेयर स्वामित्व भएका सेयरधनी थिए। श्रेष्ठले बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत ६ वटा मुख्य कारोबारमार्फत सेयर हस्तान्तरण गरेका छन्। 

अधिकांश सेयर ४ नम्बर ब्रोकर ओपल सेक्युरिटिज मार्फत बिक्री भएको छ। खरिद पनि एउटै मात्र ब्रोकरबाट भएको देखिन्छ। ४९ नं ब्रोकर अनलाइन सेक्युरिटिजबाट सम्पूर्ण सेयर खरिद भएको छ।

श्रेष्ठ अधिकतम समय नेपाल बाहिर बस्ने गर्छन्। उनले केही समयदेखि सानिमासँगको स्वामित्व घटाउँदै लगेका थिए। सानिमा बैंकमा श्रेष्ठबाहेक सानिमा ग्रुपका संस्थापक अरुण कुमार ओझा, टेकराज निरौला र जीवनाथ लामिछाने लगायतका गैरआवासीय नेपालीहरुको लगानी छ। उनीहरुले पनि आफ्नो स्वामित्व क्रमश: घटाउँदै लगेका छन्।

कुल सेयर स्वामित्वको ८.३० प्रतिशत आफ्नो नाममा रहेको अरुण कुमार ओझाको आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म आइपुग्दा ७.९४ प्रतिशतमा सीमित छ। 

यो अघिल्लो चार आर्थिक वर्षमा घटेको सेयर स्वामित्व हो। टेकराज निरौलाको ७.४५ बाट ७.०९ प्रतिशतमा पुगेको छ। जीवनाथ लामिछानेको स्वामित्व यथावत छ। उनीसँग कुल सेयरको ५.५३ प्रतिशत छ।

श्रेष्ठ निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको तत्कालीन स्थानीय साझेदार थिए। २०७२ चैत मसान्तममा एनसेल बिक्री भएको थियो। कम्पनीको ८० प्रतिशत सेयर स्वीडेनको टेलियाले मलेसियाको आजियाटालाई बिक्री गरेको थियो भने स्थानीय साझेदार श्रेष्ठले २० प्रतिशत सेयर भावना सिंह श्रेष्ठलाई बिक्री गरेका थिए।

यससँगै श्रेष्ठले पछिल्लो समय नेपालमा आफ्नो नाममा रहेका सम्पत्ति बिक्री गर्दै लगेका छन्।