काठमाडौं। एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन्। एनसेल आजियाटाले शुक्रबारदेखि ई–सिमवितरण गर्न थालेको हो।
यो इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ।
यो भौतिक रुपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ। मोबाइल हराए वा चोरी भएमा यो सीम मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन। कम्पनीका अनुसार एसएमएसमार्फत ई सिममा अपग्रेड गर्न सकिन्छ।
ग्राहकले नागरिकता नम्बर,इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्छ। सिम चलाउनु अघि एनसेलका प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल आउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन ।
ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि सिम अपग्रेड गर्न सक्ने कम्पनीले जनायो। सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ सिम लिन सक्ने कम्पनीले जनाएको छ।
ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने/नचल्ने थाहा पाउन एस्ट्रिक्स ह्यास०६ ह्यास डायल गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ ।
आइफोनका पछिल्ला मोडलहरु आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा छ। त्यस्तै सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिपसिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमापनि ई–सिमको चल्ने सुविधा रहेको कम्पनीले जनाएको छ।
ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढी ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ।