BIZMANDU
www.bizmandu.com

४० अर्ब लागतमा बन्ने काँकडभिट्टा-लौकही खण्ड ठेक्का, यस्तो बन्नेछ सडक


४० अर्ब लागतमा बन्ने काँकडभिट्टा-लौकही खण्ड ठेक्का, यस्तो बन्नेछ सडक
४० अर्ब लागतमा बन्ने काँकडभिट्टा-लौकही खण्ड ठेक्का, यस्तो बन्नेछ सडक

काठमाडौं। पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वको झापा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तारमा चिनियाँ र भारतीय निर्माण कम्पनी इच्छुक देखिएका छन्। एसियाली विकास बैंकको आयोजना निर्देशनालय (एडीबी) ले ठेक्का आह्‍वान गरेको थियो।

Tata
GBIME
Nepal Life

निर्देशनालयका उप-आयोजना निर्देशक राकेश महर्जनका अनुसार यो सडक निर्माण गर्न ५ वटा प्याकेजमा ठेक्का आह्‍वान गरिएको थियो। जसमा पहिलो प्याकेज ४५ किलोमिटर सडक विस्तार गर्न तीनवटा निर्माण कम्पनीहरुको आवेदन परेको उनले बताए।

अर्को दोस्रो प्याकेजमा ४० किलोमिटर सडक खण्ड विस्तार गर्न चार वटा निर्माण कम्पनीहरुको आवेदन परेको छ। यसैगरी तेस्रो प्याकेजमा १०.५ किलोमिटरको सडक विस्तार गर्न पाँच निर्माण कम्पनी इच्छुक देखिएका छन्।

यस्तै चौथो प्याकेजमा पुल निर्माणको लागि ठेक्का आह्‍वान गरिएको छ। जसमा पहिलो ३ वटा आर्कब्रिज निर्माण गर्न गरिएको ठेक्कामा एउटा निर्माण व्यवसायीको मात्र आवेदन परेको छ।

महर्जनका अनुसार पाँचौ प्याकेजमा पनि तीन वटा पुल निर्माणका लागि दुई वटा निर्माण व्यवसायीको आवेदन परेको छ।

यो सडकको लम्बाइ लगभग ९५.५ किलोमिटर दुरीको छ। निर्माण कम्पनीले सम्झौता भएको ३ वर्षसम्ममा सडक तथा पुल निर्माण काम सम्पन्न गर्नुपर्ने महर्जनले बताए। 'निर्माण सम्पन्न भएको ५ वर्षसम्म सो सडकमा हुने सबै मर्मतसम्भारको कामको पनि जिम्मा लिनुपर्ने हुन्छ,' उनले भने, 'यस्तै यो सडक निर्माण गर्दा बजार क्षेत्रमा सर्भिस लेन पनि निर्माण गर्नुपर्ने हुन्छ।'

उनका अनुसार हाल ठेक्का आवेदन परेका निर्माण व्यवसायीहरुको प्राविधिक मूल्यांकन भइरहेको छ। प्राविधिक मूल्यांकन प्रक्रिया सम्पन्न भएपछि आर्थिक प्रस्ताव खोल्ने काम सुरु हुने महर्जनको भनाइ छ। 'त्यो सबै प्रक्रिया पुरा गर्न डेढदेखि दुई महिनाको समय लाग्छ। यसमा अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरुको आवेदन परेको छ,' उनले भने, 'त्यसैले सबैको विस्तृतरूपमा मूल्यांकन गर्नुपर्छ। यो सबै प्रक्रिया सकेर माघको अन्तिममा ठेक्का सम्झौता हुनेछ। त्यही अनुसार काम भइरहेको छ।'

उनका अनुसार आयोजनाले मुआब्जा वितरणको लागि स्वीकृति पर्खिरहेको छ। जग्गाको मुआब्जा दिइसकेको र केही संरचनाका लागि चार करोड रुपैयाँ मात्रै दिनुपर्ने देखिएको महर्जनले बताए। 

कुल ९५.५ किलोमिटरको हुने यो सडक खण्डको निर्माण लागत प्रति किमि करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ। यो लागत नेपालका अरु सडकभन्दा महँगो मध्येको हो। पुल र परामर्शदाताको शुल्कबाहेक भने सडकको निर्माणमा प्रति किमि खर्च साढे ३३ करोड रुपैयाँ हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ।

आयोजना प्रमुख सुशीलबाबु ढकालका अनुसार एडीबीले ३० करोड अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदर अनुसार करिब ३८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ। यो बाहेक नेपालले पनि सडक निर्माणमा कम्तिमा ७ अर्ब रुपैयाँ लगानी गर्नेछ।

योअन्य योजनाहरुमा समावेश छन्। जसमा पार्क निर्माण गर्नेदेखि स्थानीय सहर सुधारको कार्यक्रम पनि छ। ४० अर्ब सडक र पुल निर्माणको लागि खर्च गरिने छ भने ५ अर्ब रुपैयाँ भने अन्य योजनामा खर्च गरिने ढकालले बताए।

उनका अनुसार सडक विस्तारको कुल लागतमा परामर्शदाताको शुल्क, निर्माण कार्यको लागत लगायतका सबै खर्चहरु समावेश छ। यस्तै वातावरण मूल्यांकन तथा डिजाइनहरु लगायत परामर्शदाताका लागि २ अर्ब ८७ करोड रुपेयाँ लागत छुट्याइएको थियो। परियोजनाको ईआईएको काम सम्पन्न भइसकेको छ।

६ वटा आर्कब्रिज निर्माण गर्न १२ अर्ब लागत

यो सडक खण्डमा पर्ने ६ वटा पुल निर्माण हुनेछ। पहिलो खण्डमा निन्दा, बिरिङ  र कन्काई लगायत प्रमुख पुलहरु छन्। दोस्रो खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्‍वान गरिएको हो।

दुई वटा पुल निर्माणको प्याकेजमा लगभग १२ अर्ब लागत अनुमान गरिएको छ। एउटा पुल निर्माण गर्न लगभग २ अर्ब रुपैयाँ लाग्ने छ। एउटा प्याकेजमा ३ वटा पुल छन्।

६ वटै पुल ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुनेछ। यी पुलको लम्बाई ३ सय १८ मिटरदेखि ७ सय ३ मिटरसम्म हुनेछ। जसमा निन्दा पुल ३१८ मिटर, बिरिङ ३९८ मिटर, कन्काई ७०३ मिटर, रतुवा ५८२ मिटर, बक्राहा ३१८ र लोहन्द्रा पुल ३८४ मिटर लम्बाइका हुनेछन्।

यो सडकमा १० वटा आकाशे पुल र साना खालका अन्डरपास २० वटा निर्माण हुने डिजाइनमा छ।

यो आयोजना सडक विभाग, आयोजना निर्देशनालय एडीबी सासेक हाईवे इम्प्रुभमेन्ट प्रोजेक्ट-प्रोजेक्ट प्रिपाराटोरी कन्सल्टट्यान्ट अन्तर्गत सञ्चालित छ। यो सडक एसियाली मापदण्डको हुनेछ।

२०२६ सम्म यो सडक संचालनमा आउने

सडकको चौडाई २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ। सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५/२५ मिटर हुने छ। आवश्यकता अनुसार सडकमा ६ वटा पुल हुनेछ।

यो सडक खण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्छ। यो सडकमा चिया बगान, कृषि जमिन र वन समेत पर्छ। सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोसी राजमार्गलाई जोडेको छ।

काँकडभिट्टा-लौकही राजमार्गले ७१ वटा खोलाहरु पार गर्नुपर्नेछ। ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। जसमा ३९ आरसीसी टी-बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप पुल रहेका छन्। सर्भिस रोड पनि दुवै साइडमा निर्माण गरिनेछ। सहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ।

जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ पुल, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन्। सहरी क्षेत्रमा क्यारिज-वे चार लेनको दुवैपट्टि ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टि ५.५०/५.५० मिटरको निर्माण गरिनेछ। यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०/६.५० मिटरको छ। सहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ।

सडक बनाउँदा निर्माण कम्पनीले निर्माण सामाग्री स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने सर्त राखिएको छ। सडक निर्माणका बेला १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ।

आयोजनाका अनुसार यो सडक विस्तार कार्य २०२६ सम्ममा पूरा भएर संचालनमा आउनेछ। यो सडक परियोजनाबाट १२ लाखभन्दा जनसंख्या लाभान्वित हुनेछन्।

सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ। यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ।

यसैगरी यो आयोजनामा वन क्षेत्रबाट ४ हजार ३५३ र अन्य रोड साइडबाट ८ हजार १९५ वटा रुख काट्नु पर्नेछ।