BIZMANDU
www.bizmandu.com

स्थानीय कांग्रेसको असहयोग बाबजुद बाजी मारेका विनोद चौधरी, राजनीतिक उडानमा सफल होलान ?

२०७९ मंसिर ८

स्थानीय कांग्रेसको असहयोग बाबजुद बाजी मारेका विनोद चौधरी, राजनीतिक उडानमा सफल होलान ?
स्थानीय कांग्रेसको असहयोग बाबजुद बाजी मारेका विनोद चौधरी, राजनीतिक उडानमा सफल होलान ?

काठमाडौं। उद्योगपति विनोद चौधरी नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन्।

Tata
GBIME
Nepal Life

चौधरीले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीलाई ६ हजार मतान्तरले पराजित गरेका छन्। नवलपरासी-१ मा कांग्रेसका स्थानीय अगुवाको असहयोगका बाबजुद चौधरीले जनमत आफ्नो पक्षमा पारेका हुन्।

कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले खुलेरै चौधरीलाई असहयोग गरेका थिए। खनाल चौधरीको चुनावी कार्यक्रममा सहभागी पनि भएनन्। आफ्नो प्रभाव क्षेत्रमा कार्यक्रम गर्दा खनाल कांग्रेसका कार्यकर्तालाई नजान समेत उर्दी जारी गर्थे।

चुनावको केही दिन अघि पार्टीको कारवाहीबाट बच्न खनालले चौधरीलाई सहयोगको अपिलसहित विज्ञप्ति निकाले तर असहयोग भने गर्दै आएको स्रोतले बताएको छ। बर्दघाट बजार क्षेत्रमा खनालको राम्रो पकड थियो। त्यही भएर चौधरीलाई बर्दघाटबाट धेरै मत आएन।

तर सौभाग्यबश राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्रसेन ठकुरी उठ्दा चौधरीलाई फाइदा नै भयो। चौधरीसँग असन्तुष्ट रहेका कांग्रेसीले घण्टी चिन्हका ठकुरीलाई मत हाले। ठकुरी नउठेको भए असन्तुष्ट समूहले ह्रदयशलाई मत हाल्दा चौधरीलाई जित्न कठिन हुन्थ्यो।

 चौधरीका लागि यो निर्वाचन क्षेत्र नौलो थियो। चौधरी प्रत्यक्षतर्फ नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट उठ्न चाहेका थिए। तर त्यहाँबाट कांग्रेसका महामन्त्री शशांक कोइरालाले नै उम्मेदवारी दिने भए।

 त्यसपछि चौधरीका लागि झण्डै तीन दशकसम्म एकछत्र राज गरेका ह्रदयशसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो। चौधरीले उम्मेदवारी दर्ता गर्नु केही दिन अघि मात्रै निर्वाचन क्षेत्र पुगेर आफ्नो प्रचारप्रसार सुरु गरे।

 उनका लागि ठाउँदेखि स्थानीय बासिन्दासमेत नौला थिए। तर राजनीतिमा होमिने लक्ष्य लिएर हिडेका अर्बपति चौधरीले स्थानीयसँग धेरै चाँडै निकट सम्बन्ध बनाउन सफल भए।

सामान्य जनतासँग बसेर खाना खाए, भएको महँगो रेन्जरोभर थन्क्याएर बाइकमा हिडे। उनी मात्रै होइन चौधरीका जेठा छोरा निर्वाणदेखि श्रीमती सारिका पनि सँगसँगै चुनावी अभियानमा हिडे। त्यति मात्रै होइन चौधरीले निर्वाचन लडेका ठाउँमा उद्योग खोल्न कम्पनी दर्ता गरे।

र, चुनाव नजित्दै उद्योग शिलान्यासको तयारी गरे। तर प्रतिस्पर्धी ह्रदयशले निर्वाचन आचारसंहिताविरुद्ध हुने उजुरी दिएपछि केराबाट चिप्स बनाउने उद्योगको शिलान्यास रोकियो।

निर्वाचनमा आएका धेरै चुनौतिलाई तोड्दै चौधरी प्रतिनिधिसभामा चयन भएका छन्। उनले ३० वर्षको ह्रदयशको विरासत तोड्दै चौधरी राजनीतिमा उदय भएका छन्।

यसअघि उनी दुई पटकसम्म समानुपातिकबाट सांसद भइसकेका छन्। तर यो पटक प्रत्यक्ष चुनाव लडेर आफूलाई व्यवसायमा मात्रै होइन राजनीतिक परीक्षामा पनि अब्बल रहेको साबित गरेका छन्। व्यवसायिक उडानमा सफल भएका चौधरीको राजनीतिक उडान अब प्रारम्भ भएको छ।