BIZMANDU
www.bizmandu.com

कांग्रेसमा गगन बने जित निकाल्ने पहिलो पदाधिकारी, ‘देश हाँक्न नयाँ जोशका साथ लाग्छु’

२०७९ मंसिर ६

कांग्रेसमा गगन बने जित निकाल्ने पहिलो पदाधिकारी, ‘देश हाँक्न नयाँ जोशका साथ लाग्छु’
कांग्रेसमा गगन बने जित निकाल्ने पहिलो पदाधिकारी, ‘देश हाँक्न नयाँ जोशका साथ लाग्छु’


काठमाडौं। गगन थापा कांग्रेसमा जित निकाल्ने पहिलो पदाधिकारी बनेका छन्। पार्टी महामन्त्री थापा काठमाडौं-४ बाट निकटतम प्रतिष्पर्धीका तुलनामा फराकिलो मतान्तरले विजयी भएका हुन्।

Vigo
GBIME
Tata

एमालेका डा. राजन भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले हराउँदै गगनले ह्याट्रिक जित गरेका हुन्। काठमाडौं-४ मा कुल ४५ हजार ५ सय ३ मत खसेकोमा थापाले २१ हजार ३ सय २ मत पाएका छन्।

दोस्रोपटक पनि पछि परेका उनका निकटतम प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ५५ मत पाए। थापा निर्वाचित भए पनि निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी छ।

उनले भावी प्रधानमन्त्रीका रुपमा उभ्याएका छन्।  थापाले निर्वाचित हुनसाथ आफूले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताएका छन्। काठमाडौं ४ बाट निर्वाचिन हुनसाथ गगनले मतदातालाई धन्यवाद दिँदै प्रधानमन्त्रीमा दाबी गर्ने घोषणा गरेका हुन्।

‘नेपालमा स्थिर सरकारमात्र हैन देश हाँक्ने नयाँ चालक खोजेको छ। यो चालक कसैले दिन सक्छ भने त्यो नेपाली कांग्रेसले मात्र दिन सक्छ,’ मतदातालाई धन्यवाद दिँदै गगनले भने, ‘कांग्रेसमा पनि नयाँ नेतृत्वको आवश्यकता छ।‘

प्रधानमन्त्रीमा दाबीका लागि प्रक्रियामा आफू तत्कालै जुट्नेसमेत उनको भनाइ थियो। ‘म आजैबाट कांग्रेसको संसदीय दलको निर्वाचनका लागि जुट्छु। देशलाई हाँक्न नयाँ जोशका साथ म लाग्छु,’ थापाले भने। चुनावी परिणाम र संसदीय दलको अंक गणितमा सफल भएमात्रै  उनले प्रधानमन्त्रीको बागडोर सम्हाल्न पाउनेछन्।

हालसम्म कहाँ कहाँ कांग्रेसको जित?

गगनसँगै कांग्रेसमा चार जनाले प्रतिनिधि सभाका लागि जित निकालिसकेका छन्।

काठमाडौं-१ बाट नेता प्रकाशमान सिंह निर्वाचित भएका छन्। यसैगरी मनाङबाट टेकबहादुर गुरुङले प्रतिनिधि सभाका लागि जित निकालेका छन्। मुस्ताङमा कांग्रेसकै कान्छा युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्।