BIZMANDU
www.bizmandu.com

हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ जिम्मा दिने निर्णयप्रति भारतको गम्भीर असहमति, दबाबमा क्यान


हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ जिम्मा दिने निर्णयप्रति भारतको गम्भीर असहमति, दबाबमा क्यान
हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ जिम्मा दिने निर्णयप्रति भारतको गम्भीर असहमति, दबाबमा क्यान

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ जिम्मा हिमालय एयरलाइन्सलाई दिने निर्णयप्रति भारतले गम्भीर असहमति जनाएको छ।

Tata
GBIME
Nepal Life

हिमालय एयरलाइन्समा चिनियाँ लगानी भएकाले ग्राउण्ड ह्यान्डलिङजस्तो संवेदनशील कामको जिम्मा दिएकोप्रति गम्भीर असहमति जनाएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चुनावको पूर्व सन्ध्यामा नेपाल वायुसेवा निगमबाट ग्राउण्ड ह्यान्डलिङ सेवा हिमालयलाई दिने निर्णय गरेका थिए।

'हिमालयलाई दिँदा भारतबाट अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा गम्भीर प्रश्न उठिसकेको छ। यो विषयमा प्राधिकरण नेतृत्वलाई समेत ठूलो दबाब परिसकेको छ,' प्राधिकरणका एक कर्मचारीले बिजमाण्डूसँग भने, 'उड्डयन क्षेत्रमा उनीहरु अत्यन्तै संवेदनशील छन्। यो निर्णय फिर्ता गर्न अनौपचारिक रुपमा दबाब समेत दिइसकेका छन्।'

उनका अनुसार महानिर्देशक अधिकारीले भूराजनीतिक अवस्थालाई नहेरी अपरिपक्व निर्णय गर्दा समस्या आएको हो। 'महानिर्देशकले आफ्नो व्यक्तिगत स्वार्थका लागि हिमालयलाई ग्राउण्ड ह्यान्डलिङको जिम्मा दिएका थिए। हवाई उड्डयन क्षेत्रको बारेमा गर्ने निर्णयमा खेलाँची गर्दा समस्या आएको हो,' उनले भने, 'यो दुरगामी असर पार्ने निर्णय पनि हो।' हिमालय एयरलाइन्समा चीन सरकारको ४९ प्रतिशत सेयर लगानी छ। चिनियाँ लगानी भएकैले अहिलेसम्म पनि भारतले आफ्नो भूमिमा उडान अनुमति दिएको छैन।

 'ठूलो राजनीतिक दबाब लगाउँदा समेत हिमालयले भारत उडान गर्न नपाएको प्राधिकरणका हरेक कर्मचारीलाई जानकारी थियो। यो जान्दाजान्दै महानिर्देशक अधिकारीले हिमालयलाई ग्राउण्ड ह्यान्डलिङको जिम्मा दिएर जिस्क्याउने काम गरे,' ती कर्मचारीले भने, 'प्राधिकरणको नेतृत्व अपरिपक्व हुँदा यस्तो अवस्था निम्तिएको हो।' उनका अनुसार भारतको असहमतिपछि भैरहवाको ग्राउण्ड ह्यान्डलिङको जिम्मा निगमले नै पाउने अवस्था पुगेको छ।

राजनीतिक नेतृत्वलाई रिझाएर महानिर्देशकको कुर्चीमा बसेका अधिकारीले पछिल्लो समयमा एकपछि अर्को विवादित निर्णय गर्दै आएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई रिझाएर उनले हिमालयलाई ग्राउण्ड ह्यान्डलिङको जिम्मा दिएका हुन्। निगमलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगरेको भन्दै कारवाही गर्दै हिमालयलाई पोस्ने काम गरेका थिए। निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङबाट मात्रै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। यो आम्दानीमा हिमालय संचालनमा आएदेखि नै आँखा लगाउँदै आएको छ।

सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्समा चीनको तिब्बत एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी र यती वर्ल्ड इन्भेस्टमेन्टको लगानी छ। जस अन्तर्गत तिब्बतको ४९ प्रतिशत र यती वर्ल्डको ५१ प्रतिशत लगानी छ।

कम्पनीले हाल एउटा एयरबस ३१९-११५, तीनवटा एयरबस ३२०-२१४ गरी कुल चारवटा जहाजमार्फत युएई, मलेसिया, चीन, कतार, साउदी अरेविया र बंगलादेश लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ।