BIZMANDU
www.bizmandu.com

स्ट्रोङ बियरको आक्रामक बजार विस्तार, प्रिमियम र सस्तो मदिराको बजार खोस्यो

२०७९ कात्तिक २८

स्ट्रोङ बियरको आक्रामक बजार विस्तार, प्रिमियम र सस्तो मदिराको बजार खोस्यो
स्ट्रोङ बियरको आक्रामक बजार विस्तार, प्रिमियम र सस्तो मदिराको बजार खोस्यो

काठमाडौं। स्ट्रोङ बियरले बजारमा कारोबारको हिस्सा बढाउँदै लगेको छ। प्रिमियम बियरलाई उछिन्दै स्ट्रोङले बजार विस्तार गरेको हो।

Tata
GBIME
Nepal Life

बियर सम्बन्धि नेपाली मापदण्ड अनुसार प्रिमियम बियरमा ५ प्रतिशत अल्कोहल राख्न पाइन्छ। यस्तै स्ट्रोङ बियरमा भने ८ प्रतिशतसम्म अल्कोहल राख्न पाइन्छ। यदि यसलाई ४० युपीको मदिरासँग तुलना गर्ने हो भने ८ प्रतिशत अल्कोहल भनेको ३३० एमएलको बोतलमा २७ प्रतिशत जति पुग्न जान्छ। 

यदि कसैले ३३० एमएलको बियर खान्छ भने त्यो ७० एमएल ह्‍विस्की खाए बराबरको हुन्छ। ग्रामीण भेगमा घरेलु मदिराको मूल्य बढ्दै गएकाले समेत स्ट्रोङ बियरको बजार विस्तार भएको हो। अहिले कोदोको घरेलु रक्सी प्रतिमाना (५६८ एमएलको) ६० रुपैयाँ पर्छ। गोर्खा ब्रुअरीको ३३० एमएल एक बोतल स्ट्रोङ बियरको खुद्रा मूल्य १ सय ७५ रुपैयाँ पर्छ।

स्ट्रोङ बियरको बजार बढ्दै गएको आन्तरिक राजस्व विभागको तथ्यांकले पनि पुष्टि गरेको छ। स्ट्रोङ बियरको बजार प्रिमियम बियरका तुलनामा बढ्दै गएको करको तथ्यांकबाटै प्रष्ट हुने विभागका महानिर्देशक रितेश शाक्यले जानकारी दिए। 

विभागले गरेको अध्ययनमा मदिराका नियमित ग्राहकभन्दा विकल्प खोज्ने ग्राहकको संख्या बढेको हो। स्ट्रोङ बियरको बजार बढ्दै जाँदा सबै कम्पनीहरुले स्ट्रोङ बियर उत्पादनमा ध्यान केन्द्रित गरेका छन्। 

महानिर्देशक शाक्यले भने ‘लिकरको ग्राहकमा अस्वाभाविक परिवर्तन आएको छ। विभागको तथ्यांकअनुसार सस्तो मदिराको बजार स्ट्रोङ बियरले लिएको छ।’ 

विभागले स्ट्रोङ बियरको बजार विस्तार बन्दै जाँदा बजेटमा कर दर बढाउन अर्थमन्त्रालयलाई सुझावसमेत दिएको थियो। स्ट्रोङ बियरमा कर बढाउँदा मदिरा बजार सन्तुलित बन्ने विश्वास विभागले राखेको थियो। 

प्रिमियम बियरभन्दा स्ट्रोङ नै बढी बिक्री हुने गरेको याक ब्रुअरीका सञ्चालक रवि केसीले बताए। उनले भने ‘सरकारले मदिरामा बर्सेनि कर बढाएको छ। मान्छेलाई नसा लिनु परेको छ, उसले २ बोतल प्रिमियम बियर खरिद गर्न सक्दैन। त्यसैले १ बोतल स्ट्रोङ बियर नै खान्छ।’

व्यवसायी केसीका अनुसार अहिले प्राय: ब्रुअरीले स्ट्रोङ बियरमा नै फोकस गरिरहेका छन्। विभागको तथ्यांक अनुसार चालु वर्षको प्रथम त्रैमासमा बियरमा लगाइने अन्त:शुल्क स्टिकर बिक्रीबाट मात्रै ८ अर्ब ५५ करोड ६० लाख राजस्व संकलन भएको छ।

जसमा ७५ प्रतिशत स्ट्रोङ बियरमा स्टिकर बिक्री भएका छन्। यसले प्रिमियम बियर पिउने ग्राहकको संख्या घटाउँदै लगेको देखिन्छ। गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ७ अर्ब ४७ करोड ७ लाख राजस्व संकलन भएको छ। पोहोरको तुलनामा बियरमा १४ प्रतिशतले बजार विस्तार भएको छ।

अहिले सरकारले स्ट्रोङ र प्रिमियम बियर सबैमा प्रतिलिटर २२९ रुपैयाँ अन्त:शुल्क कर लाग्दै आएको छ। सरकारले चालु वर्षमा प्रतिलिटर बियरमा ३१ रुपैयाँले कर बढाएको छ। यसकारण पनि स्ट्रोङ बियरमा ग्राहक बढेका हुन्।

लिटरमै ३१ रुपैयाँ कर बढेपछि सबै बियरको मूल्य बढ्यो। स्ट्रोङ बियरको बजार बढ्दा मदिरा बजार भने संकुचनमा गएको छ। यसलाई पनि विभागको तथ्यांकले पुष्टि गर्छ।

गतवर्षको तीन महिनामा मदिराको अन्त:शुल्क स्टिकर बिक्रीबाट ५ अर्ब ८३ करोड ६३ लाख राजस्व संकलन भएको थियो। तर चालु वर्षमा यसको हिस्सा घटेर ४ अर्ब ८० करोड ७५ लाखमा सीमित भएको छ। यसले मदिराको बजार हिस्सा घटेको देखिन्छ। विभागमा हाल ९४ वटा मदिरा उद्योगले अन्त:शुल्क अनुमति लिएर सञ्चालन भएका छन्।

सुर्तीजन्य पदार्थमा भने राजस्व वृद्धि भएको देखिन्छ। गत वर्ष ५ अर्ब २६ करोड ५३ लाख राजस्व संकलन गरेको सुर्तीजन्य पदार्थबाट यो वर्ष ७ अर्ब ६८ करोड ७५ लाख राजस्व संकलन भएको छ। जसमा ४५ प्रतिशत राजस्व वृद्धि भएको छ।