BIZMANDU
www.bizmandu.com

अरुको नक्कल गर्ने ह्यान्डल स्थायी रूपमै ‘सस्पेन्ड’ गर्दै ट्‍वीटर, प्यारोडी बाहेकका नचल्ने

२०७९ कात्तिक २१

ट्‍वीटरका सीइओ इलन मस्कले अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू स्थायी रुपमा नै सस्पेन्ड गरिने बताएका छन्। स्पष्ट रूपमा ‘प्यारोडी’ भनेर निर्दिष्ट नगरी अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू हटाइने उनले बताए।

Vigo
GBIME
Tata

‘पहिले हामीले सस्पेन्सन हुनुअघि चेतावनी दिन्थ्यौं, तर अब हामीले व्यापक प्रमाणीकरण ल्याएसँगै, कुनै चेतावनी दिइने छैन,’ उनले आइतबार ट्‍वीटमा भनेका छन्।

कुनै पनि तवरमा नाम परिवर्तन गरे प्रयोगकर्ताले ‘भेरिफाइड चेकमार्क’ अस्थायी रूपमा गुमाउने समेत उनले बताए।

आइतबार साँझ आफ्नो नाम इलन मस्कको नाममा परिवर्तन गर्ने धेरै अकाउन्टहरूलाई ट्‍वीटरले सस्पेन्ड गरेको छ। जसमा अमेरिकी हाँस्य कलाकार क्याथी ग्रिफिन र अस्ट्रेलियाको व्यंग्यात्मक वेबसाइट द चेजरलगायत रहेका छन्।

मस्क यसअघि ट्‍वीटरमा गरिने स्थायी प्रतिबन्धको विरोधमा थिए।

हालका प्रतिबन्धको रक्षा गर्दै मस्कले आफू अझै पनि 'वाक स्वतन्त्रता' प्रति प्रतिबद्ध रहेको बताएका छन्।

७.९९ डलरको मासिक शुल्कसहित ‘ब्लू-टिक’को योजनाबद्ध रोलआउटको बारेमा आएका अनिश्चितताका बीचमा यस्ता नीति आएको हो। यो नयाँ सुविधा ‘ट्‍वीटर ब्लू’को फिचर हो।

तर, प्रयोगकर्ताहरूले प्रमाणीकरण किनेर राजनीतिक व्यक्तित्वको रुपमा चुनावी भ्रम छर्न सक्ने चिन्ताका बीच ‘ट्‍वीटर ब्लू’को नयाँ सुविधा अमेरिकी मध्यावधि चुनावपछि सम्मका लागि सारिएको न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ।

ट्‍वीटरका ७ हजार ५०० कर्मचारीमध्ये आधाको कटौती गरिएको रिपोर्टले उत्पन्न संकटका बीचमा ट्‍वीटरमा इन्जिनियरिङ टोलीहरूले तीव्र गतिमा नयाँ सुविधाका फिचरहरुमा काम गरिरहेका छन्।

कामबाट हटाइएका दर्जनौं कर्मचारीलाई पछि फेरि फिर्ता बोलाइएको बताइएको छ। उनीहरूलाई या त गल्तीले हटाइएको या मस्कले चाहेका नयाँ सुविधाहरू निर्माण गर्नको लागि उनीहरु महत्त्वपूर्ण रहेकाले फिर्ता ल्याइएको हुनसक्ने अनुमान गरिएको छ।