BIZMANDU
www.bizmandu.com

इलन मस्कले ट्‍वीटरबाट ठूलो संख्यामा सामूहिक कर्मचारी कटौती गर्दै, ईमेलमार्फत जानकारी

२०७९ कात्तिक १८

इलन मस्कले ट्‍वीटरबाट सामूहिक रूपमा कर्मचारी कटौती गर्ने भएका छन्। प्लेटफर्मको कार्यबललाई तीव्र रूपमा घटाउन लागिएको कम्पनीले बिहीबार आन्तरिक ईमेलमार्फत स्टाफहरुलाई जानकारी दिएको छ।

Tata
GBIME

कम्पनीले कर्मचारीहरूलाई कामबाट हटाइने छ या छैन भनेर शुक्रवार जानकारी दिनेछ। कम्पनीले यो कटौती ‘ट्वीटरलाई स्वस्थ मार्गमा राख्ने प्रयास’ रहेको बताएको छ।

त्यस्तै, आफ्ना केही कार्यालयहरू अस्थायी रूपमा बन्द हुने र ‘ब्याज एक्सेस’ रोकिने कम्पनीले बताएको छ।

गत साता ४४ बिलियन डलरको सम्झौतामा फर्म खरिद गरेपछि संसारकै धनी व्यक्ति मस्क ट्वीटरको प्रमुख कार्यकारी भएका छन्।

‘हामी शुक्रवार हाम्रो विश्वव्यापी कार्यबल घटाउने कठिन प्रक्रिया पार गर्नेछौँ,’ ट्वीटरले आन्तरिक इमेलमा भनेको छ।

‘प्रत्येक कर्मचारीको सुरक्षा साथै ट्वीटर प्रणाली र ग्राहक डेटा सुनिश्चितको लागि’ कार्यालयको पहुँच पनि सीमित गरिने कम्पनीले कर्मचारीलाई जानकारी दिएको छ।

अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूमा यसअघि मस्कले ट्वीटरको आधा कार्यबल करिब ३ हजार ७०० जागिर कटौती गर्न खोजिरहेको उल्लेख थियो।

केही सिनियर कर्मचारीहरूलाई उनीहरूको टोलीमा कटौती गर्नका लागि कर्मचारीहरूको सूची बनाउन भनिएको अज्ञात स्रोतलाई उदृत गर्दै ब्लूमबर्गले उल्लेख गरेको छ।

क्रिप्टोकरेन्सी प्लेटफर्म ‘बाइनान्स’ले मस्कको अधिग्रहणको एक भागको रूपमा ट्वीटरमा लगानी गरेको छ। यसअघि, बाइनान्सका प्रमुख कार्यकारी चाङपेङ झाओले ‘पातलो कार्यबल अझ अर्थपूर्ण हुने’ बताएका छन्।