BIZMANDU
www.bizmandu.com

१४०० हेक्टर जग्गामा बाह्रैमास सिंचाइ, यति गर्दा पनि पानीको सतह घटेन, सप्रियो बाली

२०७९ असोज ३१

काठमाडौं। चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ।

Tata
GBIME
Nepal Life

चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो।

आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा ५७ वटा डिप ट्युबेल र १ सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ।

यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको प्रमुख स्याङ्बोले बताए। विशेष गरेर कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान भइरहेको उनले जानकारी दिए।

पश्चिम चितवनका कतिपय धानै नरोपिएका ठाउँमा पनि यस वर्ष धान रोपिएको स्याङ्बोले बताए। आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ भने डिप ट्युबेलका लागि ५ प्रतिशत जनसहभागिता आवश्यक पर्छ।

त्यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन्।

'चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ,' प्रमुख स्याङ्बोले भने, 'किसान सानो समूह बनाएर आउने गर्नुभएको छ।' 

यस्तै डिप ट्युबेलका लागि ३५ देखि ४० बिघा जग्गा क्षेत्रफल भए मात्र उपलब्ध गराउन सकिने उनले बताए।

धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको उनको भनाइ छ। चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन।

नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताए।

आयोजनाले यस वर्ष पनि ८० वटा स्यालो र १८ वटा डिप ट्युबेल जडान गर्ने तयारी गरेको छ। आयोजनाले मकवानपुर जिल्ला केही क्षेत्रमा पनि ट्युबेल जडानको काम गरिरहेको छ।

बाह्रै महिना आफूले चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षित छन्।

भरतपुर-२५ को बयरघारी टोलका दिलबहादुर नेपालीले यस वर्ष आफ्नो टोलमा वर्षौंपछि राम्रोसँग धान रोपाइँ भएको बताए। उनले डिप ट्युबेल जडान गरेर रोपिएको धान काटेर थ्रेसर लगाउने तयारीमा रहेको जानकारी दिए। रासस