BIZMANDU
www.bizmandu.com

भारत र पाकिस्तानले गरे युद्धविरामको सहमति, अमेरिकाको मध्यस्थतामा भएको थियो वार्ता

२०८२ बैशाख २७

भारत र पाकिस्तानले गरे युद्धविरामको सहमति, अमेरिकाको मध्यस्थतामा भएको थियो वार्ता
Photo : India Today / PTI


भारत र पाकिस्तानले शनिबार युद्धविराम गर्ने सहमति गरेका छन्। अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि दुई देशले युद्धविरामका लागि सहमति जनाएका हुन्

Tata
GBIME
NLIC

दुवै देश आणविक हतियारयुक्त छन्। पछिल्लो केही हप्तायता सीमा क्षेत्रमा मिसाइल आक्रमण, ड्रोन हमला र गोलीबारी भइरहेका थिए। यी घटनाहरू गत महिना भारतको पहलगाममा भएको हमलापछि सुरु भएका थिए।

भारतले त्यस आक्रमणको दोष पाकिस्तानलाई दिएको थियो। तर पाकिस्तानले उक्त आरोपलाई अस्वीकार गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा पहिले युद्धविरामको खबर सार्वजनिक गरेका थिए।

उनले ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराममा सहमति जनाएका छन्। कमन सेन्स र असाधारण बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई। यो मामिलामा ध्यान दिएकोमा धन्यवाद।’

शनिबार बिहान पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारतले आक्रमण रोकेको खण्डमा पाकिस्तानले तनाव घटाउने बारे सोच्ने बताएका थिए। तर भारतले कुनै थप हमला गरे पाकिस्तानले जवाफी कारबाही गर्ने उनले चेतावनी पनि दिएका थिए।

डारले पाकिस्तानको जियो न्यूजसँग यो सन्देश आफूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पनि दिएका बताएका थिए। रुबियोले डारलाई सम्पर्क गर्नु अगाडि नयाँ दिल्लीसँग कुरा गरेका थिए।

डारले भने, ‘हामीले जवाफ दियौं किनकि हाम्रो धैर्यको सीमा नाघेको थियो। यदि उनीहरू यहाँ रोकिन्छन् भने हामी पनि रोक्नेबारे विचार गर्नेछौं।’

भारतले भने शनिबार बिहान पाकिस्तानले पञ्जाब राज्यमा सैन्य तथा नागरिक पूर्वाधारमाथि उच्च गतिको मिसाइल प्रहार गरेपछि पाकिस्तानका केही एयरबेसहरूमा आक्रमण गरिएको बताएको थियो। पाकिस्तानले तीमध्ये अधिकांश मिसाइललाई रोकिएको दाबी गरे पनि उसले भारतमा जवाफी हमला गरेको जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्याम्मी ब्रुसले विदेशमन्त्री रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कुराकानी गरेका जानकारी दिइन्। उनले दुवै पक्षलाई तनाव घटाउने उपायहरू खोज्न र गलत बुझाइ रोक्न सिधा सम्पर्क पुनःस्थापना गर्न आग्रह गरेका थिए। अमेरिका आवश्यक परे वार्तालाई सहजीकरण गर्ने प्रस्तावमा तयार रहेको ब्रुसले बताएकी छन्।