चीन र अमेरिका बीच एकअर्काका देशका सामानमाथि लगाइएको करलाई कटौती गर्ने सहमति भएपछि बेइजिङले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान खरिद गर्न लगाएको प्रतिबन्ध पनि हटाएको छ।
दुवै देशले आउने ९० दिनका लागि ‘रेसिप्रोकल ट्याक्स’ ११५ प्रतिशत कटौती गर्ने सहमति गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १४५ प्रतिशत कर लगाएका थिए। चीनले जवाफमा अमेरिकी उत्पादनमाथि १२५ प्रतिशत कर लगाएको थियो। दुवै देशबीच ‘ट्यारिफ वार’ चल्दा विश्व वित्तीय बजारमा नै उथलपुथल मच्चिएको थियो।
चीनले आफ्नो देशमा नयाँ बोइङ विमान ल्याउन रोक लगाएको थियो। चिनियाँ एयरलाइन्स कम्पनीले भारी भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी स्वीकार गर्न चीनले छाडेको थियो।
नयाँ सहमति भएसँगै चिनियाँ अधिकारीहरुले घरेलु विमान कम्पनीहरुलाई अमेरिकामा निर्मित विमानको अर्डर फेरि सुरु गर्न भनेको जनाइएको छ।
सुरुवाती चरणमा अमेरिकाले ३० प्रतिशतमा कर घटाएको देखिएको छ। चीनले भने १० प्रतिशत कर कटौती गरेको छ।