BIZMANDU
www.bizmandu.com

पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रता ग्यारेन्टी हुन्न: मन्त्री गिरी

२०८१ बैशाख २२

पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रता ग्यारेन्टी हुन्न: मन्त्री गिरी
पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रता ग्यारेन्टी हुन्न: मन्त्री गिरी

काठमाडौं। कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सुरुक्षित नभएसम्म निष्पक्ष समाचार सम्प्रेषण नहुने बताएका छन्। डिजिटल मिडिया फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘डिजिटल डायनामिक्स अफ प्रेस फ्रिडम-नेपाली कन्टेक्सट’ कार्यक्रममा गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित हुनुपर्ने बताएका हुन्।

Tata
GBIME
Nepal Life

‘सामाजिक सुरक्षा, भौतिक सुरक्षाप्रति आश्वस्त हुँदैनन् भने कसरी मिडियाकर्मीले ढुक्क भएर समाचार प्रकाशन/प्रसारण गर्न सक्छन्?,’ गिरीले भने। उनले श्रमजिवी पत्रकारीता ऐन कार्यान्वयन नभएको बारेमा पनि आफू जानकार भएको र कार्यान्वयन गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

मिडियाले सुशासन कायम गराउन ठुलो भूमिका खेलेको गिरीको भनाइ छ। उनले भ्रष्टाचारीलाई ‘म सुरक्षित छैन’ भन्ने धारणा बनाउन पत्रकारिताले महत्वपूर्ण भएको तर्क गरे।

पत्रकारीता जिम्मेवार र जवाफदेहि भए मात्रै पेशागत मर्यादा कायम हुने उनको भनाइ छ। ‘तपाईंले बोलेका लेखेका कुराप्रति जवाफदेही र उत्तरदायी हुनैपर्छ। यसले गर्दा विश्वसनीयता पनि बढ्छ,’ गिरीले भने।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाका सामाग्री र सामाजिक सञ्जालका सामाग्रीबीच फरक छुट्टाउन कठिन भइरहेको बताए। ‘युट्युबमा व्यक्तिगत रूपमा भिडियो बनाएर राख्ने अनि आधिकारिक रूपमा मिडिया हाउस दर्ता गरेर पत्रकारिता संहितामा बसेर न्युज च्यानल चलाउने एकै हुन सक्दैनन्,’ बस्नेतको भनाइ छ।

सिधा कुराले प्रसारण गरेको सामाग्री नक्कली हो भन्ने निर्क्योलमा पुगेपछि नै काउन्सिलले फेक सामाग्रीबाट थप क्षति हुन नदिन निर्णय गरेको उनको भनाइ छ। ‘जुन सामग्री हेर्दै प्रथम दृष्टिमा शङ्कास्पद र अपूर्ण छ, पत्रकारिताको मूल्य मायन्तामा छैन र योजनामा आएको छ भने त्यो राखिराख्नु उपयुक्त होइन,’ उनले भने।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले भने सिधाकुराको सामाग्री हटाउन लगाएको प्रति आपत्ति जनाएका थिए।
‘अदालतबाट भएको गल्ती अदालतबाटै सच्याउने हो। यसका लागि हामीले कानुनी चुनौती दिने निर्णय गरिसकेको छौं,’ पुरीको भनाइ छ।