काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय योजना आयोगले दिएको सिलिङभित्रै रहेर बजेट ल्याउने बताएका छन्। उनले शुक्रबार संसदीय समितिको बैठकमा सिलिङ ननाघ्ने बताएका हुन्।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कतिपय सांसदले विषय तोकेर बजेट बढाउनुपर्ने बताएपछि मन्त्री पुनले सिलिङ तय भइसकेका कारण अब केही गर्न नसक्ने जवाफ दिए।
‘यहाँ जति छलफल गरे पनि सिलिङ यसअघि नै तय भइसक्यो। माननीयज्यूहरुले भने अनुसार बजेट छुट्याउन अप्ठेरो छ,’ उनले भने।
उनले विषयगत मन्त्रालयहरुलाई पनि आफूले पाएको सिलिङका आधारमा कार्यक्रम प्रस्ताव गर्न भने। विषयगत मन्त्रालयले सिलिङ बढाउन लगाउने तर विनियोजित बजेट भने खर्च गर्ने नगरेको उनको आरोप छ।
‘आफ्नो निकायले पाएको बजेट कसरी हुन्छ खर्च गरेर देखाऔं। खर्च गर्न नसक्ने अनि सिलिङ बढाउन दबाब दिने काम कसैले पनि नगरौं। सबैले सिलिङभित्र बस्नु पर्छ,’ उनले भने, ‘ निर्माण क्षेत्रमा ऋणात्मक ग्रोथ रेट छ। यो चिन्ताको विषय हो। समयमा खर्च भएको छैन।’
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्बको सिलिङ दिएको छ। भौतिक पूर्वाधार लगायत मन्त्रालयले आफूले पाएको सिलिङप्रति असन्तुष्टि जनाउँदै बढाउन प्रस्ताव गरेका छन्।