BIZMANDU
www.bizmandu.com

बाढी पहिरोका कारण देशभरका विभिन्न मार्ग अवरूद्ध, विपी राजमार्ग ३० दिन राति बन्द हुने

२०८२ असार २१

बाढी पहिरोका कारण देशभरका विभिन्न मार्ग अवरूद्ध, विपी राजमार्ग ३० दिन राति बन्द हुने
बाढी पहिरोका कारण देशभरका विभिन्न मार्ग अवरूद्ध, विपी राजमार्ग ३० दिन राति बन्द हुने

काठमाडौं। बाढी पहिरोका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। अविरल वर्षापछि आएको बाढी पहिरोका कारण विभिन्न सडक अवरूद्ध भएका हुन्।

Tata
GBIME

नेपाल प्रहरीको शनिबार २ बजेसम्मको विवरणअनुसार पहिरोका कारण बनेपा-नाला-भक्तपुर सडक खण्ड पूर्णरूपमा अवरूद्ध छ। काभ्रेको बनेपा नगरपालिका-४ मा शनिबार पहिरो जाँदा सडक पूर्णरूपमा अवरूद्ध भएको हो।

कोशी राजमार्गको संखुवासभा खण्ड गत जेठ ६ गतेदेखि अवरूद्ध छ। अविरल वर्षाका कारण भोटखोला गाउँपालिका-४ बरुणमा सडक पूर्णरूपमा अवरूद्ध भएको थियो।

बाढीले ह्युम पाइप बगाउँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्गमा पूर्णरुपमा अवरोध आएको हो। बर्सातको अवधिभर उक्त सडक संचालन हुन नसक्ने प्रहरीले जनाएको छ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपालचोक खण्ड पनि पूर्णरूपमा अवरूद्ध छ। शुक्रबार भोटेकोशी गाउँपालिका वडा नम्बर २ कोदारीमा पहिरो जाँदा राजमार्ग अवरूद्ध भएको हो।

कालीगण्डकी करीडोरको बागलुङ खण्ड एकतर्फीरूपमा संचालनमा छ। बागलुङ नगरपालिका-१० दब्ल्याङमा बुधबार पहिरो जाँदा करिडोर आंशिकरूपमा संचालनमा छ।

त्यस्तै, कालीगण्डकी करीडोरकै गुल्मी खण्ड पनि एकतर्फीरूपमा संचालनमा छ। कालिगण्डकी गाउँपालिमा-१ गरगरेमा असार १० गते पहिरो जाँदा सडक अवरूद्ध भएको थियो। हाल उक्त सडक एकतर्फी संचालनमा ल्याइएको हो।

कालीगण्डकी करीडोर। फाइल फोटो।

शहीद राजमार्गअन्तर्गत रोल्पा खण्डको दुई स्थानमा पहिरो गएको छ। परिवर्तन गाउँपालिका-५ अखटे मा गत आइतबार र परिवर्तन गाउँपालिका-५ ग्रामजिममा शुक्रबार पहिरो जाँदा सडक एकतर्फीरूपमा संचालनमा छ।

भेरी करिडोरको डोल्पा खण्ड पूर्णरूपमा अवरूद्ध छ। असार ४ गते आएको बाढीले त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा सडक बगाएपछि आवागमन हालसम्म पूर्णरूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्ड पनि पूर्णरूपमा अवरूद्ध छ। गत असार ९ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिमा-६ रिजिगारमा बाढीले सडक बगाएयता आवतजावत हालसम्म पूर्णरूपमा अवरूद्ध छ।

मध्य पहाडी राजमार्गअन्तर्गत जाजरकोटमा पनि पहिरोका कारण सडक पूर्णरूपमा अवरूद्ध भएको छ। शनिबार छेडागार्ड नगरपालिका-३ दखेरी भिरस्थित गिट्टिखोला नजिक पहिरो गएको थियो। पहिरोका कारण सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ।

बाजुराको मार्तडी-कोल्टी कच्ची सडक पनि पूर्णरूपमा अवरोध भएको छ। बाजुराको बडिमालिका नगरपालिका-७ ढम्कने भासुपातलमा बिहीबार पहिरो गएको थियो। पहिरोले सडक पूर्णरूपमा अवरूद्ध बनाएको छ।

हुम्लाको सर्केगाड गाउँपालिमा वडा नम्बर १ बाख्रेस्थित कर्णाली करिडोरमा पनि अवरोध आएको छ। शुक्रबार ११:२० बजे बाख्रेस्थित कर्णाली करिडोरमा माथिबाट सुख्खा पहिरो आई बाटो पूर्णरूपमा अवरुद्ध भएको हो।

नारायणगढ-बुटवल सडक।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ विश्वकर्मा मन्दिर नजिक पूर्व-पश्चिम राजमार्ग एकतर्फीरूपमा संचालनमा आएको छ। शनिबार बिहान ३:३० बजे वर्षाका कारण बाटो हिलो र चिप्लो हुँदा पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरू उकालोमा उक्लन नसकेको पछि रोकिएका छन्। पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधनहरू भने चलिरहेका छन्।

विपी राजमार्ग ३० दिन राति बन्द हुने

विपी राजमार्गको सिन्धुली-खुर्कोटबाट काठमाडौं जाने सडक रातको समयमा ३० दिन बन्द हुने भएको छ।

हाल देशमा मनसुन सक्रिय रहेकाले बर्सातका कारण विपदको घटना हुन नदिन असार २१ गतेदेखि साउन १८ गतेसम्म रातको समयमा बन्द हुनेछ। उक्त सडक बेलुका ६:३० देखि बिहान ५ बजेसम्म दुवै तर्फका सार्वजानिक तथा निजी सवारी साधनलाई आवागमनमा रोक लगाइने भएको हो।

त्यसैगरी, ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथमा पनि अर्को सूचना नआएसम्मको लागि बेलुका ७ बजेदेखि बिहान ६ बजे सम्मकि लागि सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

काठमाडौं-फर्पिङ-कुलेखानी सडक खण्डको फर्पिङबाट हात्तिगौँडासम्मको सडक निर्माणका लागि असार २५ गतेसम्मका लागि बन्द गरिएको छ। उक्त मार्गमा चल्ने सवारीसाधनहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।