BIZMANDU
www.bizmandu.com

बजेट अधिवेशनको तयारी पूरा, संसद संचालनका लागि दलका नेताहरुसँग परामर्शमा सभामुख

२०८१ बैशाख २५

बजेट अधिवेशनको तयारी पूरा, संसद संचालनका लागि दलका नेताहरुसँग परामर्शमा सभामुख
बजेट अधिवेशनको तयारी पूरा, संसद संचालनका लागि दलका नेताहरुसँग परामर्शमा सभामुख

काठमाडौं । वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ।

Tata
GBIME
Nepal Life

अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछ।

निर्वाध सदन संचालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले आज संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दैछन्।

संसद् सचिवालयले सदन संचालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप संसदीय गतिविधिमा सबै राजनीतिक दललाई सहयोग गर्न सभामुखले बैठकमा पुनः अनुरोध गर्नेछन्।

नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने भन्दै यसअघिको संसद अधिवेशन अवरुद्ध गरेको थियो। बजेट अधिवेशनमा पनि कांग्रेसले आफ्नो अडान नछाड्ने देखिएको छ। त्यसैले सभामुखले दलहरुसँग छलफललाई तीब्रता दिएका हुन्।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा हाल कूल २६ वटा विधेयक विचाराधीन छन्। राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भइसकेको छ। प्रतिनिधिसभामा दर्ता भएका २४ वटा विधेयकमध्ये १४ वटा  विषयगत समितिमा र १० वटा राष्ट्रियसभामा विचाराधीन छन्।