BIZMANDU
www.bizmandu.com

प्रेसमाथि सरकारभन्दा अदालतबाट बढी डर, ‘न्यायिक तानाशाह बढ्न थालेको छ’

२०८२ असार १६

प्रेसमाथि सरकारभन्दा अदालतबाट बढी डर, ‘न्यायिक तानाशाह बढ्न थालेको छ’
प्रेसमाथि सरकारभन्दा अदालतबाट बढी डर, ‘न्यायिक तानाशाह बढ्न थालेको छ’

काठमाडौं। अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारभन्दा बढी अदालतबाट डर हुने वातावरण बढ्दै गएको बताएका छन्।

Tata
GBIME

राजधानीमा सोमबार फ्रिडम फोरमले आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता सम्बनधी कानुन, अवस्था र हुनैपर्ने सुधार विषयक छलफलका सहभागीले यस्तो बताएका हुन्।

नागरिक समाज र मिडियाबीच एकता हुन नसक्दा यस्ता समस्या बढ्दै गएको अधिकारकर्मी प्रणव भट्टराईले बताए। ‘अहिले नागरिक समाजलाई पर्दा मिडिया मौन बसिदिने र मिडियालाई पर्दा नागरिक समाज मौन नबोल्ने भइरहेको छ,’ भट्टराईले भने।

अभिव्यक्ति स्वतन्त्रताका लागि दुबै पक्ष एक भएर अघि बढ्नुपर्ने उनको मत थियो।

फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले मिडियालाई सरकारबाट भन्दा पनि अदालतबाट बढी डर देखिन थालेको बताए। पछिल्लोपटक बिजमाण्डू र नेपाल खबरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसम्बन्धी प्रकाशित समाचार डिलिट गर्न आदेश दिएको विषय उल्लेख गर्दै दाहालले भने – मिडियालाई सरकारबाट भन्दा पनि अदालतबाट बढी डर छ।

राजाको शासनमा मिडिया हाउसमा सेना पठाउँदा सर्वोच्च अदालतले रेडियो र टेलिभिजनले समाचार पढ्न पाउनुपर्ने फैसला गरिदिँदा अहिले भने त्यो ठिक उल्टो भएको दाहालको भनाई थियो। ‘सिंहदरबारभन्दा बढी डर रामशाहपथको हुने भयो। न्यायिक तानाशाह बढ्न थालेको छ,’ दाहालले भने।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने बन्दुकको नालभन्दा निर्वाचित नेताहरु तानाशाही हुन लागेको तर्क गरे। ‘अहिले बन्दुकको नाल भन्दा इलेक्टेड डिक्टेटरसिप बढ्न थालेको छ,’ त्रिपाठीले भने।

अदालत पनि मिडियासँग डराएर इजलासमै ९ जना राख्न थालेको उनको तर्क थियो। ‘नौ जनाको इजलास गठन भएको छ। सायद डराएर होला। सबैभन्दा विशाल केसमै ५ जनाभन्दा बढी बनेको थिएन अहिलेसम्म,’ त्रिपाठीले भने।