BIZMANDU
www.bizmandu.com

त्रिविमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा रेक्टर केसीको जोड, ‘विद्यार्थीलाई रिसर्च फण्ड दिनेबारे छलफल’

२०८१ बैशाख ८

त्रिविमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा रेक्टर केसीको जोड, ‘विद्यार्थीलाई रिसर्च फण्ड दिनेबारे छलफल’
त्रिविमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा रेक्टर केसीको जोड, ‘विद्यार्थीलाई रिसर्च फण्ड दिनेबारे छलफल’

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष (रेक्टर) प्राडा. खड्ग केसीले विश्वविद्यालयको पाठ्यक्रमलाई समय अनुकूल परिमार्जन गर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागमा अध्ययनरत दर्शनाचार्य-विद्यावारिधि तहका विद्यार्थीले शनिबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा चुनौतीबीच आफू आएको भन्दै पेसागत इमान्दारिता कायम गर्दै रेक्टरको भूमिका निर्वाह गर्ने बताए।

त्रिविको काम गर्ने शैलीबारे जानकार उनी विश्वविद्यालयको क्यालेन्डर लागू गराउन आफू लागि परेको बताउँछन्।

‘मुख्य कुरा यहाँ त्रिविको शैक्षिक क्यालेन्डर लागू गराउने हो। यो मेरो जिम्मेवारी अन्तर्गत पर्छ। यसलाई लागू गराउन मैले डीनहरुसँग छलफल पनि गरेको छु,’ उनले भने।

यस्तै, केसीले विभिन्न संकायमा अध्यापन गराउने प्राध्यापकहरुको क्षमता अभिवृद्धिमा पनि आफू केन्द्रित हुने बताए।

विश्वविद्यालय शिक्षालाई अनुसन्धानमूलक बनाउन पर्छ भन्दै सुरुदेखि नै लबिङ गर्दै आएका उनले सरकारसँग विद्यावारिधि तहमा विद्यार्थीलाई ‘रिसर्च फन्ड’ दिनेबारे छलफल गर्ने पनि बताए। साथै, त्रिविले अन्य विश्वविद्यालयको मिलेर काम गर्ने पनि उनले जानकारी दिए।

दर्शनाचार्य-विद्यावारिधि तहका विद्यार्थीसँग रेक्टर केसी

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभाग अध्यापनसमेत गराउँदै आएका केसी विभागका संस्थापक संयोजक हुन्। उनकै नेतृत्वमा काठमाडौंको बुद्धनगरबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागको कीर्तिपुरमा अहिले आफ्नै भवन छ। त्यहाँ स्नात्तकोतर कक्षादेखि दर्शनाचार्य-विद्यावारिधिसम्म अध्यापन गराइन्छ।

कार्यक्रममा विद्यावारिधि तहको पहिलो र दोस्रो ब्याचका विद्यार्थीसँगै दर्शनाचार्य-विद्यावारिधि तहको पहिलो, दोस्रो र तेस्रो ब्याचका विद्यार्थीहरुले केसीलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए। अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागलाई ‘मेरिटोक्रेसी’मा चलाउन सफल भएका उनले त्रिविमा पनि त्यही लयलाई कायम राख्नेमा आफूहरु विश्वस्त भएको विद्यार्थीहरुले बताएका थिए।

कार्यक्रममा त्रिविका प्राध्यापक डा. डिल्लीराज खनाल र सह-प्राध्यापक टिकाराम गौतमले रेक्टर केसीलाई त्रिविको अवस्थाको राम्रो ज्ञान भएको भन्दै विश्वविद्यालयलाई विश्वविद्यालयकै रुपमा संचालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने मत राखेका थिए। त्यसका लागि उनीहरुले केसीलाई शुभकामना व्यक्त गरेका थिए।