BIZMANDU
www.bizmandu.com

ब्याजदर घट्न थालेपछि बढ्यो घर कर्जाको सोधपुछ, धमाधम स्किम ल्याउँदै बैंक

२०८० चैत्र १५

ब्याजदर घट्न थालेपछि बढ्यो घर कर्जाको सोधपुछ, धमाधम स्किम ल्याउँदै बैंक
ब्याजदर घट्न थालेपछि बढ्यो घर कर्जाको सोधपुछ, धमाधम स्किम ल्याउँदै बैंक


काठमाडौं। घर जग्गाको मूल्यसँगै ब्याजदर पनि घट्न थालेपछि ऋणका लागि सोधखोज बढ्न थालेको छ। घरजग्गा खरिद गर्नका लागि इच्छुकहरू ऋणबारे सोधखोजका लागि बैंक पुग्न थालेका हुन्।

Tata
GBIME
Nepal Life

‘अहिले ब्याजदर घटेको छ। त्यसले गर्दा सानो-सानो जग्गा वा घर किन्छु भन्दै ऋणका लागि सोधखोज बढेको छ,’ बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बिजमाण्डूसँग भने, ‘अब पक्कै ऋण विस्तार हुन्छ।’ 

डेढ/दुई वर्षदेखि निक्कै सुस्त रहेको घर जग्गा ऋणका लागि बैंकहरुले पनि स्किम ल्याउन थालेका छन्। मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले घरजग्गा तथा हाउजिङ कर्जामा लगानी योजना ल्याएका छन्।

अहिले ब्याजदर एकल अंकमा आएको छ। बैङ्कहरूसँग पनि प्रशस्त तरलता छ। त्यसको फाइदा उठाउन उपभोक्ताले बैंकमा गएर घर कर्जाको योजना बुझ्न थालेका हुन्। पछिल्लो समय विस्तार भएको कर्जामध्ये आवासीय घरको हिस्सा बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकले पनि घरजग्गा तथा निर्माण क्षेत्रको कर्जामा खुकुलो नीति लिएको छ। आगामी दिनमा थप खुकुलो नीति लिने योजनामा राष्ट्र बैंक छ। डेढ वर्षदेखि घर बनाउन तथा किन्नका लागि ऋण नपाएका मध्यम वर्गलाई लक्षित गर्दै राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’ बढाइसकेको छ। यसलाई अरू हिसाबले पनि सहजीकरण गर्न सकिन्छ कि भनेर राष्ट्र बैंकले हेरिरहेको छ।

‘ऋण विस्तारमा सहजीकरण नीति चाहिन्छ भन्नेमा हामी छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले भने, ‘अहिले ब्याजदर घटिरहेको छ। अझै घट्दैछ। तैपनि ऋण जान सकेको छैन। त्यही भएर केही सहजीकरण गर्नुपर्ने हुन्छ।’

राष्ट्र बैंकको नीति अनुसार, दुई करोडसम्मको घरजग्गा ऋण लिएर किन्न सकिन्छ। यसअघि डेढ करोडको सीमा थियो। अब २ करोडको घरजग्गा ऋण रियल इस्टेटको गणनाभन्दा बाहिर पर्छ। साथै लोन टु भ्यालु रेसियो पनि ५० बाट ६० प्रतिशत पुगेको छ। यसले आम्दानीका आधारमा किस्ता रकम बढ्ने छ।

आवासीय घरजग्गा कर्जामा जोखिम कम भएकाले बैंकलाई लगानी गर्न पनि सजिलो हुन्छ। अन्य क्षेत्रमा माग नहुँदा सुरुमा बैंकहरुले प्रोत्साहित गर्दै आएको क्षेत्र पनि घरजग्गा र गाडी हो। 

अहिले घरजग्गा कर्जाको ब्याज ८.९९ प्रतिशतसम्म आइसकेको छ। नबिल बैंकले यो ब्याजदरमा ३० वर्षसम्मका लागि ऋण दिने स्किम ल्याएको छ। ग्लोबल आइएमई बैंकले १० वर्षसम्म नबढाउने गरी एकल अंमा ऋण दिने योजना सार्वजनिक गरिसकेको छ।

मानौं, कसैले २ करोड घर कर्जा ८.९९ प्रतिशत ब्याजदरमा लिए किस्ता १ लाख ६० हजार पर्न जान्छ। यो ३० वर्ष अवधिको हिसाबले निकालिएको हो। जति कम ऋण लियो उति नै किस्ता रकम कम पर्छ। जस्तो ५० लाख रुपैयाँ लिएमा मासिक ४० हजार किस्ता तिर्नुपर्छ। अब ४० हजार किस्ता तिर्नका लागि मासिक आम्दानी ७० हजार रुपैयाँ हाराहारी भए पुग्छ। आम्दानी भने करयोग्य हुनुपर्छ।