BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रका बाह्य क्षेत्र थप मजबुत, विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि

२०८२ असार २४

अर्थतन्त्रका बाह्य क्षेत्र थप मजबुत, विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि
अर्थतन्त्रका बाह्य क्षेत्र थप मजबुत, विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि

काठमाडौं। अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो बन्दै गएको छ।

Tata
GBIME

चालु खाता, शोधनान्तर स्थिति, रेमिटेन्स र विदेशी विनिमय सञ्चितिमा वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो बनेको हो।

चालु आर्थिक वर्षको ११ महिनामा विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब रुपैयाँबराबर पुगेको छ। गत असारमा विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर थियो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकामा अहिले ५३.२ प्रतिशतले वृद्धि भइ २९४ अर्ब ९२ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत छ। ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.६ महिनाको वस्तु र १४.७ महिनाको वस्तु तथा सेवाको आयात धान्छ।

जेठ मसान्तसम्म शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा छ। गत वर्ष सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बचतमा थियो।

यस्तै चालु खाता ३०७ अर्ब ३१ करोडले बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा चालु खाता २०० अर्ब ३८ करोडले बचतमा थियो।

रेमिटेन्स १५.५ प्रतिशतले वृद्धि भएको छ। यो वर्ष जेठ मसान्तसम्म कूल १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ जेठ महिनामा भित्रिएको हो।