BIZMANDU
www.bizmandu.com

युक्रेन आक्रमणको दुई वर्ष : धेरै प्रकारका प्रतिबन्धले रसियाली अर्थतन्त्रमा असर कति?

२०८० फागुन १९

युक्रेन आक्रमणको दुई वर्ष : धेरै प्रकारका प्रतिबन्धले रसियाली अर्थतन्त्रमा असर कति?
युक्रेन आक्रमणको दुई वर्ष : धेरै प्रकारका प्रतिबन्धले रसियाली अर्थतन्त्रमा असर कति?


काठमाडौं। रसियाले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई वर्ष बितेको छ। दुई वर्षअघि २४ फेब्रुअरीमा रसियाले युक्रेनमाथि आक्रमण गरेको थियो। विश्व अर्थतन्त्र प्रभावित पार्ने यो घटना दुई राष्ट्रबीचको मामिला मात्रै रहेन।

Tata
GBIME
Nepal Life

रसियामाथि अमेरिका, बेलायत र युरोपेली संघले नयाँ प्रतिबन्धहरू लगाउने घोषणा गरेका छन्। रसिया विपक्षी नेता अलेक्सेइ नाभाल्नीको जेलमा मृत्यु भएको एक सातापछि यी देशहरूले थप प्रतिबन्धहरू लगाएका हुन्।

यसअघि पनि रसियामाथि साढे १६ हजारभन्दा बढी प्रतिबन्ध लगाइएको छ। यी प्रतिबन्धहरू कत्तिको प्रभावकारी छन् र उनीहरूले रसियाको अर्थतन्त्रमा कत्तिको प्रभाव पारेको छ त?

प्रतिबन्धहरू एक देशले अर्को देशमाथि गर्ने आक्रमण र अन्तर्राष्ट्रिय कानुन तोडिनबाट रोक्नको लागि लगाइएका हुन्। यो विश्वभरका देशहरूले चाल्ने सबैभन्दा कठोर कदमहरूमध्येको एक हो। संसारभर जहाँ उक्त आक्रमणपछि पनि रसियालाई केही असर नपरेको जस्तो देखाउन कोसिस भइरहेको छ, त्यहीँ रसियाली सरकारसँगै जनजीवनलाई भित्रभित्रै असर परिरहेको छ।

रसियामाथि नयाँ प्रतिबन्ध के के?

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाका ५०० व्यवसायमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। प्रतिबन्धको घोषणा गर्दै उनले रसियाको युद्ध मेसिनरीलाई निसाना बनाउने बताए।

यसअन्तर्गत करिब १ सय फर्म वा व्यक्तिलाई निकासीमा प्रतिबन्ध लगाइनेछ। यसको उद्देश्य रसियाको हतियार बनाउने क्षमतालाई कमजोर पार्नु हो।

राष्ट्रपति बाइडेनले अलेक्सेई नाभाल्नीको कैदमा भएको मृत्युसँग सम्बन्धित व्यक्तिहरूलाई पनि यी प्रतिबन्धहरूको दायरामा ल्याउने बताए।

बेलायतले जेलमा रहेका ६ जना मालिकको सम्पत्ति जफत गरेको छ। उनीहरुलाई बेलायत भ्रमणमा पनि प्रतिबन्ध लगाइएको छ। यसबाहेक बेलायतले रसियाली धातु, हीरा र ऊर्जा निर्यातमा पनि नयाँ प्रतिबन्ध लगाएको छ।

युरोपेली संघले २ सय संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी व्यक्तिहरूले रसियालाई हतियार दिलाउन तथा युक्रेनी बालबालिकालाई घरबाट लैजान मद्दत गरिरहेको ईयूले जनाएको छ।

अहिले रसियामाथि १६ हजार ५०० भन्दा बढी प्रतिबन्धहरू छन्। युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत र ईयूका साथै अष्ट्रेलिया, क्यानडा र जापान जस्ता देशहरूले रसियामाथि १६ हजार ५०० भन्दा बढी प्रतिबन्धहरू लगाएका छन्।

यी प्रतिबन्धहरूको मुख्य लक्ष्य रसियाको पैसा रहेको छ। लगभग ३५० अर्ब डलर बराबरको रसियाको विदेशी मुद्रा सञ्चिति फ्रिज गरिएको छ। यो उसको कुल विदेशी मुद्रा सञ्चितिको झण्डै आधा हो।

युरोपेली संघले रसियाली बैंकहरूको करिब ७० प्रतिशत सम्पत्ति पनि जफत गरेको जनाएको छ। यसैबीच, रसियाका केही बैंकहरुलाई वित्तीय संस्थाहरूको उच्च गतिको सन्देश सेवा ‘स्विफ्ट’बाट हटाइएको छ।

पश्चिमी देशहरूले पनि यी प्रतिबन्धहरू लगाएका छन्। रसियालाई हतियार बनाउन सक्ने सूचनाको आधारमा निर्यातमा प्रतिबन्ध लगाइएको छ।

रसियाबाट सुन र हीरा आयातमा प्रतिबन्ध लगाइएको छ। रसियाबाट आउने उडानमा पनि प्रतिबन्ध लगाइएको छ। क्रेमलिनसँग जोडिएका धनी व्यापारीहरूलाई प्रतिबन्ध लगाइएको छ भने उनीहरूको पानी जहाज पनि जफत गरिएको छ।

तेल उद्योग र चीनको सहयोग

रसियाको तेल उद्योग यी प्रतिबन्धहरूको अर्को प्रमुख लक्ष्य हो। अमेरिका र बेलायतले रसियाको तेल र प्राकृतिक ग्यासमा प्रतिबन्ध लगाएका छन्। योसँगै युरोपियन युनियनले समुद्री मार्गबाट ​​कच्चा तेल आयातमा प्रतिबन्ध लगाएको छ।

विश्वका सात ठूला अर्थतन्त्रहरूको संगठन जी-सेभेनले रसियाको आम्दानी घटाउने प्रयासस्वरूप कच्चा तेलको अधिकतम मूल्य प्रति ब्यारेल ६० डलर तोकेको छ।

अमेरिकी थिंक ट्यांक एट्लान्टिक काउन्सिलका अनुसार रसियाले जी-७ को निर्धारित मूल्यभन्दा बढी मूल्यमा तेल विदेशमा बेच्न सफल भएको छ। यो तेल पठाउन करिब १ हजार ट्यांकर प्रयोग गरिएको थिंक ट्यांकले जनाएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार रसियाले अझै पनि दैनिक ८.३ मिलियन ब्यारल तेल निर्यात गरिरहेको छ। जसका कारण भारत र चीनमा तेलको आपूर्ति बढेको छ।

लण्डनको किङ्स कलेजका अनुसन्धानकर्ताहरूका अनुसार रसियाले ती सामानहरू पश्चिमी देशहरूले प्रतिबन्धित गरेका जर्जिया, बेलारुस र काजाकिस्तान जस्ता देशहरूबाट आयात गरिरहेको छ।

एक अमेरिकी थिंक ट्यांक रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रकी डा. मारिया स्नेगोवाया भन्छिन्, ‘चीन पश्चिमी देशहरूको उच्च प्रविधि उत्पादनहरूको विकल्प प्रदान गर्ने महत्त्वपूर्ण आपूर्तिकर्ता हो। चीनले आफ्नो सैन्य उत्पादनलाई कायम राख्न आवश्यक पर्ने चिप्स र अन्य उपकरणहरू बेच्छ। चीनको सहयोगविना रसियाले यो गर्न सक्ने थिएन।’

सन् २०२३ मा अमेरिकाले किर्गिस्तान जस्ता देशका कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन थाल्यो, जसले पश्चिमी मुलुकमा बनेको प्रविधि रसियालाई पुनः निर्यात गरिरहेका छन्।

रसियाली अर्थतन्त्रमा प्रतिबन्धको प्रभाव

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार, रसियाको अर्थतन्त्र युद्धको पहिलो वर्ष २०२२ मा २.१ प्रतिशतले संकुचित हुने अपेक्षा थियो। यद्यपि आइएमएफले सन् २०२३ मा रसियाली अर्थतन्त्र २.२ प्रतिशतले वृद्धि भएको अनुमान गरेको थियो। यसले सन् २०२४ मा १.१ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

तर, अमेरिकी अर्थ विभागले प्रतिबन्धले रसियालाई नोक्सान पुर्‍याएको दाबी गरेको छ। जसका कारण पछिल्लो दुई वर्षमा यसको आर्थिक वृद्धिदर ५ प्रतिशतले घटेको हुनसक्ने अनुमान गरिएको छ।

युक्रेन युद्ध र प्रतिबन्धका कारण १० लाखभन्दा बढी मानिस रसिया छाडेर गएको पनि अमेरिकी वित्त विभागले जनाएको छ। यसमा धेरै युवा र उच्च शिक्षित व्यक्तिहरू छन्। बेलायती रक्षा मन्त्रालयका अनुसार रसिया सरकारले युक्रेन युद्धमा आर्थिक सहयोग गर्न स्वास्थ्यमा हुने खर्च पनि घटाएको छ।

लन्डनस्थित विदेशी मामिलासम्बन्धी थिंक ट्यांक ‘चथम हाउस’का जेम्स निक्सी भन्छन्, ‘यसले मुख्यतया ग्रामीण क्षेत्रका मानिसहरूलाई असर गरेको छ।’ रसियाली सरकारले ठूला सहर बाहेक ग्रामीण क्षेत्रमा कटौती गरेकोले त्यहाँ विद्रोह गराउन सक्ने उनले बताए।

कुन-कुन कम्पनीले छाडे रसिया?

म्याकडोनाल्ड्स, कोकाकोला, स्टारबक्स र हेनेकेन लगायत सयौं ठूला कम्पनीहरूले रसियामा सामान बेच्न र उत्पादन गर्न बन्द गरेका छन्।

यद्यपि, केही कम्पनीहरूले अझै पनि रसियामा व्यापार गरिरहेका छन्। जस्तै पेप्सिको, जसलाई रसियामा आफ्ना खाद्य उत्पादनहरू बेचेको आरोप लगाइएको छ।

यसैबीच, अमेरिकी कस्मेटिक्स उत्पादन गर्ने कम्पनी एभानले मस्को नजिकैको कारखानामा आफ्नो प्रोडक्टहरू उत्पादन गरिरहेको बीबीसीले रिपोर्ट गरेको छ। यस्तै धेरै अटो उत्पादक कम्पनीहरुले पनि रसिया छाडेका छन्।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली मुलुकको प्रतिबन्धका कारण रसियालाई कुनै नोक्सानी नभएको दाबी गरेका छन्।