काठमाडौं। नेपाली महिला फुटबल टोलीले एसिया कप पुग्न असफल भएको छ। एसिया कप छनोट अन्तर्गत आज सम्पन्न समूह ‘एफ’ को खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै नेपाल अस्ट्रेलियामा हुने एसिया कप पुग्न असफल भएको हो।
एसिया कप पुग्न उज्बेकिस्तानसँगको निर्णायक खेल ३-३ गोलको बराबरीमा रोकिएको थियो। योसँगै पेनाल्टी सुटआउटमा पुगेको खेलमा नेपाल ४-२ गोलले पराजित हुन पुग्यो। नेपालका लागि सावित्रा भण्डारी र अञ्जना राना मगर गोल गर्न चुके।
आजको खेलमा नेपालको सुरुवातबाटै राम्रो हुन सकेको थिएन। पहिलो १० मिनेट भित्रै नेपालले दुई गोल ब्यहोर्न पुगेको थियो।
खेलको दोस्रो मिनेटमै सम्हालिन नपाउँदै डियाराखा खाबिबुल्लायेभाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। दोस्रो गोल लउडमिला कराछिकले १० औँ मिनेटमा गरेको प्रहार समीक्षा घिमिरेलाई लाग्दै गोल हुँदा नेपाल दवाबमा आएको थियो।
यद्यपि २४ औँ मिनेटमा सावित्रा भण्डारी (साम्बा)ले गोल फर्काउँदै नेपाललाई खेलमा फर्काइन्। तर, ३९ औँ मिनेटमा नेपाली डिफेन्डरको ह्याण्डबलमा पेनाल्टीको अवसर पायो। यसलाई शोयिमोभा माफ्तुनाले गोलमा परिणत गरिन्। पहिलो हाफकै अन्त्यमा नोजिमा एरगासेभाले साम्बामाथि खराब ट्याकल पछि रेडकार्ड ब्यहोर्दै बाहिरिँदा दोस्रो हाफमा घरेलु टोली १० खेलाडीमा समेटियो।
दोस्रो हाफमा साम्बाले ब्याकटूब्याक गोल गर्दै खेल बराबरीमा ल्याइन्। उनले ७१ र ७२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भइन्। उनको यो जारी एसिया कप छनोटको समूह चरणको खेलमा लगातार तेस्रो ह्याट्रिक हो। यसअघिका लाओस र श्रीलंकाविरुदधको खेलमा पनि उनले ह्याट्रिक गोल गरेकी थिइन्। उनको ह्याट्रिकका बावजुत नेपालले खेल भने जित्न सकेन। योसँगै समूह ‘एफ’ बाट उज्बेकिस्तान एसिया कपमा पुगेको छ।